
काठमाडौँ : बागमती प्रदेश सरकारमा ६ जना मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले एमाले, नेकपा र राप्रपाबाट ६ मन्त्री नियुक्त गरेका हुन् । नियुक्त हुनेमा एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति रहेका छन् ।
भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय सम्हाल्नेछन् । ज्ञानबहादुर तामाङलाई भने बिना विभागीय मन्त्री बनाइएको छ ।
बागमती प्रदेशमा रहेका ८ मन्त्रालयमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापा आफैंले राखेका छन् ।