२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बाँझो रहेका जमिनमा वृक्षारोपण गर्न जरुरी : उपराष्ट्रपति यादव

ADV
इसत्याक अहमद
२०८१ जेठ २८ गते १७:०१
बाँझो रहेका जमिनमा वृक्षारोपण गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले खेर गइरहेका निजी/आवादी बाँझो जमिनमा वृक्षारोपण गर्न जरुरी रहेको बताएका छन् । 

काठमाडौंमा सोमबार पारिवारिक निजी वनबारे राष्ट्रिय कार्यशाला एवम् पारिवारिक निजी वन संघ, नेपाल (एएफएफओएन)को तेस्रो राष्ट्रिय महाअधिवेशनको समुद्घाटन गर्दै उपराष्ट्रपति यादवले बाँझो जमिनमा छिटो छरितो बढ्ने विरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न कार्ययोजनासहित रोडम्यापका साथ अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘बढ्दो बसाइँसराइ, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नु पर्छ ।’ 

उपराष्ट्रपति यादवले वन तथा वातावरण संरक्षणमा सफल सक्रियता निर्वाह गरिसकेकाहरुलाई अग्रपंक्तिमा राखेर उनीहरुले यो क्षेत्रमा अंगालेका अनुभव साटासाट र सिकाइ–उपलब्धिहरुलाई सरोकारवालासमक्ष पुर्‍याउन सके निजी वनले वातावरणमा पुर्‍याउँदै आएको योगदान थप फराकिलो र व्यापक हुन सक्नेसमेत बताए ।

‘जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा निजी वनले पुर्‍याएको योगदानको समीक्षा र मूल्यांकन सबै पक्षबाट हुनु नितान्त जरुरी छ,’ उनले भने, ‘यसले निजी वनको महत्व, उपादेयता, आवश्यकता र सान्दर्भिकताको औचित्यलाई पुष्टि गर्नमा सहयोग पुग्न सक्छ ।’  

उनले साझा धारणा, मुद्दा र अभियानका साथ अघि बढनेहरुबाटै देशको विकास, उन्नति, प्रगति र उन्नयन हुने उल्लेख गर्दै सबै क्षेत्र र भूगोलको निजी, आवादी जमीनमा कृषि वन तथा निजी वनको विस्तार र प्रवर्द्धन गरी वन पैदावरमा आत्मनिर्भर बनाउने, उद्यमशीलताको विकास गरी आर्थिक समृद्धिमा सहयोग पुग्ने कार्ययोजनाका साथ अघि बढ्ने प्रण र अठोट गर्न पनि आवश्यक रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise