२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

संसदीय दलको नेताको अभ्यासमा रवि

Nada
दिवाकर अधिकारी
२०८३ भदौ ४ गते ०६:२५
Shares
संसदीय दलको नेताको अभ्यासमा रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता हुन्, प्रधानमन्त्री वालेन्द्र शाह । तर, बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसद र मन्त्रीलाई एउटै ठाउँमा राखेर निर्देशन दिने भूमिकामा देखिए पार्टी सभापति रवि लामिछाने । 

ncell

स्वयं लामिछानेले पनि बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ‘संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने’ भनेर अनौपचारिक छलफल गरेको प्रस्टीकरण दिए । तर, त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । यो निर्णयले लामिछानेको दाबी स्वतः काट्छ । 

उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए । अनि मन्त्रीहरूले आफूसम्बद्ध प्रश्नको जवाफ दिए । अन्तिममा मन्त्री र सांसद सबैलाई लामिछानेले सम्बोधन गरे । मन्त्रीहरूको काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था आएको भनेर कार्यशैली सुधार्न निर्देशन दिए । तर, तत्काल मन्त्री फेरबदल नहुने संकेत गरे ।

यो काम गर्ने जिम्मेवारी र दायित्व संसदीय दलका नेता र प्रधानमन्त्रीको हो । मन्त्रीहरूलाई कमान्ड गर्ने पनि प्रधानमन्त्रीले हो । बुधबार यस्तो भूमिकामा रवि लामिछाने आफूलाई प्रस्तुत गरेका हुन् । 

यति मात्रै होइन, बालेनबिनाको बैठकले दलको विधान संशोधन गर्ने प्रक्रियासमेत अघि बढाएको छ । रास्वपा संघीय संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र गणेश कार्की सदस्य छन् । कार्यदललाई सात दिनको समय दिइएको छ ।


यसअघि पनि रास्वपाको विधानलाई लिएर विवाद भएको थियो । संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने मात्र होइन, पार्टीको आधिकारिक नीति, निर्णय र दृष्टिकोण संसद्मा प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदीय दललाई मार्गनिर्देशन गर्न सक्ने व्यवस्था राखिएको छ । सभापतिको मार्गनिर्देशन पालना गर्नु संसदीय दल, संसदीय दलका नेता र सदस्यहरूको कर्तव्य हुने प्रावधान राखिएको छ ।

यसप्रति बालेन पक्षधर नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाइरहेका बेला बालेनबिनै संसदीय दलको कार्यदलमा संसदीय दलकै छनक दिने गरी बैठक बस्यो र विधान संशोधन गर्न कार्यदल नै गठन ग¥यो । अर्थात्, पार्टी सभापति लाछिानेले आफू कार्यकारी अभ्यासमा रहेको प्रस्ट सन्देश दिए । 

यसको अर्को बलियो प्रमाण हो, पार्टी सभापति लामिछानेले सांसदहरूलाई मन्त्रीलाई लेखिने प्रश्नको बोधार्थ आफूलाई पनि दिन भनेका छन् । ‘सभापतिलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्नुस्, म पनि अध्ययन गर्छु’ भन्दै लामिछानेले शक्ति अभ्यासमा रहेको प्रस्ट सन्देश दिएका हुन् । 

यसबाहेक पार्टी सभापति लामिछानेले संसद्मा नियमित उपस्थित हुन, अमर्यादित गतिविधि नगर्न, आफूले बोल्ने विषय र गर्ने गतिविधिमा जिम्मेवार बन्न तथा प्रचारभन्दा परिणाममा ध्यान दिन निर्देशन दिए । लामिछानेले मन्त्री र सांसदहरूलाई भनेका छन्, ‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लामिछाने नै रास्वपाको संसदीय दलको नेता थिए । यसकारण संसद् र संसदीय दलको राजनीतिक सञ्चालन लामिछानेका लागि नयाँ अभ्यास होइन । 

तर, अहिले दलको नेता बालेन छन् । यसबेला लामिछानेले संसदीय दलको नेताझैं गरी आफूलाई प्रस्तुत गरेपछि बहस छेडिएको छ । अब सात दिनपछि संसदीय दलको विधान संशोधन कार्यदलले कस्तो प्रस्ताव ल्याउँछ र त्यसले रवि र बालेनबीचको शक्ति संघर्षलाई थप बहसमा ल्याउनेछ । 

नेकपा एमालेका एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) रास्वपाभित्र सत्ता संघर्ष देख्छन् । बुधबार नै उनले प्रतिनिधिसभाको बैठकमा भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउनसक्ने चिन्ता बढाएको छ ।’

ताजा खबर

सम्बन्धित खबर