
काठमाडौं : नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ ।
नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार प्रदर्शनीले उद्योग, व्यापार र प्रविधिबीच सहकार्य विस्तार गर्दै सम्बन्धित क्षेत्रको विकासमा योगदान पुर्याउनेछ ।
नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् ।
प्रदर्शनीले उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकलाई एउटै व्यावसायिक प्लेटफर्ममा ल्याउने आयोजकको भनाइ छ । यसबाट ज्ञान, अनुभव तथा प्रविधिको आदानप्रदानसँगै नयाँ व्यावसायिक अवसर र दीर्घकालीन सहकार्यको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, आधुनिक स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ ।
आयोजकका अनुसार प्रदर्शनीमा ३० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। प्रदर्शनीमा उद्योगी–व्यवसायी, सरकारी अधिकारी, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिक, विद्युतीय व्यवसायी, मिडियाकर्मी, विद्यार्थी तथा सर्वसाधारणले अवलोकन गर्नेछन्। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ ।
प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सहयोग गर्नेछन् ।
आयोजकले प्रदर्शनीमार्फत नेपालमा ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरेको छ ।