२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अर्घा भगवती विमास्थलको लगानी बालुवामा पानी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ८ गते २१:३५
अर्घा भगवती विमास्थलको लगानी बालुवामा पानी

अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम नजिक निर्माणाधीन अर्घा भगवती विमानस्थल बजेट अभावका कारण  अलपत्र परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० शिखरबार्नीमा २०७३ असार १३ गते भव्यरुपमा शिलान्यास गरिएको विमानस्थलमा अहिले बजेट नपरेको कारण अलपत्र परेको छ ।

निर्माणाधीन विमानस्थल क्रिकेट खेल्ने र बिहानी अभ्यास गर्ने स्थानको रुपमा परिणत भएको छ । निर्माण प्रक्रिया अगाडि बढेको विमानस्थलमा बजेट नपरेपछि अर्घाखाँचीबासी निराश भएका छन् भने खर्चभएको धनराशी बालुवामा पानी जस्तै हुने देखिएको छ । 

शिल्यान्यास भएको आठ वर्षमा धावनमार्ग सम्याउने विमानस्थलका लागि आवश्यक पर्ने जग्गा कटिङ गर्ने काम सम्पन्न भएको छ । पार्किङ लगायतका संरचना निर्माण र ग्राभेल तथा पिच (कालोपत्रे) को काम भने बाँकी छ । ६० प्रतिशत काम सम्पन्न भएपनि हाल निर्माण कार्य बन्द रहेकोले निर्माण गर्न लागेको विमानस्थल अहिले जिर्ण अवस्थामा पुगेको देखिन्छ ।

विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपैयाँ खर्च भएको बताइएको छ । पहिलो टेन्डरमा पाँच करोड ५० लाख, दोस्रो टेन्डरमा चार करोड, तेस्रोमा छ करोड ५० लाख र चौथो टेन्डरमा चार करोड ८० लाख रुपैयाँमा काम सम्पन्न भएको र हाल आठ सय मिटर लम्बाइको धावनमार्ग तयार गरिएको निर्माण व्यवसायी कविराम खनालले बताए ।

राष्ट्रिय वनको जग्गामा निर्माण भइरहेको विमानस्थल सम्पन्न गर्न अब थप ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेपनि २०७६ सालबाट विमानस्थल निर्माणको काम शुरु भएको थियो । वातावरणीय प्रभाव मूल्यांकन तथा विमानस्थलको प्रभावकारिताका विषयलाई लिएर मुद्दा परेको थियो । तर, अहिले उक्त मुद्दा छिनोफानो भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हाल वर्षातको समय भएको र पर्याप्त बजेट नभएकाले काम अघि नबढेको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले मध्यान्हलाई बताए ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कलाई कालोपत्रे सडकले जोडेको छ ।  अर्घाखाँचीका सबै ठाउँहरुका सडकहरु कालोपत्रे हुने अवस्थामा पनि छन । कुनै आपतकालीन समयमा संघीय राजधानी काठमाडौं पुग्न परेमा अर्घाखाँचीबासीलाई सन्धिखर्कबाट ४ घन्टा लगाएर  रुपन्देहीको भैरहवा विमानस्थल सम्म पुग्नुपर्छ । हवाईजहाज चढ्न भैरहवासम्म पुग्नुपर्ने बाध्यता हटाउन सो विमानस्थलको निर्माण कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । धार्मिक पर्यटनका हिसाबले पनि अर्घाखाँची आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएकोले पनि विमानस्थल अनिवार्य आवश्यकता भएको बताइएको छ । तर, विमानस्थल निर्माण कार्यले गति लिन नसक्दा विमानस्थल निर्माण हुनेमा धेरैले शंका गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise