
काठमाडौँ : विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकपछि निर्णयबारे जानकारी दिँदै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढी प्रभावितको अवस्थाबारे संसदमा आवाज उठाउने निर्णय भएको बताइन् ।
उनले हाल भइरहेका खोज, उद्धार र राहतका कामप्रति धन्यवाद दिँदै सुरुदेखि नै सबै पक्षबीच प्रभावकारी समन्वय भएको भए थप जनधन जोगाउन सकिने धारणा व्यक्त गरिन् ।
‘भोटेकोशी बाढीको विषयमा सरकारको ध्यानाकर्षण गर्ने र संसदमा हाम्रो आवाज उठाउने निर्णय भएको छ,’ अर्यालले भनिन् ।
बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै उनले प्रभावितको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने बताइन् । जनताको धैर्य धेरै लामो समयसम्म नरहने भएकाले राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष छ ।