२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी डा. सीके राउतलाई

Nada
२०८३ भदौ ३ गते १२:४४
Shares
अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी डा. सीके राउतलाई

काठमाडौँ : विभिन्न राजनीतिक दलहरूको सहभागितामा बनेको अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

ncell

मोर्चाको मंगलवार सम्पन्न बैठकले राउतलाई संगठनको प्रवक्ताका रूपमा तोकेको हो। जिम्मेवारी पाएपछि उनले मोर्चाका तर्फबाट सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका छन् ।

बैठकले आगामी प्रदेश निर्वाचन सम्पन्न नभएसम्म मोर्चामा आबद्ध कुनै पनि दल सरकारमा सहभागी नहुने नीतिगत निर्णयसमेत गरेको छ । सरकारमा सहभागिताभन्दा राजनीतिक सहकार्य र साझा एजेन्डालाई प्राथमिकता दिने मोर्चाको निर्णयले आगामी निर्वाचनसम्म उसको राजनीतिक भूमिकालाई प्रतिपक्षीय वा स्वतन्त्र राजनीतिक समन्वयतर्फ केन्द्रित गर्ने संकेत गरेको छ ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी तथा खम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन् ।

मोर्चाले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणलाई आफ्नो राजनीतिक आधारका रूपमा अघि सारेको छ। लोकतान्त्रिक, प्रगतिशील, समाजवादी तथा समावेशी धारका राजनीतिक शक्तिबीच सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताइएको छ ।

प्रवक्ताको जिम्मेवारी पाएसँगै राउतले मोर्चाका निर्णय तथा साझा राजनीतिक धारणा सार्वजनिक गर्ने भूमिकासमेत निर्वाह गर्ने भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर