२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाउँपालिका उपाध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ADV
पिन्टु यादव
२०८१ भदौ २४ गते ०६:४०
गाउँपालिका उपाध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सप्तरी : सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती जडानका क्रममा अनियमतिता गरेको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिरहुत गाउँपालिकामा पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन र  सोलार बत्ती जडान कार्यमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा दुई वटा मुद्दामा गरी २० जना उपर भ्रष्टाचार अभियोगमा आरोप पत्र नै दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिमको कसुरजन्य आरोपमा आइतबार तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, दुईजना प्रमुख प्रशासकीय अधिकृत, एक जना लेखा, दुई जना इन्जिनियर, दुई जना वडा अध्यक्ष र उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष गरी २०  जना उपर आरोप पत्रका दायर भएको हो । 

तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे र  प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवसमेत ११ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीहरूलाई ११ लाख १९ हजार ९ सय ४९  रुपैयाँ ३३ पैसा बिगो कायम गरिएको छ । 

यसैगरी, उक्त गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्म सोलार बत्ती जडान सम्बन्धी योजनामा कम काम गरी बढी भुक्तानी दिएको भन्दै तत्कालीन उपाध्यक्ष खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसमेत ९ जना उपर अर्को भ्रष्टाचार अभियोगमा आरोप पत्र दायर भएको छ । जसमा छ लाख पैंतालीस हजार छ सय पैंसठ्ठी रुपैयाँ चार पैसा बिगो कायम गरिएको छ । 

आयोगले उक्त गाउँपालिकाको वडा नम्बर ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापन सम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिमको कसुरजन्य कार्य गरेको आरोप लगाइएको छ ।

तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिको सदस्यहरु दुर्गानन्द यादव, विरेन्द्र कुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीले बास्तविक भए गरेको कार्य भन्दा बढी भएको भनी नभए नगरेका कुरा देखाई भुक्तानीको प्रतिवेदन पेश गरेको भनिएको छ । 

झुट्टा विल भर्पाईको आधारमा भुक्तानीको टिप्पणी र आदेश सदर भई ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ ३३ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिन लगाएको देखिएको अख्तियारले जनाएको छ । 

आर.सी.सी. गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा सम्बर्धन योजना उपभोक्ता समितिको अध्यक्ष शिवनाथ चौधरी, सचिव देव नारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीले आर्थिक वर्ष २०७५/०७६ मा मा वडा नं. ५ मा पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन, सम्बर्धन तथा व्यवस्थापन कार्यको लागि २०७५ साल वैशाख  महिनाको २२ गते गतेदेखि काम सुरु गरेका थिए ।

२०७६ साल जेठ महिनाको ३० गतेसम्म (६८ दिन) मा सम्पन्न गर्ने गरी योजनाको सम्झौता गरी/गराई कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनेर शर्त एवं सम्झौता विपरीत भए गरेको कार्य भन्दा बढी कार्य गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । 

अख्तियारले उक्त गाउँपालिकामा सोलार बत्ती जडान कार्यमा भएको भ्रष्टाचार सम्बन्धमा तिरहुत गाउँपालिका वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको निचोड निकालेको हो । 

वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तिरहुत गाउँपालिका, सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सब–इन्जिनियर जागेश्वर मण्डलले तिरहुत गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यको लागि भएको योजनाको सम्झौता बमोजिम कार्य नगरेको आरोप लगाइएको छ । 

वास्तविक भएको कामको भन्दा बढी ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ ०४ पैसा  भुक्तानी दिन लगाएको अख्तियारले बताएको छ । यसमा संलग्न रहेको भन्दै राम नारायण साह,उग्रानन्द पाठक र जागेश्वर मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise