२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

व्यवहारिक शिक्षाको खोजी

ADV
२०८१ साउन ३१ गते ०६:२५
व्यवहारिक शिक्षाको खोजी

–शिवकुमार श्रेष्ठ

हरेक दिनको बिहानी नयाँ हो, त्यस नयाँ दिनका लागि नयाँ ज्ञान, सोच र चिन्तन चाहिन्छ । हिजोको घमन्ड बोक्नु प्रतिगामी चरित्र हो । नयाँ नेपाल बनाउने जिम्मेवारी, नयाँ पुस्ताको काँधमा आएको छ । आजका नयाँ पुस्ता विद्यार्थीहरू नै भोलिको नेपाल हाँक्ने संवाहक हुन । नयाँ पुस्तामा आशा र उत्साहका संसार हुन् । युगान्तकारी शिक्षा नै नयाँ नेपाल र नेपालीको भविष्य निर्माण गरी समृद्ध, सम्पन्न, सभ्य र सुसंस्कृत नेपालका आधारशिलाहरू हुन् । उनीहरू देशका ऊर्जाशील शक्ति हुन् । नयाँ पुस्तालाई पढ्नुको विकल्प नभएकोले राम्रो लक्ष्य लिएर पढ्नु बुद्धिमानी ठहरिन्छ । समाजलाई योगदान पु¥याउन पर्छ भन्ने भावनाले पढ्नु पर्छ र देश बनाउने सपना बोकेर पढ्नु पर्छ । 

शिक्षाका नारा कार्यान्वयनमा फितलो भएकै कारण शिक्षा उन्नति र प्रगति सोचे जस्तो हुन सकिरहेको छैन । शिक्षालाई सार्थकता बनाउन नीति नियम, स्रोत साधन र प्रभावकारी कार्य योजना आवश्यकता पर्दछ । शिक्षालाई सीपमूलक र समावेशी बनाउँदै भविष्यमा युवा वर्गले आफ्नो सीप, श्रम र साधनलाई स्वदेशमै उपयोग गर्नु सकुन् । यस्ता योजना सरोकारवाला व्यक्तिले प्रत्यक्ष अनुभूति गर्न सकुन् । सरोकारवाला पक्ष सबैको उत्साहजनक सहभागिता हुन सके शिक्षाले सार्थता पाउन सक्छ । हाल नेपालमा २०८० सालको तथ्याङ्कअनुसार प्राथमिक विद्यालयदेखि उच्च शिक्षासम्म ९७ लाख विद्यार्थी करिब १ करोड अभिभावक र ४ लाख शिक्षक, कर्मचारीहरू कार्यरत छन् । वि.सं.२०७८ को जनगणना अनुसार ७६.२ प्रतिशत साक्षर छन् । जसमा पुरुष ८३.६ प्रतिशत, महिला ६९.४ प्रतिशत छन् । शिक्षण संस्थाहरूले समयानुसार मान्य सामाग्री र विधिलाई परिमार्जन र परिष्कृत गर्दै डिजिटल तथा इ–लर्निङ्ग शिक्षण सिकाइको वातावरण गर्नु दूरदर्शिता ठहरिन्छ । सरोकारवाला सबै पक्षको गुणस्तरीय शिक्षा विकासका लागि दृढ इच्छाशक्ति नहुनाको कारण पनि आशा गरे जस्तो शैक्षिक उपलब्धि हुन सकेको छैन । शिक्षा क्षेत्रको विकृति, विसङ्गति र क्षतिलाई कम गर्न सम्पूर्ण सरोकारवालाहरू बिच आपसी सद्भाव, सहयोग, सहकार्य, समन्वय र समीक्षा गरेको खण्डमा सुधार हुनेमा कुनै दुई मत छैन । 

राज्यको समृद्धिका लागि विज्ञान, प्रविधिका साथै सीपयुक्त शिक्षा चाहिन्छ । शिक्षाले मानिसमा अद्भुत क्षमता निर्माण गर्नुको साथै जिम्मेवारी बोध गराउन सिकाउँछ । विद्यार्थीमा उत्पादन र सिर्जनाको चेतना भर्ने, देशभक्ति भर्ने, नयाँ संस्कृतिको निर्माण र भरोसा भर्ने जस्ता कठिन र गरिमामय कार्य गर्ने जस्तो कठिन र काम शिक्षकमा निहित छ । शिक्षकमा संसारको अवलोकन गर्न सिकाउने कला हुनाले आफू दुःख कष्ट सहेर पनि आफ्नो शिष्यलाई आदर्शवान बनाउन प्रर्यत्नरत हुन्छन् । 

हाल नेपालमा शिक्षा प्रणाली सैद्धान्तिक ज्ञान दिन सके पनि व्यावसायिक, व्यवहारिक र मौलिक शिक्षा दिन सकिरहेको देखिँदैन । उच्च शिक्षासँगै भविष्य सुनिश्चित नहुँदा रोजगारीको लागि बिदेसिनु बाध्यकारी बनेको छ । यसरी बिदेसिनुको कारणमध्ये गुणस्तरीय, व्यावसायिक शिक्षा, रोजगारीको खोजी, विलासिता र स्वतन्त्र जीवनको खोजी देखिन्छ । विद्यालयमा पूर्वाधारको कमी, नियमित पढाइको अभाव, समयमा परीक्षा नहुनु, नतिजाको प्रतीक्षा लामो समय कुर्नु पर्ने बाध्यता पनि नेपालको शिक्षा प्राप्तिमा नैराश्यता उत्पन्न भएकोलाई स्विकार्न सकिन्छ । सन् १८७७ मा टोकियो विश्वविद्यालयले युरोपसँगको शैक्षिक सहकार्य नयाँ विज्ञान, प्रविधि विकासको जगतमा छोटो समयमा उदाहरणीय बनेका छन् । नेपालको सर्वाधिक विकासका लागि दक्ष जनशक्ति तयार पार्ने स्तरीय शिक्षा दिने, विविध पक्षमा अनुसन्धान गर्ने उद्देश्य राज्यले दिए पनि कार्यान्वयन फितलो भएको कारण विद्यार्थीहरू शारीरिक, मानसिक रूपमा असन्तुष्ट भई आफूलाई कमजोर र निराश ठान्न मजबुर छन् । वर्तमान नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र प्राविधिक विकाससँग आजका पुस्ता तुलनात्मक रूपमै विकल्पको खोजीमा छन् । शैक्षिक प्रक्रियाको दक्षताका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको अनुसन्धानको निष्कर्षअनुसार आफूलाई बदल्नु हो । आजीवन शिक्षाको आवश्यकताबारे गहिरो सम्बन्धका लागि पढाई र कार्यस्थल वातावरणमैत्री र लचिलो हुनुपर्छ । 

नेपालका विश्वविद्यालयले सीप विकास गर्न प्रविधि र अनुसन्धानको पाटोसँग जोडेर पढाउन आवश्यक छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले ब्रेन गेन सेन्टर स्थापना गरेको छ । यसको मूल उद्देश्य उत्कृष्ट प्रतिभालाई मूलतः स्वदेशमा फर्काउने हो । यसका पाँच उद्देश्यमा ः पहिचान गर्ने, प्रवर्द्धन गर्ने, जोडने, परिचालन गर्ने, पुरस्कृत गर्ने छ ।
यस सेन्टरले दक्ष जनशक्तिको प्रतिभालाई देश हितमा प्रयोग गर्ने नीति लिएको छ । संकट पर्दा देशको लागि निःस्वार्थ लड्ने र आवश्यक पर्दा बलिदान दिन सक्ने शिक्षा प्रणालीको आवश्यकता छ । हाम्रो देशमा शिक्षा जीवनसँग जोडिएको हुनुपर्छ । जीवनको मुख्य समस्या बुझ्ने र समाधान गर्न बाटो खोज्ने शिक्षाका साथै, ज्ञान र सीपलाई सर्वाङ्गीण विकासका लागि उपयोग गर्ने, शिक्षा प्रणाली नै अहिलेको परम्परागत शिक्षा प्रणालीको विकास हुन सक्छ । अबको शिक्षा समाजवाद उन्मुख बहु प्राविधिक हुनुपर्दछ । जसले वैज्ञानिक र व्यवहारिक शिक्षाको विकल्प हुन सकोस् । 

शिक्षा आर्जन गरेर मात्र हुन्न, त्यसलाई उपयोगी शिक्षामा परिणत गर्न जान्नु र व्यवहारिक ज्ञानमा बदल्नु सक्नु यथार्थ शिक्षा हो । हरेक मानिसले तल्लीनतासाथ काम गर्नुपर्छ तब मात्र उसलाई सफलता प्राप्त हुन्छ । साथै, सफलताको लागि जबसम्म उच्च आत्म अभिमान र आत्मबलका साथ उत्साह भर्न सकिन्न तबसम्म सफलता हात पार्न सकिन्न । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले भनेका युक्तिहरू हाम्रो जीवनमा मौका पटक–पटक आइरहँदैन । जब आउँछ, त्यसलाई खेर जान नदिई समाइ हाल्नुपर्छ । त्यसरी अचानक आएको मौकाको सही सदुपयोग गर्न सकिएन या जानिएन भने जीवनभर पछुताउनु पर्ने पनि हुनसक्छ । त्यसैले सिरमाथि आउने मौकालाई फुत्त उफ्रिएर समाई हाल्नुपर्छ भनी त्यतिकै भनेका होइनन् । 

२०८० साल चैत्रमा लिइएको एसइईको परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थी सहभागी थिए । यस पटक परीक्षा बोर्डले कम्तीमा ३५ प्रतिशत अंक ल्याउनु पर्ने र प्रयोगात्मक विषयमा ४० अंक उत्तीर्ण  हुन ल्याउनु पर्ने अनिवार्य नियम लागु गरेको छ । यस्तो नीति नियमले धेरै विद्यार्थीले परीक्षा उत्तीर्ण हुनबाट वञ्चित भए । ज्ञान, सीप र प्रविधि २१औँ शताब्दीमा सबैभन्दा सशक्त भएर आएको छ । शिक्षामा लगानी वृद्धि गरी गुणस्तरीय, पूर्वाधार, प्राविधिक तथा व्यवस्थापन क्षेत्रमा सुधार गर्नु छ । विज्ञहरूसँग बहुमूल्य ज्ञान, सीप हुन्छन्, जुन उनीहरूको सहमति बिना प्रयोग गर्न सकिँदैन भन्ने तथ्य विशेष नीति र राजनीति बिचको जटिल अन्तरक्रियाका लागि आंशिक रूपमा जिम्मेवार हुन्छ । वैज्ञानिक र विज्ञहरू पैसाबाट अभिप्रेरित हुँदैन । बरु अन्वेषणको प्रक्रिया र त्यसबाट आफूmले प्राप्त गर्ने सामाजिक मान्यताबाट उनीहरूले सन्तुष्टि प्राप्त गर्दछन् । शिक्षा आर्जन गरेका बुद्धिजीवी चिन्तनशील हुन्छन्, ज्ञानको निर्माण गर्दछन् र सो ज्ञानलाई औजारको रूपमा समाज रूपान्तरणमा प्रयोग गर्ने क्षमता राख्दछन् । शिक्षित व्यक्ति अध्ययनको आनन्दमा चुर्लुम्म डुबी ज्ञानका हिरा सँगालेर बसेका हुन्छन् । समावेशी र समतामूलक बन्न सचेत प्रयास नगरेमा मानवको प्राविधिक ज्ञान र नयाँ–नयाँ आविष्कार गर्ने क्षमताले मात्र यस महत्त्वपूर्ण स्थान रहन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise