२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

कुशेऔंशी अर्थात् बुवाको मुख हेर्ने दिन

Nada
विश्वनाथ खरेल
२०८३ भदौ २६ गते ०६:०५
Shares
कुशेऔंशी अर्थात् बुवाको मुख हेर्ने दिन

भदौ वा असोज महिनाको कृष्ण पक्षको अमावस्या तिथिमा मनाइने कुशेऔंशी नेपाली सनातन संस्कृतिको एक अत्यन्त पावन, सांस्कृतिक र भावपूर्ण पर्व हो । यस दिनलाई ‘बुवाको मुख हेर्ने दिन’, ‘गोकर्ण औंशी’ वा ‘पितृऔंशी’का रूपमा पनि चिनिन्छ । वर्षभरि हुने विविध देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने अति पवित्र वनस्पति ‘कुश’लाई विधिपूर्वक उखेलेर घर–घरमा भित्त्याइने भएकाले यस तिथिलाई कुशेऔंशी भनिएको हो । एकातिर जीवित पितालाई आदर–सत्कार गरी मुख हेर्ने र अर्कातिर दिवंगत पितृको उद्धारका लागि तर्पण तथा श्राद्ध गर्ने दोहोरो धार्मिक एवं सामाजिक महत्त्व यस पर्वले बोकेको छ ।

ncell

वैदिक साहित्य र उपनिषद्हरूमा पिताको स्थान भगवान्सरह उच्च मानिएको छ । तैत्तिरीय उपनिषद्को ‘पितृदेवो भव’ भन्ने महावाक्यले जन्मदाता पिताप्रतिको दायित्वलाई स्पष्ट पार्छ । मानव जीवनमा मानिएका तीन प्रमुख ऋणहरू– देवऋण, ऋषिऋण र पितृऋणमध्ये ‘पितृऋण’ चुकाउन जीवित छँदा बाबुको सेवा–सम्मान गर्नु र देहावसानपछि विधिपूर्वक श्राद्ध–तर्पण गर्नु अपरिहार्य मानिन्छ । अमावस्या तिथि पितृलोक र मत्र्यलोकबीचको सम्बन्ध नजिकिने समय मानिने भएकाले यस दिन गरिएका दान, पिण्डदान र तर्पणले पितृहरूलाई पूर्ण शान्ति र तृप्ति मिल्छ भन्ने धार्मिक विश्वास छ ।

यस दिन भित्र्याइने कुशको धार्मिक तथा वैदिक महत्त्व निकै गहिरो छ । शास्त्रहरूमा कुशलाई भगवान् विष्णुको स्वरूप र अमृतस्पर्शी मानिएको छ । पौराणिक कथाअनुसार गरुडले स्वर्गबाट ल्याएको अमृत कलश भूमिमा राख्दा कुशमा परेकाले यसलाई अत्यन्त पवित्र र ऊर्जावान् मानिएको हो । पूजा, स्नान, जप, होम, स्वाध्याय र पितृकर्मजस्ता जुनसुकै वैदिक अनुष्ठान पनि कुशको उपस्थितिबिना अपूर्ण रहन्छन् । देवकार्यमा साइँली औंलामा र पितृकार्यमा चोर औंलामा कुशको औंठी (पवित्री) लगाउने नियम छ । कुशेऔंशीका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र यसलाई घरको मुख्य ढोकामाथि वा पूजाकोठामा राख्दा नकारात्मक ऊर्जा हटी सुख–शान्ति प्राप्त हुने जनविश्वास छ ।

यस पर्वको अर्को मुख्य आकर्षण भनेको काठमाडौंको बागमती किनारस्थित ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने ठुलो मेला हो । उत्तरगयाका रूपमा चिनिने यस पावन स्थलमा दिवंगत पिताको सम्झनामा श्राद्ध, पिण्डदान र सिदादान गर्नाले भारतको गयामा गरिने श्राद्धभन्दा पनि बढी पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । पौराणिक कथाअनुसार महाभारतका पात्र कर्ण र गोकर्ण नामक व्यक्तिले पितृश्राद्ध गरी पितृ उद्धार गरेको प्रसंग यसैसँग जोडिन्छ । गोकर्णेश्वरका अतिरिक्त रसुवाको बेत्रावती, चितवनको देवघाट र सुनसरीको बराहक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा पनि यस दिन भक्तजनको ठुलो घुइँचो लाग्ने गर्छ ।

सांस्कृतिक रूपमा यो दिन पारिवारिक सम्बन्धलाई प्रगाढ र जीवन्त बनाउने उत्सव हो । जीवित पिता हुने सन्तानहरूले बिहानै स्नान गरी बाबुलाई गोडामा ढोग्ने, टीका–माला लगाइदिने र खिर, फलफूल, मिठाईका साथै मनपर्ने पकवानहरू खुवाएर आशीर्वाद लिन्छन् । विवाहित छोरीहरू माइती पुगेर बाबुलाई मिठा–मिठा परिकार खुवाउँछन् भने टाढा वा विदेशमा रहेका सन्तानले आधुनिक प्रविधिको प्रयोग गरी शुभकामना र आशीर्वाद आदानप्रदान गर्छन् । नेवार समुदायमा ‘हाकुमुस्या’लगायत विशेष परिकार बनाएर पितृस्मरण र बाबुको पूजा गर्ने विशिष्ट परम्परा छ ।

कुशेऔंशी केवल एउटा धार्मिक कर्मकाण्ड मात्र नभएर पुस्तान्तरणबीचको आत्मीय सम्बन्ध जोड्ने बलियो सेतु हो । आधुनिकता, व्यस्त जीवनशैली र भौतिकतासँगै एकाकी बन्दै गएको आजको समाजमा यस पर्वले आफ्नो जरा, मौलिक संस्कृति र वरिष्ठ नागरिकप्रतिको उत्तरदायित्व सम्झाउँछ । यसले परिवारभित्र आत्मीयता र ज्येष्ठ सदस्यहरूप्रति आदरभाव बढाउँछ । संयोगवश नेपाली साहित्यका युगपुरुष माध्यमिक कालका नायक कवि मोतीराम भट्टको जन्म र निधन पनि यसै तिथिमा परेकाले यस दिनको साहित्यिक एवं सांस्कृतिक गरिमा अझ चुलिएको छ ।

संक्षेपमा, कुशेऔंशी पिताप्रतिको अगाध कृतज्ञता, पितृप्रतिको निष्ठा, प्रकृतिको पवित्रता र नेपाली सामूहिकताको एउटा अद्वितीय जीवनदर्शन हो । यसलाई केवल चाडका रूपमा मात्र होइन, आफ्ना अभिभावकप्रतिको सम्मान र दायित्वबोधको पर्वका रूपमा ग्रहण गर्नु नै यसको वास्तविक सार्थकता हो ।

सम्बन्धित खबर