२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चार मुक्तक

Nada
२०८२ असार २१ गते ०६:०५
Shares
चार मुक्तक

–गणेश लोहनी

ncell

१.
कतै अतिवृष्टि कतै अनावृष्टि हुन्छ
एउटै प्रकृतिमा भिन्न दृश्य दृष्टि हुन्छ
अनेकतामा एकता नियम प्रकृतिको
चल्दै गर्छ विनाश कतै कतै सृष्टि हुन्छ ।

२. 
बजारियो दम्भ उता धरती भास्ने चाहनाले
पराईका मानसम्मान सबै तास्ने चाहनाले
बाठो लड्छ तीन बल्ड्याङ उखान सत्य भयो
लाजैको पसारो भो‘ भाले बास्ने चाहनाले।

३. 
भिडेका छन् मध्यपूर्वमा बुद्धिका मोटा मान्छे
चरम स्वार्थ प्रेरित कुटिल मनका खोटा मान्छे
युद्धले बीभत्सता र सर्वनाश ल्याउँछ थाहा छ
मर्न मार्नमा उद्यत छन् मानवतामा छोटा मान्छे ।

४. 
आँखाबाट मुटुमा घुस्छ चाट्छ चुस्छ ठगेर जान्छ
सपनाको भारी बोकाउँछ खुसी सारा लगेर जान्छ
भँगालोझैँ छुट्छन् सँगी घोडासरी भरिन्छन् सन्तति
पानी जस्तै रहेछ माया तलतिर मात्र बगेर जान्छ ।

ताजा खबर

सम्बन्धित खबर