
दोहा, कतार : तिज भन्ने बित्तिकै रातो सारी, हरियो पोते, चुरा र नाचगानको रमाइलो सम्झना आउँछ, तर यसको मौलिक अर्थ यतिमा मात्र सीमित छैन । विगतमा विवाहपछि कर्म घर पुगेका चेलीहरूले वर्षमा एक पटक माइती पुगेर वर्षभरिका सुख–दुःख र पारिवारिक संघर्ष गीतमार्फत पोख्ने परम्परा थियो ।
यही मौलिक परम्परा र नारीका दबिएका आवाजलाई केन्द्रमा राख्दै जापानमा बस्दै आएका बागलुङे सर्जक प्रेम सापकोटा ‘सोनु’ले नयाँ तिज गीत ‘सिउँदोमा किरा परेको’ सार्वजनिक गरेका छन् । विगत केही वर्षदेखि निरन्तर मौलिक सिर्जनामा सक्रिय सापकोटाको ‘काली पसमकी’ सिरिजको तेस्रो भागका रूपमा यो गीत सोमबार उनको आफ्नै युट्युब च्यानलमार्फत बजारमा ल्याएका छन् ।
शान्ति श्री परियारको स्वर र प्रेम सापकोटाकै शब्द तथा संगीत रहेको यस गीतमा विवाहपछि कर्म घरमा चेलीले भोग्नुपरेका दुःख, पारिवारिक व्यवहार र आफ्ना वेदना लुकाएर बाँच्नुपर्ने बाध्यतालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । आधुनिकतासँगै तिज मनाउने शैलीमा परिवर्तन आएता पनि यसको मूल मर्म चेलीको भोगाइ र माइतीप्रतिको आत्मीयतासँगै जोडिएको छ । चेलीले माइतीमा दुःख सुनाउँदा आफन्तले गर्ने व्यवहार, सामाजिक दबाब र छोरीको मनभित्र लुकेको पीडा आमाले बुझ्ने संवेदनशीलतालाई गीतमा गहिरोसँग छामिएको छ । बाहिर मुस्कुराउँदै परिवार सम्हाल्ने नारीको मौन पीडा, त्याग र जिम्मेवारीलाई गीतमा शब्द संयोजनमार्फत जीवन्त बनाइएको छ ।
विवाहपछि जन्म घर छाडेर नयाँ सम्बन्ध आत्मसात् गर्दा नारीले आफ्ना रहर पछाडि पारेर परिवारको खुसीलाई प्राथमिकता दिन्छिन् । तिजको समयमा आमाको माया, बाबाको अनुहार र बाल्यकालको आँगन सम्झिँदै माइती पुग्ने चेलीले कतिपय अवस्थामा आर्थिक, पारिवारिक वा सामाजिक दबाबका कारण आफ्नो दुःख खुलेर भन्न सक्दिनन् । गीतमा नारीको त्यही मौनता र त्यागलाई कथानकको रूप दिइएको छ । नारीलाई केवल कमजोर पात्रका रूपमा मात्र नभई उसको सहनशीलता, संघर्ष र भित्री शक्तिलाई उजागर गर्दै पटक–पटक टुटेर पनि परिवारका लागि उभिने नारी संवेदनालाई यसमा उजागर गरिएको छ ।
दृश्यतर्फ म्युजिक भिडियोमा अभिनेत्री स्मारिका ढकालको सशक्त अभिनय देख्न सकिन्छ । उनको साथमा साथमा छविकला ढकाल, कृष्ण आचार्य र सन्ध्या वाग्लेलगायतका कलाकारहरूको अभिनय रहेको छ । व्यस्त निर्देशक तथा कोरियोग्राफर जेरी भण्डारीको निर्देशनमा तयार भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने नवीन घर्ती मगरले रङ संयोजन तथा सम्पादन गरेका छन् । उत्कृष्ट दृश्य निर्माणले गीतको मर्म र भावलाई अझ प्रभावकारी ढंगले पर्दामा उतार्न सहयोग पुर्याएको छ ।
यस सिर्जनाले तिजको परम्परागत मर्मलाई नयाँ पुस्तासम्म पुर्याउने सार्थक प्रयास गरेको छ । रातो सारी र नाचगानसँगै नारीका दबिएका आवाज पनि सुनिनुपर्ने र नारीको सम्मान तिजमा मात्र सीमित नभई वर्षभरि नै उसको भावना, अधिकार र आत्मसम्मानका माध्यमबाट हुनुपर्ने सन्देश गीतले दिएको छ । मनोरञ्जनका साथै सामाजिक यथार्थ र नारी संवेदनालाई प्राथमिकता दिएको यो गीतले नेपाली तिज गीतको मौलिक धारलाई निरन्तरता दिएको छ ।