
काठमाडौं :कुनै समय थियो, आधारभूत विकास नभएर मानिसहरू बसाइँ सर्थे । अहिले धेरै गाउँमा सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य सुविधा पुगेको छ । तर, बस्ती पातलिँदै जाँदा बाँदरबाट बाली जोगाउन नसकेर गाउँ छाड्न थालेका छन् । धनकुटाको चाौबिसे गाउँपालिकाको वडा नं.४मा त्यस्तै भयो । बाँदरबाट खेतीपाती जोगाउन नसक्दा गाउँ नै छाडनुपर्ने स्थिति आएको वडाध्यक्ष लोकेन्द्र मगर बताउँछन् । ‘यहाँको मुख्य अन्नबाली मकै हो,’ उनले मध्यान्हसँग भने, ‘बाँदरले बढी क्षति गर्ने पनि मकै नै रहेछ । बाँदरले हैरान पारेपछि मान्छेहरू बसाइँ सर्न थाले ।’
पछिल्ला पाँच वर्षदेखि बाँदर प्रभावित अधिकांश बस्तीबाट बसाइँ सराइ भइरहेको उनी बताउँछन् । खेतबारीमा भएको अन्नबालीमा क्षति पु¥याउने मात्र होइन, बाँदरले घरभित्रै पसेर दुःख दिने गरेको छ । ३२० घरधुरी रहेको वडाबाट धेरै बसाइँसराइ हुनुका मुख्य दुई कारण पहिल्याएको मगर बताउँछन् । ‘एउटा, पानीको समस्या हो । अर्को, बाँदरले दुःख दिन थालेपछि गाउँ नै पातलियो,’ उनी भन्छन् । अहिले वडामा २६४ परिवार मात्र छन् । बाँदरको उपद्रोकै कारण वडाका बाजथला, बाँसपानी, ठुलागाउँ, गैरीगाउँ, खानी गाउँ, कटवाल गाउँ, मानेडाँडालगायत बस्ती खाली हुँदै गएका छन् । त्यहाँका बासिन्दा झापा, मोरङ, सुनसरीमा बसाइँ सरेका छन् । चौबिसे मात्रै होइन, धनकुटाका अधिकांश बस्ती बाँदर आतंककै कारण पातलिँदै गएका छन् ।
पूर्व मात्र होइन, पश्चिममा पनि बाँदरको समस्या छ । डडेल्धुराको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी बाँदरको बिज्याँइले जनजीविकामै असर परेको बताउँछन् । बाँदर आतंककै कारण त्यहाँका स्थानीयले खेती लगाउन छाडिसकेका छन् । ‘स्थानीयले खेतीपाती छाडेर, घरबार छाडेर तराईतिर जान थाले,’ उनले भने, ‘बाँदरको बिगबिगी छ । सरकारको ऐन, कानुनले हात लगाउनै मिल्दैन । कसले नियन्त्रण गर्ने ? के गर्ने समस्या ठुलो छ ।’ गाउँका मुख्य उब्जनी मकै, गहुँ र तरकारी बाँदरले बारीमै पसेर सखाप पार्छ । उनी भन्छन्, ‘बाँदरकै कारण किसानले खेतीपाती लगाउन छाडिसकेका छन् । घरभित्रै आएर पनि सताउन थालेपछि बस्ती छाड्न थालेका छन् ।’
मकै खेतीमा बाँदर पल्किएपछि किसानले विकल्प खोज्न थाले । मकै लगाउन छाडेर बाँदरलाई मन नपर्ने फलफूल, कफी, तरकारी लगाउन थाले । बाँदरले ती बाली खाएनन्, तर उखेलेर र भाँचेर नोक्सान पु¥याउने गरेको स्थानीय बताउँछन् । ‘बाँदरले लसुन, प्याज, पिरो खाँदैन भनेर स्थानीयले खेती गर्न थाले,’ जोशी भन्छन्, ‘अचेल त लसुन, प्याज पनि खान थालिसकेछ ।’
सिन्धुली, रामेछाप, दोलखा, स्याङ्जा, पर्वत, बागलुङ, पाल्पा, अर्घाखाँची, गुल्मी, दैलेख, बैतडी, तेह्रथुम, पाँचथर, काभ्रे, ओखलढुंगा, काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्ला बाँदरबाट धेरै प्रभावित छन् । बाँदरले किसानले खेतबारीमा छरेको बीउसमेत खोस्रेर खाइदिने गरेका छन् । मानिसले प्रयोग गर्ने सबै किसिमका वनस्पति र खाद्यवस्तु खाएर दुःख दिने र बालीनाली नष्ट पार्ने गरेपछि आजित भएका किसानहरू बाली राम्ररी नपाक्दै भित्र्याउन थालेका छन् ।
बाँदरबारे अध्ययन गरेका वन्यजन्तु वैज्ञानिक प्रा.डा. मुकेशकुमार चालिसेले विशेषगरी पहाडी क्षेत्रमा मान्छेको संख्या घट्दै जानु र बाँदरको संख्या बढ्दै जाँदा बाँदर आतंक बढ्न थालेको बताउँछन् । पछिल्लो समय ग्रामीण क्षेत्रबाट युवाहरू पढ्नका लागि सहर र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । ‘गाउँमा खेती गर्ने मानिसको कमी भएसँगै जंगलछेउका खेत बाँझो हुन थालेका छन्,’ उनले भने, ‘यसले गर्दा जंगलमा बस्ने बाँदरहरू खानेकुराको खोजीमा सिधै मानव बस्ती र खेतबारीमा पस्न थालेका छन् ।’
पछिल्लो समय बाँदरको प्राकृतिक गुण नष्ट भइरहेको उनी बताउँछन् । उनका अनुसार, बाँदर सिकारु जनावर भएकाले मानिसले गर्ने हरेक क्रियाकलाप सिक्ने गर्दछ । बाँदरले मानिसकै जस्तै व्यवहार गर्न खोज्दा किसानले हैरानी खेप्नुपरेको चालिसे बताउँछन् । सुरुमा मानिसहरूले बाँदरलाई रमाइलोका लागि खानेकुरा खान सिकाए । मानिससरह नै खानेकुरा खान थालेपछि बाँदरहरू अत्यधिक हिंस्रक र आक्रामक बन्दै गएको उनले बताए । कसैले हात वा झोलामा केही सामान बोकेर हिँडेको देखेमा बाँदरहरूले खोस्ने र मानिसले धपाउन खोजेमा समूह नै मिलेर आक्रमण गर्ने गरेका छन् । ‘बाँदरहरू समूहमा हुन्छन्, सामूहिक आक्रमण गर्छन्,’ उनले भने, ‘मानिसहरू सामूहिक प्रतिकार गर्दैनन्, जसको कारण बाँदरको आतंक बढ्दै गएको हो ।’
वन्यजन्तु संरक्षणसम्बन्धी विद्यमान कानुनी दायरामा सामान्य अवस्थामा रहेका बाँदरहरूको व्यवस्थापनका लागि स्पष्ट नीति नै नभएको उनले बताए । उनले भने, ‘वन्यजन्तु नियन्त्रण र व्यवस्थापनका लागि सरकारले कुनै एकीकृत नियम वा सकारात्मक योजना अघि नसार्दा यो समस्या बर्सौंदेखि जस्ताको तस्तै रहेको छ ।’ काठमाडौंमा मात्रै दुई हजारभन्दा बढी बाँदर छन् । त्यसबाहेक देशभर एक लाखभन्दा बढी बाँदर भएको उनको अनुमान छ । नेपालमा विभिन्नथरीका बाँदर छन् । रातो, कालो, पहरे (पूर्वी नेपालमा एकथरी र पश्चिम नेपालमा अर्कोथरी), लंगुुर (तराई, पहाड र हिमालमा बस्ने फरक–फरक) छन् । प्रा.डा.चालिसेको अध्ययन अनुसार, नेपालमा रातो बाँदरको संख्या एक लाखको हाराहारीमा छ । करिब पचास÷पचास हजारको संख्यामा लंगुुर र पहरे बाँदर छन् ।
बढ्दो मानव–बाँदर द्वन्द्व
राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको एक अध्ययनले नेपालको मध्यपहाडी क्षेत्रमा बाँदरको संख्या, फैलावट र त्यसबाट हुने कृषि क्षतिको अवस्थालाई विश्लेषण गरेको छ । यसले मानव–बाँदर द्वन्द्वलाई स्थानीय समस्या मात्र नभई राष्ट्रिय स्तरमै सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बाँदर आतंकबाट आकुल–व्याकुल भएका किसानले बाँदरलाई खेतीपातीका लागि पहिलो नम्बरको समस्याग्रस्त वन्यजन्तुका रूपमा औंल्याएका छन् । अन्नबालीमा पसेका बाँदरलाई धपाउनका लागि किसानले हल्ला गर्ने, ढुंगा हान्ने वा गुलेली चलाउनेजस्ता परम्परागत विधि अपनाएका छन् । २४ प्रतिशतले खेतमै बसेर हेरचाह गर्ने र १२ प्रतिशतले कुकुरको प्रयोग गर्ने गरेका छन् । ‘कानुनी बन्देजका बाबजुद पनि आजित भएका किसानले समुदाय स्तरमा जोखिमपूर्ण उपाय अपनाएको अध्ययनले देखाएको छ,’ कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीले भने, ‘बाँदर मार्नका लागि खेतमा नांगो तार बिछ्याउँदा जंगली जनावर मात्र होइन, मानिसको समेत ज्यान गएको अध्ययनले देखाएको छ ।’
गुल्मीको मुसिकोट–७मा करेन्ट लागेर एक ६० वर्षीया महिलाको मृत्यु भएको थियो । त्यस्तै, दोलखा र इलाम जस्ता जिल्लामा पासोभित्र खाना राखेर बाँदरलाई उच्च भोल्टेजको करेन्ट दिई मार्ने गरिएको छ । बाँदरलाई करेन्ट लगाउने मात्रै होइन, वन क्षेत्रमा बनाइएका पोखरीमा बाँदरहरू खसेर सामूहिक रूपमा मर्ने गरेका घटना (अर्घाखाँचीमा २७ वटा र सिन्धुपाल्चोकमा १६ वटा बाँदर डुबेर मरेका घटना) रेकर्ड भएका छन्, जुन नियोजित रूपमा मारिएको आशंका गरिएको छ ।
बाली क्षति गर्ने वन्यजन्तुमा रातो बाँदर, पहरे बाँदर र लंगुर रहेका भए पनि यीमध्ये रातो बाँदरबाट सबैभन्दा बढी कृषि क्षति हुने पाइएको छ । अध्ययनले सर्वेक्षणमा समेटिएका घरधुरीमा बाँदरबाट हुने कृषि क्षति प्रतिघरधुरी औसत २७ हजार रुपैयाँभन्दा बढी रहेको अनुमान गरेको छ । अध्ययनका क्रममा ४४ स्थानीय तहबाट २० हजार ३९५ वटा रातो बाँदर अभिलेख गरिएको छ । ती क्षेत्रमा ४७८ वटा बाँदरका समूह भेटिएका थिए । एउटा समूहमा औसत ४२ देखि ६६ वटा बाँदर रहेका थिए भने सबैभन्दा ठुलो समूहमा १९८ वटासम्म बाँदर भेटिएको छ । ४,०२३ वर्ग किलोमिटर क्षेत्रमा गरिएको गणनाअनुसार बाँदरको जनसंख्या घनत्व ५.०७ वटा रहेको सुवेदीले जानकारी दिए ।
प्रत्यक्ष गणनाबाट प्राप्त घनत्वलाई आधार मानेर मध्यपहाडी क्षेत्रमा बाँदरको सम्भावित जनसंख्याको अनुमान गर्दा १६ हजार ५१७ वर्ग किलोमिटर वन क्षेत्रमा मात्रै एक लाख चार हजार १३७ भन्दा बढी रातो बाँदर रहेको हुन सक्ने देखिएको छ । अध्ययनले बाँदरको उपस्थिति कृषि क्षेत्र, बस्ती र सडक आसपास बढी देखिनुको प्रमुख कारण मानिसबाट सहज रूपमा उपलब्ध हुने खाद्य स्रोत तथा कृषि उत्पादनमा उनीहरूको पहुँच रहेको औंल्याएको छ ।
अध्ययनमा सहभागी १ हजार ८४६ घरधुरीमध्ये ९८ प्रतिशतले बाँदरबाट कृषि बालीमा क्षति हुने बताएका छन्, जसले मध्यपहाडी क्षेत्रमा मानव–बाँदर द्वन्द्वको व्यापकता देखाउँछ । मकैबाहेक धान, गहुँ, तरकारी तथा फलफूलमा समेत बाँदरले उल्लेख्य क्षति पु¥याउने गरेको अध्ययनले देखाएको छ ।
त्यस्तै, बाँदरको संख्या व्यवस्थापनका लागि उच्च द्वन्द्व भएका निश्चित क्षेत्रमा लक्षित बन्ध्याकरणलाई सम्भावित गैरघातक उपायका रूपमा अघि बढाउन सकिने अध्ययनले सुझाएको छ । अन्य व्यवस्थापनका उपाय प्रभावकारी हुन नसकेको अवस्थामा अन्तिम विकल्पका रूपमा वैज्ञानिक तथ्यांक, प्रमाण र प्रचलित कानुनी व्यवस्थाका आधारमा बाँदरको संख्या नियन्त्रण तथा नियमन गर्न सकिने अध्ययनको सुझाव छ । साथै, संघ, प्रदेश र स्थानीय तहसँगै संरक्षण निकाय, अनुसन्धान संस्था तथा स्थानीय समुदायबीच समन्वय गरी समस्या बढी भएका क्षेत्रमा स्रोत र कार्यक्रम केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।
आतंक रोक्न गुलेली र बाँदर हेरालु
स्थानीयले बाँदर नियन्त्रणका लागि अनेक उपाय निकालेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न १ले हेरालु राखेको छ । वडाध्यक्ष चिरञ्जीवी पोखरेल गाँउमा बाँदरले आतंक मच्चाउन थालेपछि वडा कार्यालयले नै बाँदर धपाउन नौजना हेरालु राखेको बताए । वडाले बाँदर हेरालु राख्न थालेको तीन वर्ष भइसकेको छ । अन्नबालीको मुख्य सिजनलाई मध्य नजर गरेर राति र दिउँसोको दुई सिफ्टमा बाँदर धपाउन खेतमै हेरालु परिचालन गरेको पोखरेल बताउँछन् । वडाले बाँदर हेरालुलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले पारिश्रमिक दिने गरेको छ । वडा कार्यालयले हेरालुलाई गुलेली, नक्कली बन्दुक (पोलिपाइप), गोला र बारुदलगायत सामग्रीसमेत उपलब्ध गराएको वडाध्यक्ष पोखरेलले बताए ।
त्यस्तै, अर्घाखाँचीमा बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काका अनुसार, हेरालुहरूलाई जिल्लाका विभिन्न वडामा रहेको बाँदर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उनीहरूको मुख्य जिम्मेवारी खेतीयोग्य जमिन र बालीमा क्षति पु¥याउन आउने बाँदरलाई सुरक्षित तरिकाले धपाउने, स्थानीय किसानसँग समन्वय गर्ने तथा वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न सहयोग पु¥याउने रहनेछ । यस कार्यक्रमबाट मकै, गहुँ, तरकारी, फलफूल तथा अन्य कृषि बालीमा हुने क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईले बताएका छन् ।