
दोहा, कतार : नेपाली हिपहप (नेपहप) संगीतका चर्चित तथा प्रभावशाली र्यापर आशिष राना ‘लाहुरे’ले आगामी सेप्टेम्बर ३ तारिक कतारको दोहामा आफ्नो विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । इफ्लिक्स इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा लाहुरेसँगै चर्चित सांगीतिक समूह ‘ब्याड कम्पनी’ले समेत प्रस्तुति दिने भएको छ ।
उक्त सांगीतिक कार्यक्रम दोहाको ओल्ड एयरपोर्ट रोडस्थित स्ट्र्याटो होटेलको सातौं तल्लामा रहेको क्लब इन्फिनिटी सम्पन्न हुने भएको छ । नेपाली र्याप संगीतमा आफ्नै विशिष्ट पहिचान बनाएका लाहुरे ‘र्याप बार्ज’को र्याप ब्याटलमार्फत व्यापक चर्चामा आएका हुन् । उनका ‘मेरो सोल्टा’, ‘केस नम्बर ४२०’, ‘साइकल’, ‘नेपहपको बाटो’, ‘चुप लाग’ लगायतका दर्जनौँ र्याप गीत नेपाली युवापुस्तामाझ लोकप्रिय छन् ।
संगीतमा मात्र सीमित नरही टेलिभिजन तथा चलचित्र क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाएका लाहुरे लोकप्रिय रियालिटी सो ‘हिमालय रोडिज’का निर्णायकका रूपमा समेत दर्शकमाझ परिचित छन् । नेपाली हिपहपलाई नयाँ पुस्तामाझ स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण मानिन्छ । लाहुरेको दोहा आगमनको खबरसँगै कतारमा रहेका नेपाली युवा तथा नेपाली संगीत प्रेमीहरूमा उत्साह बढेको छ । विशेषगरी नेपाली र्याप तथा हिपहप संगीत रुचाउने दर्शकका लागि लाहुरे र ‘ब्याड कम्पनी’को प्रत्यक्ष प्रस्तुति विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रमलाई भव्य, व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ । कतारमा रहेका नेपाली संगीत प्रेमीहरूका लागि यो सांगीतिक साँझ अविस्मरणीय बनाउने उद्देश्यसहित कार्यक्रमको तयारी भइरहेको आयोजकले जनाएको छ । कार्यक्रमसम्बन्धी थप जानकारी तथा अग्रिम टिकट बुकिङका लागि ३३७३ ०७३०, ३१६५ ६७६१ र७०८३ ९३३४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
