
रौतहट : रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा गाउँ समाज सुधारका लागि स्थानीय जनप्रतिनिधि, समाजसेवी, भद्रभलादमी, स्थानीयवासी तथा सञ्चारकर्मीको बैठकबाट गाउँ समाज सुधार समिति गठन गरिएको छ । समितिले गाउँमा सामाजिक विकृति नियन्त्रण, अनुशासन कायम तथा सभ्य समाज निर्माण गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको छ ।
समितिमा आबद्ध व्यक्तिहरूले चुरोट, खैनीलगायतका नशालु पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाएका छन्। समितिका सदस्यले उक्त निर्णय उल्लंघन गरेमा ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ । त्यस्तै, गाउँमा कसैले गाँजा, चरेस तथा वाटर गनलगायतका नशालु पदार्थ सेवन गरेको पाइएमा पनि जरिवाना गरिने निर्णय भएको छ ।
बैठकले किराना पसलमा रक्सी, गाँजालगायतका नशालु पदार्थ बिक्रीवितरण गरेको पाइएमा खरिदकर्ता र विक्रेता दुवैलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । रक्सी पसल बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णयसमेत गरिएको छ ।