
काठमाडौँ : नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपा सभापतिले पार्टीको प्रमुख राजनीतिक नेतृत्वको भूमिकाबाट सरकार पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले सरकारको संरचनामा आवश्यक पुनर्संरचना नगरे राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने संकेतसमेत गरेका छन् । थापाले सरकार पुनर्गठनलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसतर्फ पहल नभए आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।
उनका अनुसार राष्ट्रियता, लोकतन्त्र र नागरिकको जीविकासँग सम्बन्धित विषयलाई सम्बोधन गर्ने दिशामा राजनीतिक निकास खोज्नुपर्ने आवश्यकता छ। त्यसका लागि विद्यमान अवस्थाको विकल्पका रूपमा व्यापक जनआन्दोलनको सम्भावना रहेको उनको भनाइ छ ।
थापाले विगतका २००७, २०४७ तथा २०६२/६३ सालका राजनीतिक परिवर्तनका आन्दोलनभन्दा ठूलो स्तरको जनप्रतिक्रिया उत्पन्न हुन सक्ने दाबी गर्दै सरकार र राजनीतिक नेतृत्वले समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।