
दोलखा : चाडपर्वको समयमा यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दोलखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोटको सातदोबाटोमा यात्रु सहायता कक्ष स्थापना गरेका छन् । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्ने, यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा यातायातलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रु सहायता कक्ष स्थापनापछि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले यात्रुहरूलाई कार्यक्रमको उद्देश्य र सहायता कक्षबाट उपलब्ध हुने सेवाबारे जानकारी दिए । उनले यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन यात्रुहरूलाई आग्रह गरे । त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख रोहित हुमागाईंले पनि चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र सुरक्षित यात्राको महत्वबारे जानकारी गराए ।
सहायता कक्षमार्फत यात्रुले यात्राका क्रममा भोगेका समस्या, सार्वजनिक यातायातमा हुन सक्ने अनियमितता तथा अन्य गुनासो सम्बन्धित निकायसमक्ष राख्न सक्नेछन् । चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन प्रहरी तथा ट्राफिक प्रहरीले यस्तो व्यवस्था गरेका हुन् ।