२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

नाडा अटो शो : ५३ ब्रान्डको सहभागिता, गाडी किन्नेलाई ऋण र बीमाको सुविधा

Nada
२०८३ भदौ ५ गते १९:१०
Shares
नाडा अटो शो :  ५३ ब्रान्डको सहभागिता, गाडी किन्नेलाई ऋण र बीमाको सुविधा

काठमाडौं : भृकुटीमण्डपमा आगामी भदौ ९ गतेदेखि ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

ncell

अटो शोमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन् । जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली तथा चिनियाँ मूलका सवारी ब्रान्डले प्रदर्शनीमा आफ्ना उत्पादन तथा प्रविधि प्रस्तुत गर्नेछन् ।

प्रदर्शनीमा सवारीसाधनबाहेक अटोमोबाइल क्षेत्रसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ । ती कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डायग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन् ।

त्यस्तै, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले पनि प्रदर्शनीमा सहभागिता जनाउनेछन् । उनीहरूले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनाबारे जानकारी दिनेछन् ।

आयोजकका अनुसार प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ । यसले उपभोक्तालाई सवारी खरिदसँगै त्यसको सञ्चालन र मर्मतसम्भारसँग सम्बन्धित सेवा तथा सामग्रीबारे समेत जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा स्कोडा, प्रोटोन, चेरी, ओमोडा, जेको र जीडब्ल्यूएमलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुनेछन् । विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई लक्षित गर्दै ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियनसमेत छुट्याइएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोमा नयाँ सवारीसाधनसँगै ती सवारीलाई लामो समयसम्म सञ्चालनमा राख्न आवश्यक पर्ने अटो पार्ट्स, उपकरण तथा सेवाको उद्योगलाई समेत प्राथमिकताका साथ प्रस्तुत गर्न खोजिएको बताएका छन् ।

नेपालमा अटोमोबाइल उद्योगको विस्तारसँगै यसको प्रदर्शनीको आकारसमेत बढ्दै गएको आयोजकको भनाइ छ । पाँच दशकअघि नेपालको अटोमोबाइल क्षेत्रको प्रदर्शनी एउटा कोठामै सीमित हुने गरेकोमा अहिले तीन लाख वर्गफिट क्षेत्रफलमा प्रदर्शनी आयोजना गर्नुपर्ने अवस्था आएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नाडा अटो शोले नयाँ सवारीसाधनको बिक्री तथा प्रदर्शनसँगै सवारीसाधन खरिदपछि आवश्यक पर्ने वित्तीय सेवा, बीमा, पार्ट्स, मर्मतसम्भार तथा प्रविधिबारे उपभोक्तालाई एउटै स्थानबाट जानकारी उपलब्ध गराउनेछ ।

ताजा खबर

सम्बन्धित खबर