
काठमाडौँ : सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ ।
प्रतिष्ठानको काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभागलेआयोजना गर्ने उक्त कार्यक्रममा ‘कथा डबली–१’ शृंखलाअन्तर्गत काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पर्व ‘इन्द्रजात्रा’ को मिथक र किंवदन्ती सुन्ने यो कार्यक्रम २०८३ असोज ८ गते बिहीबार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना हुनेछ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरको कथा वाचन रहनेछ । मल्लले इन्द्रजात्रासँग जोडिएका शताब्दीऔँ पुराना कथा, मिथक र किंवदन्ती, काठमाडौं सहरको उत्पत्ति अनि यसको सांस्कृतिक वैभवमाथि लिखित रोचक कथा वाचन गर्नेछन् ।
सांस्कृतिक स्मृति थप जीवन्त बनाउन ‘इन्द्रजात्रा : शारदीय पर्व’ कार्यक्रममा परम्परागत नृत्य पनि प्रस्तुत गरिनेछ । सो अवसरमा कलाकारले उपत्यकाको प्रसिद्ध ‘लाखे प्याखं’ (लाखे नाच) र ‘कुमारी नृत्य’ पनि मञ्चन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले बताए । ‘सहर–गाउँका लोपोन्मुख मौखिक इतिहास, लोककथा र सांस्कृतिक सम्पदा जीवन्त राख्न अनि प्रविधि प्रयोग गरी तिनलाई सुरक्षित अर्काइभ गर्न यो शृंखला सञ्चालन गरिएको हो’, उनले भने ।
सांस्कृतिक कथा सुन्ने, अर्काइभ गर्ने शृंखला ‘कथा डबली’ नेपालका विभिन्न सहर, गाउँमा निरन्तर आयोजना हुने प्रतिष्ठानले जनाएको छ ।