
काठमाडौं : नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वालेन्द्र शाह नेतृत्वको सरकारका कारण छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा समेत विचलन देखिएको आरोप लगाए । उनले सरकारले तिब्बतीयन आध्यात्मिक संगठन (टिओबी) तथा पश्चिमी कूटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सवका नाममा राजनीतिक गतिविधि गर्न अनुमति दिएको आरोप पनि लगाए ।
नेता थापाले तिब्बती गुम्बाहरूमा ठुलो मात्रामा शक्ति सञ्चय भइरहेको दाबीसमेत भइरहेको उल्लेख गर्दै गत भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको हुनसक्ने टिप्पणी हुने गरेको बताए ।
उनले गत वर्षको २४ भदौदेखिको ध्वंसात्मक गतिविधि वस्तुगत रुपमा हालसम्म पनि जारी रहेको टिप्पणी समेत गरे । उनले सत्तारुढ दल रास्वपाको आन्तरिक शक्ति संघर्षले मुलुक बहुआयामिक चुनौतीको सामाना गर्ने खतरातर्फ धकेलिनसक्ने आशंका समेत व्यक्त गरे ।
उनले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादस्पद अभिव्यक्तिको आलोचना समेत गरे ।