
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आइतबार दुबो रोपिएको छ ।
महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताइन् ।
उनकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । कांग्रेसजस्तो ठुलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उनको भनाइ छ ।
उनले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गर्दा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिइन् । कुनैपनि स्थान प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उनको भनाइ छ ।
खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेको स्थानमा दुबो रोपेर त्यसको प्राकृतिक सुन्दरता पुनः कायम गर्ने प्रयास गरिएको उनले बताइन् । रोपिएको दुबो प्राकृतिक रूपमा पनि फैलिँदै जाने उल्लेख गर्दै गौतमले केही समय त्यसको नियमित हेरचाह र संरक्षणसमेत गरिने जानकारी दिइन् ।