
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) द्वारा आज यहाँ आयोजित ‘ब्रान्ड नेपालः नेसनल एसेट, ग्लोबल न्यारेटिभ्स र स्ट्राटेजिक अपरच्युनिटिज’ विषयक परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठालाई देशको विकास आकांक्षा तथा परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्तिका रूपमा व्याख्या गरे ।
“राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र अन्तर्राष्ट्रियजगत्मा देशको स्थान निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकांक्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो,” उनले भने ।
परराष्ट्रमन्त्री खनालले नेपालको विश्वव्यापी पहिचान हिमाल, लुम्बिनी र समृद्ध सांस्कृतिक सम्पदासँग जोडिएको उल्लेख गर्दै नेपालको पहिचान यी स्थापित परिचयमा मात्र सीमित नरहेको बताए । काठमाडौं उपत्यकाको परम्परागत हस्तकला, हिमाली समुदायका बुनाइ परम्परा, थारू समुदायका कला तथा पर्यावरणसम्बन्धी ज्ञान, मैथिली, भोजपुरीलगायत भाषाका साहित्यिक अभिव्यक्ति तथा पूर्वी पहाडका किरात परम्परा नेपालको सामूहिक पहिचानका महत्वपूर्ण आधार रहेको उनको भनाइ थियो ।
नेपाली समुदायको उद्यमशीलता, कलाकारको सिर्जनशीलता, युवा नवप्रवर्तकका उपलब्धि र विश्वभर रहेका नेपाली पेसाकर्मीको योगदानले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप समृद्ध बनाएको परराष्ट्रमन्त्री खनालले बताए ।
“हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ स्पष्ट रूपमा प्रस्तुत गर्न चाहन्छौं । आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पुर्याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ,” उनले भने ।
परराष्ट्रमन्त्री खनालले ब्रान्ड नेपालको प्रवद्र्धनका लागि तीनवटा प्राथमिकतामा जोड दिए । पहिलो, नेपालको विविध राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र मूल्य अभिवृद्धि गर्ने, दोस्रो, सार्वजनिक कूटनीतिमार्फत नेपालको व्यापक र प्रभावकारी राष्ट्रिय पहिचान निर्माण गर्ने तथा तेस्रो, राष्ट्रिय पहिचानलाई उदीयमान रणनीतिक अवसरसँग जोड्नु आवश्यक रहेको उनले बताए ।