काठमाडौं : वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुबै सुरक्षित रहेको बताएको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो ।
संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए ।
उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन,मौसम, प्राविधिक पक्ष, व्यवस्थापन,नियमन र मानवीय गल्ती लगायतको कुनैपनि कारण हुनसक्ने बताए । उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गरे । उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पुर्याउन आवश्यक रहेको बताए ।
अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरू ल्याउन जरुरी रहेको औंल्याए । उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्याएको उल्लेख गरे ।
अध्यक्ष थापाले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्ड्यन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताए । उनले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाई सेवा पुर्याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे ।
उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाडौंभन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताए । अध्यक्ष थापाले काठमाडौं विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलहरुमा पार्किङकका लागि प्राप्त पूर्वाधारहरु नभएको बताए ।
कार्यक्रममा बोल्दै संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरूको समेत सहकार्यमा ल्याएको बताए । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मदत पुग्ने बताए । उनले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पारे । उनले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies