२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै, विजेताले पाउनेछन् २ लाखसम्म पुरस्कार

Nada
२०८३ असोज ८ गते १२:५३
Shares
नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै, विजेताले पाउनेछन् २ लाखसम्म पुरस्कार

काठमाडौँ : नेपाली सेनाले ‘लघु चलचित्र प्रतियोगिता-२०८३’ आयोजना गर्ने भएको छ । सेनाले वहन गर्दै आएका विभिन्न भूमिका तथा कार्यसम्पादनलाई समेटेर खुला विषयवस्तु अवधारणा (ओपन थिम कन्सेप्ट) मा आधारित लघु चलचित्र निर्माण गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो ।

ncell

नेपाली सेनाले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा विभिन्न सञ्चारमाध्यम, संघ-संस्था, शैक्षिक संस्था तथा चलचित्रकर्मीहरूले सहभागिता जनाउन सक्नेछन् । चलचित्रको विषयवस्तु नेपाली सेनाले निर्वाह गर्दै आएका भूमिका तथा जिम्मेवारीसँग सम्बन्धित हुनुपर्नेछ ।

प्रतियोगिताका लागि १५ देखि २० मिनेटसम्मको लघु चलचित्र तयार गर्नुपर्नेछ । प्रारम्भिक चरणमा चलचित्रको सारांशसहितको प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सारांशसहितको प्रस्ताव पेस गर्ने अन्तिम मिति २०८३ असोज २१ गते तोकिएको छ । यसअघि तोकिएको मिति संशोधन गरी अन्तिम समय थप गरिएको सेनाले जनाएको छ । सूचनाअनुसार भोटेकोशी नदीमा आएको बाढीबाट परेको प्रभावका कारण सारांशसहितको प्रस्ताव बुझाउने समय थप गरिएको हो ।

प्रारम्भिक छनोटमा परेका चलचित्रका लागि स्टोरी बोर्डसहितको सुटिङ स्क्रिप्ट २०८३ कात्तिक १६ र १७ गते बुझाउनुपर्नेछ । प्रतियोगितामा छनोट भएका स्क्रिप्टलाई मात्रै समावेश गरिने र प्रत्येक चलचित्रका लागि अधिकतम ६० हजार रुपैयाँसम्म निर्माण सहयोग उपलब्ध गराइने सेनाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने चलचित्रले २ लाख रुपैयाँ, द्वितीयले १ लाख ५० हजार रुपैयाँ र तृतीयले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको नतिजा २०८३ चैत महिनामा सार्वजनिक गरिने जनाइएको छ ।

प्रतियोगितासम्बन्धी प्रस्ताव नेपाली सेनाको वेबसाइटमार्फत तथा प्रत्यक्ष रूपमा उपस्थित भएर पनि बुझाउन सकिने व्यवस्था गरिएको छ । इमेलमार्फत प्रस्ताव पठाउन चाहनेले सेनाको सम्बन्धित जनसम्पर्क तथा सूचना निकायमा उपलब्ध गराइएको इमेल ठेगानामार्फत पठाउन सक्नेछन् ।

सेनाले प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थालाई नेपाली सेनाले निर्वाह गर्दै आएका भूमिका, राष्ट्रिय सेवा, विपद् व्यवस्थापन, उद्धार तथा अन्य जिम्मेवारीलाई सिर्जनात्मक ढंगले प्रस्तुत हुने चलचित्र निर्माण गर्न आह्वान गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर