
भोटेकोशी आकस्मिक बाढीको मुख्य कारण जलवायु परिवर्तन हो ?
उपलब्ध प्रारम्भिक विश्लेषणअनुसार यो घटना सामान्य वर्षाजन्य बाढी वा परम्परागत हिमताल विस्फोट मात्र होइन । उच्च हिमाली भागबाट ठुलो परिमाणमा चट्टान र बरफ खसेर तीव्र गतिमा तल आयो । त्यसले खोला अस्थायी रूपमा थुन्यो । थुनिएको पानी र भग्नावशेष एकाएक बाहिरिँदा ठुलो बाढी आयो । यसलाई हिमचट्टान पहिरोबाट सुरु भएको जोखिमको शृंखलाका रूपमा बुझ्न सकिन्छ । अर्थात्, हिमचट्टान खस्नु, नदी अस्थायी रूपमा थुनिएर जम्मा भई अवरोध भत्किएर भग्नावशेषसहित आकस्मिक बाढी आउनु ।
जलवायु परिवर्तनसँगको सम्बन्धबारे दुई तहमा बुझ्नुपर्छ । पहिलो, विश्वव्यापी अध्ययनहरूले बढ्दो तापक्रमले हिमनदी पछाडि सरेको, हिउ जमेको भूभाग तात्ने वा पग्लिने, हिउँ र बरफको स्थिरता कमजोर हुने तथा चट्टानका चिराभित्र पानी पस्ने अवस्था सिर्जना गर्न सक्ने देखाएका छन् । यी सबै प्रक्रियाले उच्च हिमाली भिरलाई पहिलेको तुलनामा अस्थिर बनाउन सक्छन् ।
दोस्रो, यी सामान्य वैज्ञानिक सम्बन्धका आधारमा भोटेकोशीको यो विशेष घटना ‘जलवायु परिवर्तनकै कारण मात्र भयो’ भनेर अहिले नै ठोकुवा गर्न मिल्दैन । यस्तो निष्कर्षका लागि लामो अवधिको तापक्रम र वर्षाको तथ्यांक, घटनाअघिको हिमपग्लाइ, चट्टानका चिरा र संरचना, जमेको भूभागको अवस्था, हिमनदीको गति, भूगर्भीय बनावट तथा सम्भावित अन्य कारणको संयुक्त अध्ययन आवश्यक हुन्छ ।
के यसले हिमालय अस्थिर बन्दै गएको भन्न सकिन्छ ?
एउटै घटनाबाट सम्पूर्ण हिमालय अस्थिर भइसकेको निष्कर्ष निकाल्नु उचित हुँदैन । तर यो घटनाले तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणमा हामीले हिमताल मात्र होइन, हिम–चट्टान पहिरो, जमेको भूभाग पग्लिनु, नदी थुनिनु र त्यसपछि आउने आकस्मिक बाढीजस्ता संयुक्त जोखिमलाई पनि गम्भीरतापूर्वक समेट्नुपर्ने स्पष्ट संकेत दिएको छ ।
यस्तो जोखिम नेपालका कुन क्षेत्रमा बढी देखिन्छ ?
यस्ता जोखिमलाई जिल्लाको सीमाले भन्दा उचाइ, तापक्रम, भिरको ढलान, चट्टानको बनावट, हिमनदी र जमेको भूभागको सम्भावित उपस्थितिले निर्धारण गर्छ । सामान्यतः अत्यन्त ठाडा चट्टानी भिर भएका उच्च हिमाली क्षेत्र, हालै हिमनदी हटेर खुला भएका चट्टानी भित्ता, चट्टानका चिरामा बरफ जमेका भूभाग बढी संवेदनशील हुन सक्छन् । त्यस्तै, माथि सर्दै गएका हिमनदीमाथि ठुलो पहिरो खस्न सक्ने ढलान, साँघुरा उपत्यका, जहाँ पहिरोले नदी सजिलै थुन्न सक्छ । भूकम्प, हिमपग्लाइ र तीव्र वर्षाबाट पहिले नै कमजोर भएका भिर र जोखिमको स्रोतको तलतिर बस्ती, सडक वा जलविद्युत् पूर्वाधार भएका क्षेत्र बढी जोखिममा छन् ।
के तिनको पहिचान र निगरानी भइरहेको छ ?
नेपालमा केही महत्त्वपूर्ण काम भइरहेका छन् । उपग्रहका तस्बिरबाट हिमनदी र हिमतालको सूची बनाउने तथा तिनमा भइरहेको परिवर्तनको अध्ययन गर्ने काम भइरहेको छ । सम्भावित जोखिमयुक्त हिमतालको प्राथमिकता निर्धारण गरिएको छ । केही क्षेत्रमा स्वचालित मौसम तथा जलमापन केन्द्र छन् ।
चुनिएका स्थानमा हिमनदी, जमिनको तापक्रम र जमेको भूभागसम्बन्धी अनुसन्धान भइरहेको छ । नदीको बहाव र जलसतह पनि अनुगमन गरिँदै आएको छ । छो रोल्पा र इम्जाजस्ता क्षेत्रमा पूर्वसूचना तथा जोखिम न्यूनीकरणका काम भएका छन् ।
ठुलो घटना भएपछि उपग्रहका तस्बिर, भूकम्पीय संकेत र नदीसम्बन्धी तथ्यांकको संयुक्त विश्लेषण पनि गरिन्छ । तर हिमतालको तुलनामा हिम–चट्टान पहिरो र जमेको भूभागसम्बन्धी व्यवस्थित राष्ट्रिय निगरानी अझै सीमित छ । नेपालभरका सबै ठाडा भिरमा जमिनमा उपकरण राख्नु व्यावहारिक वा आर्थिक रूपमा सम्भव हुँदैन । त्यसैले पहिले उपग्रह तथा भू–आकृतिक तथ्यांकबाट सम्भावित जोखिम क्षेत्र पहिचान गर्ने र त्यसपछि उच्च प्राथमिकताका सीमित स्थानमा विस्तृत निगरानी गर्ने व्यवस्था उपयुक्त हुन्छ । हामीले निगरानी सुरु गरेका छौं । तर हिमतालकेन्द्रित प्रणालीबाट बहुजोखिमयुक्त हिमाली निगरानीतर्फ विस्तार गर्न अझ धेरै काम आवश्यक छ ।
आगामी दिनमा पनि आकस्मिक बाढीको जोखिम बढ्ने खतरा कति छ ?
उच्च हिमाली चट्टान बाहिरबाट ठोस देखिए पनि त्यसमा प्राकृतिक चिरा र कमजोर सतह हुन्छन् । चिसो क्षेत्रमा ती चिराभित्रको बरफले कहिलेकाहीँ चट्टानका खण्डलाई जोडेर राख्न सहयोग गर्छ । तापक्रम बढ्दा चट्टानका चिराभित्रको बरफ तात्न, कमजोर हुन वा पग्लिन सक्छ । पहिले बरफले जोडिएका चट्टानबीचको पकड कम हुन सक्छ । पग्लिएको पानी चिराभित्र गहिरोसम्म पुग्न सक्छ । पानी जम्ने र पग्लिने क्रमले चिरा क्रमशः फराकिलो बनाउन सक्छ । पानीको दबाब बढ्दा कमजोर सतहमा चिप्लिने सम्भावना पनि बढ्न सक्छ ।
तर जमेको भूभाग पग्लँदैमा पहिरो अनिवार्य रूपमा जान्छ भन्ने होइन । चट्टानको संरचना, भिरको कोण, चिराको दिशा, पानीको उपलब्धता र पुरानो भूगर्भीय कमजोरी पनि निर्णायक हुन्छन् ।
हिमनदी माथि सर्दै जाँदा के हुन्छ ?
हिमनदीले कहिलेकाहीँ छेउको चट्टानी भिरलाई भौतिक आड दिएको हुन्छ । हिमनदी पातलो भएर पछाडि हट्दा त्यो घट्न सक्छ । यसलाई हिमनदी हटेपछि ढलानमा आउने असन्तुलनका रूपमा बुझ्न सकिन्छ ।
साथै, पहिले बरफले ढाकिएको चट्टान खुला भएर तापक्रम र पानीको प्रत्यक्ष प्रभावमा आउँछ । यसले केही स्थानमा दीर्घकालीन रूपमा ढलान अस्थिरता बढाउन सक्छ ।
वर्षाको स्वरूप परिवर्तनले कस्तो असर गर्छ ?
वर्षा धेरै भयो कि थोरै भन्ने मात्र महत्त्वपूर्ण होइन । कुन उचाइमा, कति तीव्र, कति समय र हिउँ वा पानी कुन रूपमा पर्यो भन्ने पनि महत्त्वपूर्ण हुन्छ ।
छोटो समयमा परेको तीव्र वर्षाले चिरा र कमजोर ढलानमा पानीको दबाब बढाउन सक्छ । पहिले हिउँ पर्ने उचाइमा पानी पर्न थालेमा हिउँ छिटो पग्लिन सक्छ । वर्षासँगै भएको हिउँ पग्लाइले नदीको बहाव बढाउन सक्छ ।
पहिरो वा अस्थायी बाँध फुट्दा नदीमा पहिल्यै धेरै पानी भए बाढीको प्रभाव अझ ठुलो हुन सक्छ । अत्यधिक हिमपातले अस्थिर भिर वा हिमनदीमा थप भार पनि दिन सक्छ ।
भविष्यको जोखिम कस्तो देखिन्छ ?
आगामी वर्षमा नेपालका सबै स्थानमा वा हरेक वर्ष यस्तो घटना बढ्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । ठुला हिम–चट्टान पहिरो विरल र जटिल घटना हुन् । तिनको विश्वसनीय प्रवृत्ति निर्धारण गर्न पर्याप्त दीर्घकालीन तथ्यांक अझै सीमित छ । तर वैज्ञानिक रूपमा केही प्रवृत्ति चिन्ताजनक छन् । हिमनदी पछाडि हट्ने र पातलो हुने क्रम जारी छ । नयाँ हिमताल बन्ने र केही पुराना ताल विस्तार हुने सम्भावना छ । जमेको भूभाग भएका उच्च हिमाली क्षेत्र तातिरहेका छन् । केही क्षेत्रमा हिमपग्लाइ र चरम वर्षाको स्वरूप परिवर्तन हुँदै छ । अर्कोतर्फ सडक, जलविद्युत् आयोजना तथा बस्ती जोखिमयुक्त नदी करिडोरमा विस्तार भइरहेका छन् । त्यसैले भविष्यमा घटना घट्ने सम्भावना मात्र होइन, जोखिममा पर्ने बस्ती र पूर्वाधारको संख्या तथा सम्भावित क्षति पनि बढ्न सक्छ ।
सबै प्रकारका हिमाली पहिरो समान दरमा बढ्नेछन् भन्ने निश्चित छैन । तर तापक्रम बढ्दै गएको अवस्था, बदलिँदो हिमाली वातावरण र नदीको तल्लो क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण केही स्थानमा एकपछि अर्को घटना जोडिएर आउने आकस्मिक बाढीको समग्र जोखिम बढ्न सक्ने बलियो वैज्ञानिक आधार छ ।
नेपालको पूर्वसूचना प्रणाली हिमताल फुट्ने जोखिमका लागि मात्र पर्याप्त छ ?
हिमताल फुट्ने जोखिमका लागि मात्र केन्द्रित पूर्वसूचना प्रणाली अब पर्याप्त हुँदैन । भोटेकोशी र भारतको चमोलीमा भएका घटनाले ठुलो बाढी आउन हिमताल नै फुट्नुपर्छ भन्ने छैन भन्ने देखाएका छन् । हिम–चट्टान पहिरोले नदी थुन्न सक्छ, ठुलो मात्रामा भग्नावशेष बगाउन सक्छ वा आफैं पानी र बरफसँग मिसिएर तीव्र गेग्रान बहाव बनाउन सक्छ । त्यसैले पूर्वसूचना प्रणालीले यी घटनाको क्रमिक संयोजनलाई समेट्नुपर्छ ।
स्रोत क्षेत्रमा पहिरो खस्ने ठ्याक्कै समय पहिले नै बताउन सधैं सम्भव हुँदैन । त्यसैले पूर्वसूचनाका दुई तह आवश्यक छन् ।
पहिलो, स्रोत क्षेत्रमा निगरानी । सम्भावित चिरा, सतहको गति, हिमनदीको चाल, जमिनको तापक्रम र अन्य अस्थिरताको निगरानी गर्नुपर्छ ।
दोस्रो, तल्लो क्षेत्रमा जोखिम पत्ता लगाउने प्रणाली । नदीको जलसतह, बहाव, कम्पन र आकस्मिक परिवर्तन पत्ता लगाई बाढी आउनुअघि सम्भव भएसम्म छिटो सूचना पठाउनुपर्छ ।
अब तत्काल गर्नुपर्ने मुख्य तीन काम के हुन् ?
पहिलो, राष्ट्रिय बहुजोखिम क्षेत्र पहिचान र प्राथमिकता निर्धारण । हिमताल मात्र होइन, अस्थिर हिमनदी, हिमचट्टान पहिरो सम्भावित भिर, जमेको भूभाग भएका क्षेत्र र नदी थुनिन सक्ने साँघुरा उपत्यकालाई एउटै राष्ट्रिय मूल्यांकनमा समेट्नुपर्छ ।
उपग्रह तस्बिर, भूआकृतिक तथ्यांक, हिमनदी तथा हिमतालको सूची, भिरको ढलान, भूगर्भ, जमेको भूभागको सम्भावना, नदी प्रणाली र तल्लो क्षेत्रमा रहेका बस्ती तथा पूर्वाधारलाई जोडेर प्राथमिकता सूची बनाउन सकिन्छ । त्यसपछि अत्यन्त जोखिमयुक्त सीमित स्थानमा विस्तृत स्थल अध्ययन र उपकरण जडान गर्नुपर्छ ।
दोस्रो, स्रोतदेखि समुदायसम्म जोडिएको बहु–तह पूर्वसूचना प्रणाली । उच्च प्राथमिकताका क्षेत्रमा उपग्रह निगरानी, क्यामेरा, मौसम केन्द्र, जमिनको चाल मापन गर्ने उपकरण, भूकम्पीय संकेत र नदीको जलसतह मापनलाई सम्भव भएसम्म एकीकृत गर्नुपर्छ । तर उपकरणले खतरा पत्ता लगाउनु मात्र पर्याप्त हुँदैन । सूचना स्थानीय सरकार, सुरक्षा निकाय, जलविद्युत् आयोजना र समुदायसम्म केही मिनेटभित्र पुग्ने स्पष्ट प्रणाली चाहिन्छ ।
साइरन, मोबाइल सन्देश, रेडियो, स्थानीय सम्पर्क व्यक्ति र वैकल्पिक सञ्चार माध्यमसँगै नियमित सुरक्षित स्थानतर्फ जाने अभ्यास पनि आवश्यक हुन्छ । चेतावनीको भाषा पनि ‘बाढी आउन सक्छ’ भन्ने मात्र नभई कहाँ, कति समयभित्र र नागरिकले तत्काल के गर्नुपर्छ भन्ने स्पष्ट हुनुपर्छ ।
तेस्रो, जोखिमअनुकूल पूर्वाधार, भू–उपयोग र अन्तरदेशीय सूचना सहकार्य । जोखिमयुक्त नदी किनार, पुराना गेग्रान बहावका मार्ग र सम्भावित डुबान क्षेत्रमा नयाँ बस्ती तथा संवेदनशील पूर्वाधार राख्दा अद्यावधिक बहु–जोखिम मूल्यांकन अनिवार्य गरिनुपर्छ ।
पुराना संरचनाका लागि सुरक्षित स्थानतर्फ जाने मार्ग, खुला सुरक्षित ठाउँ र आकस्मिक सञ्चालन योजना तयार गर्नुपर्छ । धेरै हिमाली नदी सीमापारबाट आउने भएकाले मौसम, नदी, उपग्रह र सम्भावित नदी अवरोधसम्बन्धी तथ्यांक शीघ्र आदानप्रदान गर्ने नेपाल–चीन तथा आवश्यकताअनुसार अन्य क्षेत्रीय संयन्त्र पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।