२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

भरिँदै सानेपा, एक्लिँदै देउवा

Nada
२०८३ असोज २ गते ०६:२५
Shares
भरिँदै सानेपा, एक्लिँदै देउवा

काठमाडौं : बिहीबार नेपाली कांग्रेसका सभापति गगन थापाले असोजको १६ गते उद्घाटन हुने १५औं महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवासमेतलाई सहभागी गराउने बताए । विशेष महाधिवेशपश्चात् भड्किएका पूर्वसभापति देउवा र उनीनिकटका नेताहरूबीच लामो समय कुरा नमिल्दा पार्टी विभाजनको रेखामा पुगिसकेको थियो ।  

ncell

पछिल्लोपटक दुवैतर्फका नेताहरूको प्रयासमा कांग्रेसलाई एकताबबद्ध बनाउने अभियानले सार्थकता पाउने चरणमा छ । विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिले असोज ३ र ४ गते देशभर वडाअधिवेशन गर्दै छ । त्यस्तै ७ गते पालिका, १० गते प्रदेश क्षत्र र संघीय निर्वाचन क्षत्रीय अधिवेशन हुँदै असोजको १६–१९ मा केन्द्रीय महाधिवेशन गर्दै छ । सबै तहको अधिवेशनका आवश्यक तयारी पूरा भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर सिंहले वडादेखि केन्द्रसम्मको अधिवेशनको पूर्ण तयारी भइसकेको बताए । यसैबीच पूर्वसभापति शेरबहादुर देउवा समूहले असोजको १५ मा वडा अधिवेशन थालेर मंसिरमा महाधिवेशन गर्न कार्यतालिका निकालेको छ । समानान्तर निर्वाचन कार्यतालिका सार्वजनिक गरेर अघि बढेका देउवा समूहका अधिकांश नेता मूल कांग्रेसमै फर्किएका छन् ।  

केन्द्रीय समिति बैठकले बिहीबार देउवा समूहबाट ५० भन्दा बढी नेतालाई औपचारिक स्वागत ग¥यो । मूल पार्टीमा समाहित भएका नेतालाई स्वागत गर्दै सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्न आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै भए पनि देउवालाई सहभागी गराउने प्रयास गर्ने बताए । ‘म १६ गतेसम्म कोसिस गर्छु, हामी सबै मिलेर कोसिस गरौं,’ सभापति थापाले भने, ‘१६ गते महाधिवेशनको उद्घाटनका दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामीले गर्ने हो । हामी सबै लाग्ने कोसिस गरौं ।’

पक्ष र विपक्षमा रहेका नेताहरूलाई विगतका विवाद बिर्सेर १५औं महाधिवेशनमा सहभागी हुन समेत थापाले आग्रह गरे । असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन देशभरका नेता–कार्यकर्तालाई गरेको सभापति थापाको आह्वान र इतर समूहका नेताहरूको समायोजनले कांग्रेसमा एकताको सन्देश दिएको छ । सभापति थापाले पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि टिप्पणी नगर्न पनि नेताहरूलाई आग्रह समेत गरे । ‘आजदेखि सबै कुरा बिर्सेर त्यसलाई मेट्ने र आउँदो दिनमा थप कोसिस गरौं,’ उनले भने, ‘हाम्रा आफ्ना साथीहरूका बारेमा कसैले हल्का टिप्पणी गर्ने कुरा पनि आजबाट बन्द गरौं । यो कांग्रेसको क्यारेक्टर होइन ।’

गत मंसिरमै हुनुपर्ने १५औं नियमित महाधिवेशन गर्नबाट तत्कालीन पार्टी नेतृत्व चुकेपछि विशेष महाधिवेशनमार्फत गत पुसको अन्तिममा नयाँ नेतृत्व चयन भएसँगै नेताहरू दुई कित्तामा प्रस्ट थिए । विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति र विशेष महाधिवेशन बहिष्कार गर्ने नेताहरूबीच आसपी आरोप–प्रत्यारोपबाट कित्ताकाटको अवस्था थियो । थापाले पार्टीको आन्तरिक विवादबाट बाहिर निस्केर देश र नागरिकका मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन् । 

विशेष महाधिवेशनबाट आएको नेतृत्वले गर्ने महाधिवेशनमा भाग नलिने भनेका देउवा पक्षका अधिकांश नेता सानेपा आएपछि कांग्रेसमा उत्साह थपिएको महामन्त्री प्रदीप पौडेलले बताए । ‘विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वलाई बहिस्कार गर्दै आएका नेताहरू अन्ततः पार्टीको आधिकारिक १५औं महाधिवेशनमा सहभागी हुने कुरा कांग्रेस र देशकै लागि सकारात्मक सन्देश हो,’ उनले मध्यान्हसँग भने । 

कांग्रेसको मूल प्रवाहमा देउवा पक्षका नेता महालक्ष्मी उपाध्याय (डिना), इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, किरण यादवलगायतको उपस्थिति थियो । 

पार्टीको एकताका लागि पूर्वसभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का समेतलाई समेट्ने प्रयास भइरहेको नेता मीन विश्वकर्माले बताए । केही दिनअघिसम्म देउवालाई सभापति मान्दै आएका विश्वकर्माले देउवालाई सर्वोच्च नेताका रूपमा व्याख्या गरेका छन् । ‘पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस पार्टीको सर्वोच्च नेता हुनुहुन्छ,’ उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति १५औं महाधिवेशनसम्म सभापति नै हुने भए पनि विशेष परिस्थितिजन्य अवस्थामा भएको विशेष महाधिवेशन र पार्टीको विवाद सर्वोच्च अदालतमा रहेको अवस्थामा महाधिवेशन हुन लागेकाले उहाँ अब सर्वोच्च नेता हो ।’ 

शनिबारबाट वडा अधिवेशन सुरु हुने भएकाले अधिकांश नेताहरू गृहजिल्ला गएर अधिवेशनको तयारीमा लागिसकेको नेता विश्वकर्माले बताए । समाहित भएका पार्टीका निवर्तमान पदाधिकारी तथा केन्द्रीय समितिमा रहेका अधिकांश नेताहरू केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ । लामो विवाद र रस्साकसीबीच हुन लागेको नेपाली कांग्रेसको १५औं महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरू आधिकारिक लाइनमा उभिएसँगै पार्टी विभाजनको घेरा तोडिएको छ । 

इतर पक्षका नेताहरू पार्टीको आधिकारिक लाइनमा समाहित भएसँगै कांग्रेसमा एकताको सन्देश प्रवाह महामन्त्री गुरुराज घिमिरेले बताए । सभापति गगन थापासहित शीर्ष नेताहरू र संस्थापनइतर समूहका नेताहरूबीच साझा सहमति निस्किएको उनको भनाइ छ । ‘ऐतिहासिक विशेष महाधिवेशनमा छुटेका नेताहरू १५औं महाधिवेशनको पूर्वसन्ध्यामा समाहित हुनुभएको छ,’ महामन्त्री घिमिरेले भने, ‘यसले कांग्रेसमा उत्साह जागेको छ र एकताको सन्देश देशभर प्रवाह भएको छ ।’ सभापति गगन थापासहित पदाधिकारी र इतर समूहमा रहेका नेताहरूबीच १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने साझा सहमति भएअनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरू विशेष महाधिवेशनकै समितिमा समाहित भएको उनको भनाइ छ । पार्टीका करिब ९० प्रतिशत नेता सानेपा आइसकेको नेताहरूले दाबी गरेका छन् । 

तर देउवाको साथ नछाडेका नेताहरूले आफ्नो पक्षले असोज १५ बाट तय गरेको १५औं महाधिवेशनको कार्यतालिका प्रभावित नहुने दाबी गरेका छन् । नेता शंकर भण्डारी केही व्यक्तिले साथ छाड्दैमा आफूहरूले अघि सारेको महाधिवेशन कार्यतालिका प्रभावित नहुने बताए । उनले भने, ‘महाधिवेशन कसरी रोकिन्छ ? अहिले केही केन्द्रीय समितिमा रहेका साथीहरूको टाउको गनेर सिंगो कांग्रेसको समीक्षा गर्नु सान्दर्भिक हुँदैन, त्यो वस्तुपरक हुँदैन, त्यो पूर्ण हुँदैन ।’ केही व्यक्तिहरूले आफूले गगन थापामाथि लगाएको आरोप समेत भुल्दै लाज पचाएर सानेपा पुगेको उनको टिप्पणी छ ।   

एक्लिँदै देउवा 

पूर्वसभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका अधिकांश नेताहरू पार्टी संस्थापन पक्षमा समाहित भएपछि उनी एक्लिँदै गएका छन् । केन्द्रीय समितिमा दुईतिहाइ बहुमत बनाएका देउवालाई साथ दिनेहरू न्यून संख्यामा छन् । विगतदेखि देउवाका पक्षमा बलियोसँग उभिएका नेताहरू पूर्णबहादुर खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र पाण्डे, महेन्द्र यादव, जीवनबहादुर शाही, किशोरसिंह राठौर, रामहरि खतिवडा, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, सीता गुरुङ, उमेश श्रेष्ठ, उमेशजंग रायमाझी, इन्द्र बानियाँसहितले साथ छाडेका हुन् । पूर्वउपसभापति खड्का भने सानेपा गइसकेका छैनन् । उनले सर्वोच्च अदालतमा मुद्दा हालेका कारण समायोजनमा नगएपनि आफूनिकटका अधिकांश नेताहरूलाई पार्टीको आधिकारिक लाइनमा पठाइसकेका छन् । 

उता देउवाको साथमै रहेर समानान्तर महाधिवेशनको तयारी गरिरहेका नेताहरूमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजय गच्छदार, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, भीमसेनदास प्रधान, दीपक खड्का, पूर्णबहादुर तामाङ (कान्छाराम), कुन्दनराज काफ्ले, जितजंग बस्नेत, दीपक कुँइकेल र सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायर रहेका छन् । शक्तिशालीहरूले साथ छाडेपछि देउवा एक्लिँदै गएका हुन् । देउवा पक्षका अझै केही नेताहरू संस्थापनमा आउने तयारी रहेको बताइएको छ । विमलेन्द्र निधि, प्रकाशशरण महत, कान्छाराम तामाङ, कुन्दन काफ्ले, मोहन बस्नेतसहितका नेताहरू पार्टी संस्थापन पक्षले लचकता अपनाए १५औं महाधिवेशनमा सहभागी हुने तयारीमा रहेको देउवा समूहबाट समाहित नेताहरूको दाबी छ । 

पूर्ण एकताको रटानमा कोइराला 

पार्टी एकताको अभियान चलाएका डा. शेखर कोइरालाले पार्टी पूर्ण एकता नहुने अवस्थामा कुनै पक्षमा नलाग्ने बताएका छन् । प्रारम्भबाटै पार्टी एकताको पक्षमा देखिएका नेता कोइरालाले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न सफल हुने विश्वास व्यक्त गरे । ‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ,’ उनले भने, ‘हामी उठ्छौं जुट्छौं र जित्छौं, यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ । यस अभियानमा म गाउँ टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ अभियानमा जुट्न अपिल गर्दछु ।’

कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरक रूपमा बुझ्न नसक्ने भन्दै संवादबाटै कांग्रेस एकताको अभियानमा लागीरहने बताए । ‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ । म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिनँ,’ कोइरालाले भनेका छन् । कोइराला पक्षका अधिकांश नेताहरू समेत सभापति गगन समूहमै समाहित भइसकेका छन् । वर्तमान केन्द्रीय समितिमा कोइराला पक्षका धनराज गुरुङ, बद्री पाण्डे, मीनेन्द्र रिजाल, बलबहादुर केसीसहित केही नेताहरू मौन छन् ।

सम्बन्धित खबर