२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्ड

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ २८ गते ०६:५०
नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका हुन् । भारतीय नेताहरुसँग औपचारिक संवाद गर्ने लगायतका कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरे । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले आइतबार साँझ प्रधानमन्त्री पदको शपथ लिएका छन् । 

शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको  नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटमा दुई देशको समसामयिक विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग बनाएपछि भारतले चित्त दुखाएको कतिपयको टिप्पणी छ । कूटनीतिक मामिलाका जानकारहरु भारतको चाहना विपरीत गठबन्धन हुनुमा भारतले नेपालको राजनीतिमा चीनको प्रभाव बढेको अर्थमा बुझ्न थालेको बताउँछन् । 

भारतले वर्तमान सत्ता गठबन्धनलाई नरुचाएको प्रधानमन्त्री प्रचण्डले पनि महसुस गरेको र आपसी सम्बन्धलाई सुधार गर्ने मौकाको रुपमा यो भ्रमणलाई उपयोग गर्न सक्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ । 

तर प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटा यदि भारत पक्षलाई कुनै आशंका भएमा अहिलेको भ्रमणले स्पष्ट पार्ने बताउँछन् । उनले प्रधानमन्त्री प्रचण्डले यसअघि गरेको भारत भ्रमणका क्रममा भएको सम्झौताका कार्यान्वयन लगायतको विषयमा पनि भारतका प्रधानमन्त्री मोदीसँग कुराकानी गर्ने बताए ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो दोस्रो भारत भ्रमण हो । एक वर्षअघि जेठ १७ गतेदेखि उनले भारत भ्रमण गरेका थिए । त्यतिबेला प्रचण्ड माओवादी र कांग्रेससहितको गठबन्धन सरकारको प्रधानमन्त्री थिए । अहिले अवस्था फेरिएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका हुन् ।

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डका साथमा उनका स्वकीय सचिव गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनेछन् । 

भारत जानु अगाडि प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी होस् भनेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणबाट दुईदेशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुने निर्णय गरेको थियो । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै छिमेक पहिले नीति ल्याएका थिए । सोही विदश नीतिअनुसार मोदीले दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई शपतग्रहण समारोहमा निमन्त्रणा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत संवाद गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise