२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

सरकारी कर्मचारीलाई एआई तालिम

Nada
सूर्यप्रसाद भुसाल
२०८३ असोज २४ गते २०:४९
Shares
सरकारी कर्मचारीलाई एआई तालिम

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले सरकारी सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कर्मचारीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी दुईदिने तालिम सुरु गरेको छ ।

ncell

शनिबारदेखि सुरु भएको तालिममा नगरपालिकाका कर्मचारी, वडा सचिव, वडा प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको छ । तालिममा एआई प्रविधिको प्रयोगमार्फत दैनिक प्रशासनिक कामलाई सहज बनाउने, कार्यसम्पादनमा दक्षता बढाउने र नागरिकलाई प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइनेछ ।

तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रविधिमैत्री नगरपालिका निर्माणका लागि कर्मचारी तथा जनप्रतिनिधिले कृत्रिम बुद्धिमत्ताको सही र जिम्मेवार प्रयोग गर्न आवश्यक रहेको बताए ।

उनले एआईको उचित प्रयोगले सरकारी कामकाजलाई सहज बनाउनुका साथै सेवा प्रवाहमा लाग्ने समय घटाउन र विकास निर्माणका कामलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।

‘एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई सही ढंगले प्रयोग गर्न सकियो भने यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ । त्यसैले कर्मचारी तथा जनप्रतिनिधिले यसको प्रयोगबारे ज्ञान हासिल गरी व्यवहारमा उतार्न जरुरी छ,’ नगरप्रमुख श्रेष्ठले भने । 

सन्धिखर्क नगरपालिका नवप्रवर्तन र प्रविधिको उपयोगमार्फत सेवा प्रवाह सुधार गर्ने दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने डिजिटल नगरपालिका निर्माणमा जोड दिए । बदलिँदो प्रविधिअनुसार स्थानीय तहको कार्यशैलीसमेत परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले एआईको परिचय, व्यावहारिक प्रयोग, सरकारी सेवामा यसको उपयोग तथा डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा तालिम केन्द्रित रहेको बताए ।

उनका अनुसार कर्मचारीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई दैनिक कार्यसम्पादनमा उपयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । एआईको प्रयोगबाट सूचना तथा सामग्री तयार गर्न, तथ्य तथा विवरण व्यवस्थित गर्न र प्रशासनिक कामलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत हरिश्चन्द्र भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खनालले गरेका थिए ।

तालिममा आईटी इन्जिनियर विशाल महत र प्रशिक्षक डा. भोजराज घिमिरेले प्रशिक्षण तथा सहजीकरण गरेका छन् ।

स्थानीय तहमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धि गर्नु र प्रविधिलाई नागरिकमैत्री सेवा प्रवाहसँग जोड्नु तालिमको प्रमुख उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।

तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सकेमा प्रशासनिक कामलाई सहज बनाउने, समयको बचत गर्ने र नागरिकलाई उपलब्ध गराइने सार्वजनिक सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर