२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तिजको अवसरमा कैदी महिलालाई चुरा, पोते र सिन्दुर

ADV
पिन्टु यादव
२०८१ भदौ १८ गते २१:५१
तिजको अवसरमा कैदी महिलालाई चुरा, पोते र सिन्दुर

राजविराज : माइती आँगनको खुला चौरमा स्वतन्त्ररुपमा आफ्नो मनका पीडाहरु र  भोगेका बेदनालाई गीत–नृत्यमार्फत व्यक्त गर्दै संघर्षको प्रतिकका रुपमा मनाइने हरितालिका तिजको अवसरमा राजविराजका महिलाहरुले जेल जीवन बताइरहेका कैदी महिलाहरुसँग खुशियाली बाँडेका छन् ।

मंगलबार उनीहरूले राजविराजस्थित उक्त कारागारमा रहेका १४  कैदी महिलाहरूलाई यस पर्वको अवसरमा चुरा, टीका, सिन्दुर, पोते, मिठाइ, फलफूल र फ्रुटी वितरण गरेका छन् । 

त्यहाँस्थित कैदी जीवन बिताइरहेका महिलाहरुलाई  हरितालिका तिज मूल समारोह समितिले उक्त सामग्री वितरण गर्दै खुशियाली बाँडेका हुन् । 

यस पर्वको अवसरमा मूल समारोह समितिले प्रत्येक वर्षझैं यस वर्ष पनि उक्त सामग्रीहरु वितरण गरिएको समितिको सदस्य पुनम पोखरेलले जानकारी दिइन् ।

कैदी जीवन बिताइरहेका महिलाहरुमा पनि खुशी छाओस् भन्ने उद्देश्यले तिजको अवसरमा मूल समारोह समितिले प्रत्येक वर्ष कारागारमा रहेका कैदी महिलाहरुलाई तिज मनाउन ती सामग्रीहरु वितरण गर्दै आएका छन् । 

यस वर्ष पनि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इशरत परविनको प्रमुख आतिथ्यतामा  कैदी महिलालाई तिजको अवसरमा उक्त सामग्री वितरण गरिएको हो । 

त्यसक्रममा नगर उपप्रमुख ईशरत परविनले कैदी महिलाहरुलाई मनमा दुःख नराखी तिज पर्वमा रमाउन आग्रह गरेकी छिन् । उनले तिज पर्व सबै महिलाहरुको साझा पर्व भएकाले खुशीका साथ मनाउनुपर्ने बताइन् । उनले कैदी महिलाहरुलाई छिट्टै कारागार जीवनबाट मुक्त हुने कामना समेत गरिन् ।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको सुखद अवसरमा परिवारको सुख, शान्ति र सु–स्वास्थ्यको कामना गर्दै आगामी भदौ २१ गते शुक्रबार राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा हुन गइरहेको हरितालिका तिज महोत्सव कार्यक्रममा मूल समारोह समितिका संयोजक मनु खनालले सबैलाई आमन्त्रण गरेकी छिन् । उनका अनुसार समाजमा यसलाई उत्प्रेरणा र सिर्जनशीलताको संस्कृतिका रुपमा बनाउँदै लैजान चाहेको बताइन् । उनले सामाजिक, सांस्कृतिक, शास्त्रीय पक्षको संरक्षण गर्दै मनाउन लागिएको तिज महोत्सवका लागि यथोचित सहयोग, सल्लाह, सुझाव प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

मुल समारोह समितिले तिज पर्वको ऐतिहासिक महत्वलाई बुझेर धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन नदिन विगत एक दशकभन्दा लामो समयदेखि एकता र संस्कृतिको संरक्षण गर्दै प्रतियोगितात्मक गीत–नृत्यका साथ तिज महोत्सव पर्व मनाउँदै आएका  छन् ।

राजविराज नगर उपप्रमुख परविनको प्रमुख आतिथ्यतामा वितरण गरिएको सामग्रीमा नगर कार्यपालिका सदस्य सोनी रजक र मन्जु खड्काको उपस्थिति रहेको थियो । यसैगरी मूल समारोह समितिको संयोजक मनु खनाल,सदस्यहरु अनिता देवकोटा,पुनम पोखरेल,गीता पाण्डे र मौसमी झा लगायतको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise