
काठमाडौं : नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा उनले आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।
यसअघि एमाले र नेकपाबीच सरकार गठनका विषयमा सहमति भइसकेको थियो । आज राप्रपाले समेत समर्थन जनाएपछि बहुमत सुनिश्चित गर्दै थापाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । उनीसँग तीन दलका कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
एमाले संसदीय दलको मंगलबार बसेको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले आज औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।
बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । १०४ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।