२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेशको मुख्यमन्त्री चयन सम्बन्धमा देखिएका अधिकांश तर्क भ्रमपूर्ण : कुशवाहा

ADV
इसत्याक अहमद
२०८१ जेठ २७ गते १४:५४
मधेशको मुख्यमन्त्री चयन सम्बन्धमा देखिएका अधिकांश तर्क भ्रमपूर्ण : कुशवाहा

रौतहट : जनमत पार्टीका उपाध्यक्ष तथा पूर्व प्रदेशमन्त्री इ. वसन्त कुशवाहाले मधेश प्रदेशको मुख्यमन्त्री चयन प्रक्रिया फरक तरिकाले गरिएको बताएका छन् । 

मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीले पाउने सहमति भएपछि संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री बन्ने सबैको अनुमान थियो । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रचलन भएपनि पार्टीको बैठकले मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई पठाउने निर्णय गर्‍यो ।

कुशवाहा यस निर्णयलाई सामान्य मान्छन् । मध्यान्हसँग कुरा गर्दै कुशवाहाले जनमत पार्टीको संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतकलगायत अन्य पदाधिकारी हुनु भनेको दलको प्रशासनिक कार्य, समन्वय र पार्टीको कार्य गर्ने भएकाले यी पदमा आसिन हुँदैमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री नहुने बताए । कुशवाहले यस निर्णयलाई अन्य पार्टीसँग तुलना गर्न पनि नहुने बताए ।

मुख्यमन्त्री चयन सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएका अधिकांश तर्क भ्रमपूर्ण रहेको उनले बताए । जनमत पार्टीले मुख्यमन्त्रीसम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको बताउँदै उनले त्यसअगाडिका समाचार र प्रचारबाजी केबल सम्भावना वा अनुमान मात्र रहेको दाबी गरे ।

मधेश प्रदेशमा जनमत पार्टीका १३ जना सांसद छन् । पार्टीको वरीयताअनुसार क्रमश: इ. वसन्त कुशवाहा (राष्ट्रिय उपाध्यक्ष), चन्दन सिंह (राष्ट्रिय महासचिव), सञ्जय यादव (राष्ट्रिय सचिव), शम्भु साह (केन्द्रीय सदस्य), महेश यादव (दलको नेता, प्रदेश समिति सदस्य) र बाँकी प्रदेश समिति सदस्यहरु छन् ।

उनले जनमत पार्टी परिणाम उन्मुख पार्टी रहेको बताए । उनले आग्रह गर्दै भने, 'अरुलाई ७ वर्षसम्म हेरिसक्यौं, जनमत पार्टीलाई कम्तीमा ७ महिना त हेरौं ।'

ADVADV

सम्बन्धित खबर

Advertise