
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले बिहीबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने नीति लिएका थिए । प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमणका लागि निम्तो दिन आउन खोजेका विदेशमन्त्री मिश्रीसँग प्रोटोकल देखाएर भेट्न नचाहेपछि उनको भ्रमण नै स्थगित भएको थियो । त्यसपछि भारतले प्रधानमन्त्रीको भ्रमण रोकेर रास्वपा सभापति रवि लामिछानेलाई रातो कार्पेटमा स्वागत गरेको थियो ।
सचिवालयको सुझावसँगै चार महिनापछि प्रधानमन्त्रीले राजदूतलगायत विदेशी कूटनीतिज्ञसँग भेट्न थालेका थिए । गत साउनमा उनले पहिलोपटक नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । त्यसको केही दिनमै मंगलबार नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग समेत भेटेका थिए ।
विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हटेका शाहले बिहीबार भारतीय विदेश सचिव मिश्रीसँग भेट गरेका हुन् । भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेनलाई निम्तो दिन आएका मिश्रीलाई प्रधानमन्त्रीले भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फस्र्ट रेस्पोन्डर’का रूपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए ।
उनी दुईदिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेशसचिव मिश्रीले बुधबार नै परराष्ट्रसचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए । भ्रमणका क्रममा विदेशसचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
नयाँदिल्ली जानुअघि विदेशसचिव मिश्रीले बिहीबार सत्तारूढ दल रास्वपा सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग समेत भेट गरेका छन् । मिश्रीलाई भेट्न थापा द्वारिकाज होटल पुगेका थिए । ती भेटमा नेपाल–भारत सम्बन्धसँगै आपसी हितबारे छलफल भएका थिए । मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी भइरहेको पनि जनाएका छन् ।