
भर्जिनिया, ५ नोभेम्बर । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोग लागेका उनका पति नरेश भट्टले अदालतमा बिहीबार दिएको बयानमा ममताले आत्महत्या गरेको दाबी गरेका छन्। उनले ममताको मृत्यु भएपछि शव लुकाउने र टुक्र्याउने काम आफूले गरेको पनि स्वीकार गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम एनबीसी वासिङ्टनका अनुसार नरेशले सन् २०२४ जुलाई ३० को मध्यरातमा घरको शयनकक्षमा ममता अचेत अवस्थामा भेटिएको बताएका छन्। उनका अनुसार ममताको शरीर र भुइँमा बान्ता थियो भने नजिकै औषधि र विषादी पनि देखिएका थिए।
नरेशले ममताको अवस्था देखेपछि आफूले बचाउने प्रयास गरेको दाबी गरेका छन्। तर त्यसपछि प्रहरीलाई खबर गर्नुको सट्टा शव लुकाउने निर्णय गरेको उनको भनाइ छ।
अदालतमा वकिलले त्यसपछि के गर्नुभयो भनेर सोध्दा उनले शव बाहिरको फोहोर फाल्ने कन्टेनरमा राख्ने प्रयास गरेको जवाफ दिएका थिए।
उनले शवलाई पोटोम्याक नदीतर्फ लैजाने र आराले टुक्र्याउने काम गरेको पनि बयानमा स्वीकारेका छन्। ममताको शव अहिलेसम्म फेला परेको छैन।
नरेशको यो बयानले मुद्दामा नयाँ मोड ल्याएको छ। ममता बेपत्ता भएपछि उनले प्रहरीलाई आफूलाई उनको अवस्थाबारे केही थाहा नभएको बताएका थिए। ममता घर छाडेर गएको हुन सक्ने उनको त्यसबेलाको दाबी थियो।
अभियोजन पक्षले भने ममताको हत्या भएको दाबी गर्दै घरको बेडरुम र बाथरुममा भेटिएको रगत, डीएनए, आरामा भेटिएका प्रमाण तथा डिजिटल अभिलेखलाई आधार बनाएको छ।
नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग छ। उनले हत्या गरेको आरोप अस्वीकार गर्दै आएका छन्। बिहीबारको बयानमा उनले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका हुन्। अभियोजन पक्षले उनको बयानमाथि जिरह गर्न बाँकी रहेको छ।