२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एमालेभित्रको ‘भालुभुत्ते’ बहस

Nada
दामोदर अर्याल
२०८३ असोज २ गते ०६:०५
Shares
एमालेभित्रको ‘भालुभुत्ते’ बहस

कुनै बेला एउटा यस्तो जमाना थियो, देशभरका आलोचनात्मक चेत राख्ने धेरैजसो बौद्धिक मान्छेहरू स्वतः एमाले सर्मथक बन्थे । राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मामिलामा मात्र होइन, मानव अधिकार, महिला अधिकार, दलित अधिकार, वैदेशिक मामिला, भूराजनीतिक विषय, सन्धि–सम्झौता र विकासको सिद्धान्तका बारेमा समेत आममान्छेलाई शिक्षित बनाउन एमालेहरू सार्वजनिक रूपमा नै पर्याप्त छलफल गर्दथे । त्यति मात्र होइन, एमाले पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन महासचिवले आन्तरिक रूपमा प्रस्तुत गर्ने आफ्नो राजनीतिक प्रतिवेदनमाथि बहस गर्न सार्वजनिक रूपमा नै आह्वान गरेको इतिहास छ ।

ncell

यो पृष्ठभूमिलाई ध्यानमा राख्दै बहस र छलफलको मामिलामा आजको एमालेको कहाँ छ ? यसको सहज रूपमा उत्तर आउँछ – शून्य । त्यो पार्टीभित्र बहसको परम्परालाई भुत्ते बनाउन १५ वर्षे महासचिव माधव नेपालको प्रयाप्त भूमिका थियो । उनी त बहस र छलफल गर्न खोज्ने नेता कार्यकर्तालाई आफ्नै घरमा बोलाएर भन्थे, ‘टंक कार्की बनाइदिऊँ ? फेरि पनि उनको कार्यकालभरि बहसको परम्परा धुकधुकीकै रूपमा भए पनि बाँचिरहेकै थियो । तर नवौं महाधिवेशनपश्चात् त ओलीले बहस गर्ने प्रयत्नलाई शून्यमा नै झारिदिए । उनको यो लामो कार्यकालभरि ‘आइ लभ यु’ नाराको ठुलो र भयानक कर्कस आवाजभित्र बहस र छलफलको स्वर अत्यन्त धीमा सुनियो ।

आज एकचोटि फेरि एमाले बहस गर्ने मुडमा आएको हो कि जस्तो लाग्छ । तथापि बहस र छलफल गर्ने त्यहाँभित्रको प्रणाली मर्मत नै गर्न नसकिने गरी ध्वस्त पारिएका कारणले बहसका विषय छनोटमा उनीहरू भयानक दिग्भ्रममा परेका छन् । के विषयमा छलफललाई केन्द्रित गर्ने हो ? अलमलले पार्टीले सही बाटो पाइरहेको छैन । विषय छनोटका सन्दर्भमा अहिले त्यहाँ बहसका निम्ति अंकुराउन थालेका केही अर्थहीन प्रसंग यस्ता छन् :

सन्दर्भ केपी ओली

आज एमालेको तल्लो तहदेखि माथिल्लो संरचनासम्म बहसको केन्द्रविन्दुमा केपी ओली छन् । वास्तवमा कुनै पनि पार्टीको र अझ खासगरी वामपन्थी पार्टीको जीवनका सन्दर्भमा गरिने छलफलको मुख्य विषय एउटा व्यक्तिलाई बनाइनु भनेको त्यो पार्टी ठिक लयमा छैन भन्ने कुरा प्रथम दृष्टिमा नै भन्न सकिन्छ ।

पार्टीको उत्थान र पतनमा मुख्य भूमिका विचारले खेल्ने भएकाले छलफलको विषय पनि विचार बनाइनुपर्दथ्यो । विचार समाप्तिको जगमा नै केपी ओलीहरूको अभ्युदय हुन्छ भन्ने तथ्य अझै एमालेले बुझ्न सकेको छैन ।

दुवैथरीहरू, जो एमालेको पुनस्र्थापना गर्न चाहन्छन्, र यसका निम्ति बहसमा उत्रिएका छन्, तिनीहरू छलफलको विषयवस्तु छनोटमा अझै ठिक ठाउँमा उभिएका छैनन् । आज उनीहरूले गर्ने बहसको प्रश्न वामपन्थी मार्गमा हामी कहाँ चुक्यौं ? भन्ने हुनुपर्दथ्यो । त्यसबाहेक समीक्षा गर्दा हामी अझै वामपन्थी हौं कि बुर्जुवामा रूपान्तरित भइसक्यौं ? यो अर्को विषय हुन सक्थ्यो । तर उनीहरू बहसको केन्द्रमा केपी ओलीलाई बनाएर पार्टीको आमूल परिवर्तनको विषयलाई थप ओझेलमा पार्न खोज्दै छन् ।

केपी ओलीहरूलाई निस्तेज पार्न त्यहाँ विचारको पुनस्र्थापना जरुरी छ । विचारलाई नजरअन्दाज गरेर ओली हटाउँदा वा राख्दा एमाले पुनर्जाग्रित हुने होइन, त्यो त केवल एउटा ओली गएर अर्को ओली आउने मात्र हुन्छ । त्यसकारण बहसको विषय ओली हुनै सक्दैन ।

मध्यमवर्गको पार्टी बनाउने प्रयत्न

एमालेभित्रको एउटा पंक्ति यो पार्टीलाई मध्यमवर्गको पार्टी बनाउन सानै स्वरमा भए पनि बहस प्रारम्भ गरिरहेको देखिन्छ । यसका सम्बन्धमा उनीहरूका दुइवटा तर्क छन् । पहिलो तर्क हो, हाल नेपालमा गरिबीको रेखामुनि केवल १७ प्रतिशत मान्छे छन्, र त्यो १७ प्रतिशतको पार्टी बनाउँदा त्यसबाहेकका ठुलो जनमत हाम्रो पक्षमा आउँदैन । त्यसकारण चुनाव जित्नका लागि गरिबको पक्षमा होइन, बाँकी ८३ प्रतिशत मान्छेहरूको हकहितमा बोल्ने पार्टी निर्माण गर्नुपर्छ ।

उनीहरूको अर्को तर्क हो, मध्यमवर्ग र त्योभन्दा माथिल्लो वर्गको पार्टी बनाउँदा विश्व व्यवस्थाका संस्थापन पक्ष अर्थात् अमेरिका र पश्चिमाहरूको कोपभाजनको सिकार बन्नबाट जोगिन सकिन्छ । उनीहरूको थप लोभ कांग्रेस रास्वपाजस्ता पार्टीहरूसँग सहकार्य गर्ने पनि हुन सक्छ । यसका लागि उनीहरू पार्टीको नाम नै फेरेर समाजवादी केन्द्र वा अरू यस्तै नामको पनि चर्चा गर्दै छन् ।

यस्तो मत राख्ने नेताहरूलाई एमाले भित्रैका केही इमानदार मान्छेहरू ‘कौवा हंस कि चाल चला, लंंगडा कर थोडा थोडा’ भने पनि हामीचाहिँ के ऐतिहासिक उदाहरण दिन्छौं भने गोर्वाचोभको ‘ल्गास्तोनस्त र पेरोस्त्रेइका’ले पनि सोभियत कम्युनिस्टलाई जोगाउन सकेन । यो बुझ्नुपर्छ, विचारबाट भागेर प्रतिक्रियावादीहरूले माया गर्नेवाला छैनन् । यसका सन्दर्भमा त्यतिखेरै मदन भण्डारीले भन्नुभएको थियो, ‘पूूर्वी युरोपका कम्युनिस्टहरूले समाजवादको बर्को फ्याँके पनि पुँजीवादीहरूले कम्युनिस्टहरूलाई भिजेको कुकुरलाई कुटेजस्तो कुट्न छाडेका छैनन् ।’

डिजिटल समाजवाद

एमालेभित्रकै एउटा फुुच्चे विद्वान्ले केही दिनअघि कुनै एउटा अनलाइनमा लेख नै लेखेर भन्यो, अब जनताको बहुदलीय जनवादलाइ परिमार्जन गरेर डिजिटल समाजवादको कुरा गर्नुपर्छ । एमालेभित्रको विचारहीनताको एउटा ठुलो र डरलाग्दो उदाहरण हो यो । समाजवाद त समाजवाद हुन्छ नि ! यो डिजिटल समाजवाद, अल्गोरिदम समाजवाद, लाइक, भ्युज र सेयर समाजवाद हुन्छ र ?

आखिर के हो समाजवाद भनेको ? समाजवाद भनेको एक यस्तो राजनीतिक, आर्थिक र सामाजिक प्रणाली हो, जहाँ उत्पादन, वितरण र विनिमयका साधनमाथि कुनै एक व्यक्तिको निजी स्वामित्व नभई सम्पूर्ण समाज वा राज्यको सामूहिक स्वामित्व र नियन्त्रण हुन्छ । यस व्यवस्थाको मुख्य लक्ष्य सामाजिक समानता कायम गर्नु, वर्गभेदको अन्त्य गर्नु, शोषणमुक्त समाजको निर्माण गर्नु र देशका स्रोत–साधनलाई नागरिकमा समान रूपमा वितरण गर्नु हो ।

तर यतिचाहिँ भन्न सकिन्छ, आज पैसाको केन्द्रीकरण वस्तु वा सेवा उत्पादन गर्ने ठाउँमा होइन, सूचनाप्रविधि उद्योगमा भइरहेको छ । त्यो सूचना प्रविधिको विकास पनि मानवजातिकै विकास र साझा सम्पत्ति हो । जसरी कारखाना सामूहिक स्वामित्वमा जानुपर्छ भन्ने समाजवादी मत हो, ठिक त्यसैगरी सूचना प्रविधि उद्योग पनि मानवहित र साझा सम्पत्तिको रूपमा विकास गर्नुपर्छ । यसका लागि उनीहरूसँग लत्रेर र भागेर होइन, स्वामित्व र अधिकार खोजेर मात्र समाधान हुन्छ । अथवा त्यही माध्यमलाई प्रयोग गरेर त्यहीभित्र संघर्ष आवश्यक छ ।

सामन्ती व्यवस्थामा उत्पादनको प्रमुख साधन जमिन थियो, पुँजीवादी युगमा कारखाना भए । आजको दुनियाँमा उत्पादन र धन केन्द्रीकरणको क्षेत्र सूचना–प्रविधि बन्यो । उत्पादनका साधनहरू हिजो पनि निजी नै थियो, आज पनि निजी नै छ । शोषण हिजो पनि थियो, आज पनि छ । तदनुसार समाजवादी संघर्ष हिजो पनि थियो, आज पनि छ । केवल शोषण र संघर्षको क्षेत्रमा अर्को एउटा क्षेत्र थपिएको मात्र हो, जसलाई हामी सूचना प्रविधिको क्षेत्र भन्छौं । त्यसका लागि माक्र्सवादको भाष्य परिवर्तनको कुनै आवश्यकता छैन । त्यस्तो गर्नु वा डिजिटल समाजवादको धारणा राख्नु केवल अर्को लफंगावादमा फस्नुसिवाय केही होइन । 

जनताको बहुदलीय जनवाद

एमालेले जनताको बहुदलीय जनवादको अर्थ नै बुझेन । जबज भनेको वाम विचार वा माक्र्सवादको विरोधी विचार थिएन । यो त नेपालको विशिष्टतामा सामन्तवादविरोधी कार्यक्रम थियो । त्यसबाहेक संगठनभित्र लोकतान्त्रिक अभ्यास गरेर स्टालिन, चाउचेस्कु वा ओलीहरूलाई रोक्ने प्रयत्न थियो । अझ थप कुरा गर्नुपर्दा जनताको विश्वास र अपनत्वमा समाजवाद स्थापनाको चाहना थियो । प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने नाममा जसरी पनि पार्टी सत्ता वा राज्य सत्ता कब्जा गर्ने मनसाय जबजको थिएन ।

जबजको गलत व्याख्याका कारणले नै लिङ्देनहरूलाई भोट हाल्न एमालेहरू बाध्य भए । कमल थापाहरूले सूर्य चिह्नमा चुनाव लडे । प्रसाईंहरू एमाले केन्द्रीय सदस्य बने ।

त्यसकारण आज फेरि एमालेलाई आफ्नो खुट्टामा उभ्याउने हो भने अथवा गुमेको जनमत फर्काउने हो भने त्यो पार्टी वामपन्थी मार्गमा फर्कनैपर्छ । वामपन्थी बाटोमा फर्कन यससँग सम्बन्धित विषय नै छलफलका मुद्दा हुन् । केपी ओलीलाई छलफलको मुद्दा बनाएर न त ओली बहिर्गमन हुन्छन्, न त एमाले नै पुनर्जाग्रित हुन्छ । कथंकदाचित ओली बाहिरिएछन् भने पनि राष्ट्रिय राजनीतिको केन्द्रमा एमाले भित्रिने छैन । यत्ति कुरा पनि बुझिएन भने नेपालको इतिहासमा एमाले भन्ने एउटा राम्रो पार्टीको उदय र पतनको कथा पढ्न भावी पुस्ता अभिशप्त हुनेछ ।

–अर्याल नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग प्रमुख हुन् ।

सम्बन्धित खबर