
काठमाडौं : अस्ट्रेलियाका विश्वप्रसिद्ध ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने निश्चित भएको छ । काठमाडौं गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको छ ।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै वार्नरलाई आफ्नो टोलीमा भित्र्याएको जनाएको छ । उनी एनपिएलमा सहभागी हुने हालसम्मकै सबैभन्दा ठुलो विदेशी नाम मानिएका छन् ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जित्दा टोलीका प्रमुख सदस्यको रूपमा भूमिका खेलेका थिए । विशेषगरी २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए ।
वार्नरले आफ्नो करिअरमा ११२ टेस्ट, १६१ एकदिवसीय र ११० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यी तीनै फर्म्याटमा उनले शतक बनाउँदै कुल ४९ अन्तर्राष्ट्रिय शतकसहित करिब १९ हजार रन बनाएका छन् । टेस्टमा ८,७८६ रन, एकदिवसीयमा ६,९३२ रन र टी–२० अन्तर्राष्ट्रियमा ३,२०० भन्दा बढी रन उनको नाममा छन् ।
टी-२० क्रिकेटमा पनि वार्नर उत्तिकै प्रभावशाली छन् । उनले विश्वभरका विभिन्न लिगहरूमा ४३९ खेल खेल्दै १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन् । भारतको इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनले सनराइजर्स हैदराबादलाई २०१६ मा उपाधि दिलाउँदै कप्तानी पनि सम्हालेका थिए । साथै पाकिस्तान सुपर लिग, बिग बास लिग, द हन्ड्रेड, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका प्रतियोगितामा पनि उनले सहभागिता जनाइसकेका छन् ।
दशैंपछि आयोजना हुने एनपिएलमा वार्नरको सहभागिताले प्रतियोगिताको स्तर र आकर्षण दुवै बढाउने अपेक्षा गरिएको छ । यसअघि नै काठमाडौं गोर्खाजले श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका विकेटकिपर केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।