२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

चाँगु अर्थात् चम्पक नारायण

ADV
२०८१ भदौ २२ गते ०६:३०
चाँगु अर्थात् चम्पक नारायण

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

नेपालको इतिहास गौरव गर्न लायक छ । विश्व सम्पदा सूचीमा रहेको चाँगु अर्थात् चम्पक नारायणको विशेष चर्चा गर्ने यो आलेखको आशय छ । नेपाल माहात्म्य हिमवत्खण्ड अध्याय ८७ मा यस्तो उल्लेख छ ।

मणिमत्याँ च यो धीरः स्नात्वा भक्तियुतो मुने । दोलाद्रिँ च समारुह्य पश्यति गरुडध्वजम् ।।
सर्व पापैविनिर्मुक्तः परिवारै समन्वितः । सूर्यप्रतिमयानस्थो गच्छति वैष्णवंपदम् ।।

नेपालको गौरव झल्कने सगरमाथालाई शास्त्रले व्योमकूट भनिएझैं काठमाडौं पूर्व मनोहरा नदीमाथि रहेको अग्लो डाँडोलाई दोलाद्री अर्थात् दोलागिरी भनिन्छ । कागेश्वरी नदी र मनोहरा नदीका नामले उपयत्काको पूर्वीक्षेत्रलाई कागेश्वरी मनोहरा नगरपालिका नाम दिइएको छ भने त्यस पूर्वतिर ऐतिहासिक साँखु झल्कने गरी शंखरापुर नगरपालिका नाम दिइएको छ । साँखु, चाँगु गर्दै कार्तिक शुक्ल नवमीमा चाँगु नारायणमा विशेष मेला लाग्छ र एकादशी अनि चतुर्मासमा विशेष मेला लाग्ने गरेको छ । काठमाडौं उपत्यका चारै नारायणबाट संरक्षित भएको र पहिलो नारायण चप्पक, दोस्रो ललितपुरको विशंखु र तेस्रो फर्पिङ्गका शेषनारायण र पश्चिममा स्वयम्भू पछाडिका इचँगु नारायण हुन् । नारायणको पाँचौँ नारायणलाई उत्तर शिवपुरी फेदमा बूढानीलकण्ठ नारायण सुकला छन् भने शिव शैव जे भने पनि संसारको शिरभाग स्वयम् उदय भएको पशुपति ज्योतिर्लिँग सबै क्षेत्रको शीर भाग हो । संसारमा पञ्चमुखी शिवको ज्योतिर्लिँग अन्यत्र कतै छैन ।

सत्य त्रेता, द्धापरदेखि नेपालले फरक नामले अस्तित्व पाउँदै आएकोमा आजभन्दा सवा पाँच हजार वर्ष अघिदेखिको नाम नेपाल रहेको र संस्कृत शब्द न्यायेन पाल्यते इति नयपाल अर्थात् जुन ठाउँमा न्याय र सुशासनद्वारा जनता पालिएका हुन्छन्, त्यहाँको नाम नयपाल भएको र शब्द अपभ्रंश हँुदै नेपाल रहेको हो । ने मुनिले विरूपाक्षलाई पापमोचन गर्दै सिन्धुलीको दुम्जा कुशेश्वर हुँदै ६४ ज्योतिर्लिँग दर्शन गराउने क्रममा हालको १० जिल्लामा रहेका सबै ज्योतिर्लिँगको दर्शनपश्चात् पशुपति कैलाशमुनि रहेको रुद्रगारेश्वरको दर्शन गराएर वाग्मती आर्यघाटमा विरूपाक्षको शिला राखिएको र त्यहाँ अर्धकदको विरूपाक्ष शिला हालसम्म देखिएको छ । ६४ लिँगमध्ये ३७ औँ लिंग कीलेश्वर ज्योतिर्लिँग चाँगु नारायण परिसर नैऋत्य भागमा सो को मन्दिर रहेको छ ।

नेपालको पछिल्लो इतिहास गोपालराज बंशावलीबाट लिपिबद्ध हुन्छ । लिच्छवी काललाई स्वर्णयुग मानिएको छ, जतिबेला प्रस्तर, मूर्तिहरू धेरै बनेका देखिन्छन् र त्यसबेलाका शासकहरू शैव र वैष्णव रहेका थिए । शैवहरूले पशुपतिनाथलगायतका धेरै मठ मन्दिर सजाए भने वैष्णवहरूले चाँगु लगायत धेरै मठ मन्दिर सजाए । यसमा मानदेव प्रतापी राजा रहेको कुरा इतिहासले स्पष्ट व्याख्या गरेको छ । चागु नारायण उनैले बनाउन लगाए भनिएको छ भने अंशुवर्माको कैलाशकुट भवन खोजीको विषय रहेको छ । धेरैले हालको विशालनगर भन्ने गरेका छन् । वि सं १७५० मा चाँगु, यो मन्दिरको जीर्णोद्धार काठमाडौंका राजा भूपालेन्द्र मल्लले गरे भने त्यसको ठीक एक सय वर्षपछि वि.सं. १८५० मा राजा रणबहादुर शाहले दोलागिरी पर्वतको ६५० रोपनी जग्गाको गुठी लालमोहर सदर गरी चाँगु नारायणको पूजा बन्दोबस्त गरेको देखिन्छ ।

लप्सीको रख धेरै हुँदा मृगस्थलीलाई श्लेष्मान्तक बन भनिएझैं, चाँपका रुख धेरै भएको यो क्षेत्रलाई चम्पक वन भनियो । संस्कृतमा चम्पकको अर्थ चाँप भन्ने हुन्छ भने नेपालको इतिहासमा नेवारहरूको इतिहास प्रसिद्ध रहेकाले नेवारी भाषामा चँ भनेको चाँप र गु भनेको बन भन्ने हुन्छ र चाँगु भन्ने बुुझ्न सकिन्छ । पंक्तिकार यसैक्षेत्रको शोधकर्ता हो, बाल्य जीवनदेखि हालसम्म यसै सेरोफेरोमा रहेको र पछिल्लो समय हालै उसले त्यहाँको अध्ययन अवलोकनमा थप प्रयास गरेको हो । चाँगु नारायण परिसरमा मूल रूपमा तीन प्रसिद्ध मूर्ति, मन्दिरहरू छन् । अत्यन्त विशाल मन्दिर र गरुडको प्रस्तर सहित अनि मन्दिरको मूल दर्शनभाग पश्चिम ढोकामा विशाल सिँहका दुई मूर्तिहरू रहेको चम्पक मन्दिर हो । दोस्रो भनेको कीलेश्वर मन्दिर जो शिव सम्बन्धित छ र देवी महकाली सम्बद्ध छिन्नमस्ता देवीको मन्दिर पनि रहेको छ ।

आदिम युगमा शिजले विष्णुुलाई गरुड नारायणसँगै बस्न अनुरोध गरे दोलागिरी पर्वतमा । सृष्टिको उषाकालमा सर्जक ब्रह्माजीको अंश बंशमा तालजँग असुरको उदय भयो, उसले संसारलाई नै आप्mनो नियन्त्रणमा लिन प्रयास ग¥यो । उसको अन्त्यपछि बाबुकै स्वभाव भएको मुर नामको असुर आयो, उसले स्वर्ग आदि सबैक्षेत्रलाई आप्mनो नियन्त्रणमा लियो । स्वर्गबाट लखेटिएका देवताहरू यसै पर्वतमा आए । देवताहरूलाई बचाउन श्रीविष्णुले मुर दैत्यसँग युद्ध गर्न लागे । ठूलो युद्ध भइरहँदा कैलाशबाट शिवले विष्णुलाई आवा पठाए कि उसको मुत्य तिमीबाट सम्भव छैन, युद्ध बन्द गर भनेर । विष्णुको हार देखेर मुर दैत्यले पर्वतलाई हल्लाउन लाग्दा शिवले आफूू किलो भएर रक्षा गरे । कीलेश्वरको रूपमा श्रीशिव त्यहाँ रहने भए । विष्णु भने शिवको तपमा रहे र उनले आफ्नो शिर चढाई कडा तप गर्न लागे । शिर बिहीन विष्णुको शरीरबाट देवी महशक्तिको उदय भयो र शीर नभएको शरीरबाट उदय भएकी देवीलाई छिन्नमस्ता भनियो जसको मन्दिर हाल पनि दक्षिण परिसरमा रहेको छ । छिन्नमस्तालाई एकादशीको पनि नाम दिइयो, उनै देवीले मुर दैत्यको तेजोवध गरिदिइन् र सबैले त्राण पाए । चैत्र शुक्ल द्धादशीका दिन ने मुनिले विरूपाक्षलाई दर्शन गराए यहाँ र उनको मातृगमनको पापमोचन भयो ।

काठमाडौं उपत्यका देव देवीहरूबाट संरक्षित क्षेत्र हो । यहाँ चार नारायण चारैतिर र चार गणेश पनि चारैतिर रहेका छन् । पूर्वीय धम दर्शन, जीवन सञ्चालनमा अग्रपूजाका अधिकारी श्री गणेश हुन् र पूर्वमा सूर्य विनायक, दक्षिणमा चोभारका कार्यविनायक, जल विनायक, पश्चिममा अशोक विनायक र उत्तरमा चन्द्रविनायक रहेका छन् । देवी शक्ति स्वरूपा पूर्वमा वज्रयोगिनी र सिधा दक्षिणमा फर्पिङ्ग दक्षिणकाली हुन् । दक्षिणकाली, गोरखकाली, मनोकामनादेखि जीउँदो देवी काठमाडौं शहरकी कुमारीको पूजा, जात्रा पर्व अहिले पनि सेना, सरकारी स्तरबाट हुँदै आएको छ, सबैको शिरभाग पशुपति र पूर्वोत्तर भाग आदिम दैवी शक्ति गुह्येश्वरी र शिवकी प्रेमिका गुह्येश्वरीलाई आफ्नै नजिक रहन आग्रह गरेपछि गुह्येश्वरी आर्यघाटमा वत्सलेश्वरीको रूपमा रहेकी छन् । पशुपति दर्शन पूर्व वत्सलाको दर्शन जरुरी हुन्छ र देवीका अन्य रूपहरू वनकाली, भूवनेश्वरी, जयवागेश्वरी र वत्सला पुत्रका रूपमा चावहिलको चन्द्रविनायक रहेका छन् भने आमा छोरा ढोग गराउने क्रममा हरेक वर्ष वत्सला जात्रा मनाउने गरिन्छ । नक्साल भगवती, शोभा भगवती काभ्रेकी चण्डेश्वरी र पलान्चोक देवीलाई दिदी बहिनीका रूपमा हेरिन्छ भने काठमाडौंमा रहेका नौदुर्गाको स्मरण सरकारी स्तरबाटै दशैँमा पूजा दर्शन आदि गर्ने चलन छ ।

पंक्तिकारले नेपालको चारधामको अवधारणा लिएको छ र नेपालको चारधाम र प्रसिद्ध मठ मन्दिर शीर्षकमा धेरै पहिले पुस्तक प्रकाशनमा ल्याएको हो । रुरुक्षेत्र, मुक्तिक्षेत्र, पशुपतिक्षेत्र र बाराहक्षेत्र नेपालका प्राचीन चार धाम हुन् । गोकर्णेश्वर मूर्ति मन्दिर स्वयम् सर्जक ब्रह्माजी निर्मित हो भने तिनैको नामले अहिले गोकर्णेश्वर नगरपालिका रहेको छ र भर्खरै सम्पन्न त्यहाँको नगरसभा उद्घाटन भइरहँदा पूर्वीय दर्शन वैदिक वन्दना गर्छुभन्दा मित्र प्रशासकीय अधिकृतले संविधानले धर्म निरपेक्ष भनेको छ, यसो गर्न नमिल्ला भने, कस्तो अचम्म जुन ठाउँको नाम जसको नामबाट बजेट सन्चालन हुन्छ, त्यसको वन्दना गर्न नहुने संविधान बनाएछन् यहाँ संविधानविद्हरूले । उत्तरतिर बूढानीलकण्ठकै नामले नगरपालिका रहेको छ भने चामुण्डा, गोकर्णेश्वर, अर्घौतेश्वर, भैरवेश्वर, सर्वेश्वर, आशापुरेश्वर, वीरभद्र कुण्ड, रुद्रेश्वर, रामेश्वर लगायतका स्थानीय देव देवी पीठको क्षेत्रलाई समायोजन गरी स्थानीय चारधामको अवधाराणा ल्याएको र साधकहरू बसे रहेका साधना गरेका स्थान नै धाम वा तीर्थ हुने र भारतका चारधामको स्थापनाको श्रेय स्वयम् शिवस्वरूप आद्यगुरु शकराचार्यलाई गएको छ । 

विस्तारै जीवन बलवान हुनबाट रोकिँदै जाने, खल्ती पनि सुक्दै जाने, उमेरले घर नै परदेश हुने अवस्था आउने हुँदा मनभित्र नै देवता देख्नुपर्ने र बूढ्यौलीमा विकल्प भनेको मठ मन्दिर नै हो । देशमा घरभन्दा बढी मन्दिर रहेको कुरा त हामीले बचपनमै पढेका हौँ । हामीसँग यत्रतत्र मठ मन्दिर भएकाले हामीले टाढा देउता खोज्नु पर्ने हुन्न । महाकवि देवकोटाले पनि भनेका थिए देवता आपैmँसँग छन् भनेर । मठ मन्दिरलाई जीवन्त राख्न जरुरी छ, ठेक्कापट्टामा मठ मन्दिरलाई राखियो भने व्यापार वा व्यवसाय हुन्छ, त्यस्तो क्षेत्रमा देवता भएका भए पनि भाग्छन् । शास्त्रले श्रद्धा र विश्वासलाई नै शिव र शक्ति भनेको छ । काठमाडौं मात्रै होइन देशैभरि दैवी शक्ति रहेको छ र तिनको संरक्षणले नै संसारको मन हामी यता आकृष्ट गर्न सक्छौँ । काठमाडौंमै रहेको प्रसिद्ध स्वयम्भु, चारुमती चैत्य अनि विशाल बौद्ध स्तुप अनि लुम्बिनीको विशालता शब्दले वर्णन गर्न कठिन छ । देशले धर्म निरपेक्षको शाब्दिक अर्थ बुझेको छैन र हाम्रो संरक्षण पनि गर्न नजानेको महसुस भइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise