
काठमाडौं : पशुपति आर्यघाटमा बुधबार अरू दिनभन्दा फरक दृश्य देखिन्थ्यो । घाटमा चिता बलिरहेका थिए । तर, ती चितामा मानिसका शव थिएनन् । बाढीमा बेपत्ता भएका आफन्तको शव नपाएपछि परिवारजनले कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिरहेका थिए ।
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको बाढीमा परेर बेपत्ता भएकाहरूका आफन्तले अब उनीहरू जीवितै फर्किने आस मार्न थालेका छन् । त्यसैले धार्मिक संस्कारअनुसार अन्त्येष्टि कार्यतर्फ लागेका छन् । रसुवा, नुवाकोटदेखि चितवनसम्म पुगेरै खोज्दासमेत बाढीमा परेकाहरू भेटिएनन् । उनीहरूको कुनै अत्तोपत्तो नलागेपछि हिन्दु परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न लागिएको हो ।
स्याङ्जाको भिरकोट नगरपालिका–५का कृष्ण अर्याल र राधा अर्याल गोसाइँकुण्ड तीर्थयात्राका लागि जाँदै थिए । उनीहरू सवार यात्रुवाहक बस नै भोटेकोसीको बाढीमा परेर बेपत्ता भयो । लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लागेन । अन्ततः परिवारले घटनाको आठौं दिन बुधबार पशुपति आर्यघाटमा उनीहरूको कुशको शव बनाएर अन्तिम संस्कार ग¥यो । बिहानै आर्यघाट पुगेका परिवारका सदस्यले कुशको प्रतिमा बनाए । त्यसैलाई मृतक मानेर दाहसंस्कार गरे र काजकिरियाको प्रक्रिया अघि बढाए ।
उस्तै पीडा धादिङबाट गोसाइँकुण्ड यात्रामा निस्किएको अर्को परिवारको छ । बा५ख १२५० नम्बरको बस १० भदौमा धादिङबाट गोसाइँकुण्डका लागि छुटेको थियो । भोटेकोशीको बाढीमा परेको उक्त बसमा सवारमध्ये सावित्री लम्सालको मात्र शव फेला परेको छ । बसमा सवार अन्यको अवस्था अझै अज्ञात छ ।
एक सातासम्म खोज्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले जीवित भेटिने सम्भावना देखेनन् । त्यसैले सामूहिक अन्त्येष्टि गर्ने निर्णयमा पुगे । परिवारले भारी मन बनाएर कुशको शव बनाएर आफन्तको अन्त्येष्टि गरेका छन् । शव वा पार्थिव अवशेष फेला नपरे पनि अन्तिम संस्कार र काजकिरिया पूरा गर्न उनीहरूले कुशको प्रतिमाको सहारा लिएका हुन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार, भोटेकोशी बाढीमा बेपत्ता भएका थुप्रै व्यक्तिका परिवारले पशुपति क्षेत्र अन्त्येष्टि गरिसकेका छन् । बुधबार मात्र ३८ परिवारले कोषमा नाम दर्ता गराएर कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । कोषले निःशुल्क अन्त्येष्टिको व्यवस्था गरेको जनाएको छ ।
बेपत्ताका आफन्तहरू बिहानैदेखि आर्यघाट पुगेर परम्पराअनुसार कुशको प्रतिमा बनाउँछन् र त्यसलाई मृतकको प्रतीक मानेर अन्तिम संस्कार गर्छन् । कतिपयले बेपत्ता आफन्तको अनुहार झल्किने गरी प्रतिमा बनाउने गरेका छन् । पशुपतिस्थित क्रियापुत्री घरसमेत भरिन थालेको कोषले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार, भोटेकोशी बाढीबाट ९११ जनाको शव पहिचान भएको छैन । ९५ जनाको मात्र शव पहिचान भएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमा पनि ३१ जना बालक, ४५ जना बालिका, २२४ महिला,३९५ पुरुष, ४२३ जना आंशिक अंग गरी १ हजार १ सय १३ जनाको शव भेटिएको छ ।
कुशको शव बनाउने परम्परा
सनातन हिन्दु परम्परामा प्राकृतिक विपत्ति, दुर्घटना, युद्ध वा विदेशमा मृत्यु भएका व्यक्तिको वास्तविक शव फेला नपरेको अवस्थामा प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गर्ने चलन छ । कुश वा पलाशलगायत पवित्र सामग्रीबाट मृतकको प्रतिकृति बनाएर गरिने यस्तो विधिलाई ‘पलाशविधि’ वा ‘पुत्तलदाह’ भनिन्छ ।
हिन्दु परम्परामा अन्त्येष्टिलाई सोह्र संस्कारमध्ये अन्तिम र महत्त्वपूर्ण संस्कार मानिन्छ । शव फेला नपरेको अवस्थामा पनि मृतकको सम्झनामा अन्तिम संस्कार पूरा गर्ने धार्मिक मान्यता छ । यसबाट परिवारले काजकिरिया सुरु गर्ने र शोकको धार्मिक प्रक्रियामा प्रवेश गर्ने बाटो खुल्छ ।
कुशको प्रतिमा तयार गर्दा पवित्र मानिने वनस्पति कुश र पलाशका हाँगा प्रयोग गरिन्छ । मानव आकारको प्रतिमा बनाएर त्यसमा शरीरका विभिन्न अंगको प्रतीकका रूपमा प्रयोग गर्ने परम्परा छ । टाउकोको स्थानमा नरिवल र छातीको भागमा ऊन वा कपडा राख्ने धार्मिक मान्यता छ । तयार पारिएको आकृतिलाई वास्तविक शवसरह कात्रो ओढाएर अन्तिम संस्कार गरिन्छ ।
सामान्यतः कुशको शवलाई तुलसीको मोठ वा घरको आँगनमा राखेर शास्त्रोक्त विधिअनुसार संकल्प गरिन्छ । त्यसपछि परिवार र मलामीले नदी किनार वा घाटमा लगेर वैदिक मन्त्रोच्चारणसहित दागबत्ती दिने र दाहसंस्कार गर्ने परम्परा छ । दाहसंस्कारपछि काजकिरिया, पिण्डदान र श्राद्धका प्रक्रिया पूरा गरिन्छ ।
तर, व्यक्ति हराएको मात्र हो र ऊ जीवित छ वा मृत भन्ने कुनै प्रमाण छैन भने यस्तो विधि तत्काल गर्ने विषयमा धार्मिक शास्त्रमा फरक व्यवस्था रहेको जानकारहरू बताउँछन् । सामान्यतः लामो समय पर्खिनुपर्ने मान्यता छ । तर बाढी, पहिरो, दुर्घटना वा अन्य विपत्तिमा मृत्यु भएको बलियो प्रमाण भए पनि शव मात्र फेला नपरेको अवस्थामा परिवारले खोजीको केही समयपछि प्रतीकात्मक अन्त्येष्टि गर्न सक्ने धार्मिक अभ्यास रहिआएको छ ।