२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जलवायु परिवर्तनको बढ्दो जोखिम

ADV
२०८१ भदौ २५ गते ०६:२५
जलवायु परिवर्तनको बढ्दो जोखिम

–के.बी. बस्नेत

आज जलवायु परिवर्तन विश्वव्यापी समस्याको रूपमा विद्यमान छ । यसको कारण प्रत्येक वर्ष विश्वभरि नै विभिन्न किसिमका दैवी प्रकोपहरू निरन्तररूपले बढिरहेका छन् । जसबाट खासगरी विकासशील र अति कम विकसित देशहरू निकै नै प्रभावित भएका छन् । वस्तुतः जलवायु परिवर्तन मानव निर्मित एक समस्या हो । जुन एक क्षेत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा फैलिएको छ । जलवायु परिवर्तनको सबैभन्दा बढी नकारात्मक प्रभाव कृषि क्षेत्रमा परेको छ । उक्त परिवर्तनको कारण विश्वमा धेरैजसो देशहरूमा मौसम अनुकूलको कृषकहरूलाई परिवर्तन अनुकूलको तालिम, प्रविधि र आवश्यक सुविधाहरू दिई खेती गर्न प्रोत्साहन नदिएमा भविष्यमा विश्वमा खाद्य संकट बढ्नेछ र भोकमरीको समस्या थपिनेछ । 

जलवायु परिवर्तनको दृष्टिकोणबाट नेपाल विश्वको चौथो जोखिमयुक्त देश हो । उक्त परिवर्तनको कारण यहाँका हिमनदीहरू प्रतिवर्ष ६० मिटरको दरले खुम्चिँदै छन् । यति मात्र नभई यहाँका हिमतालहरू फुटेर बाढी पहिरोहरू बढ्दै जानाले सिमसार क्षेत्रहरू सुक्ने र पुरिने क्रम बढ्दो छ । फलस्वरूप, यहाँका पशुपंक्षीको वासस्थान साँघुरो हुने, क्षय हुने र अन्त्यमा नाश हुने सम्भावना बढेको छ । यसबाट स्थानीय जनताको जनजीवनमा नकारात्मक प्रभाव पर्नु स्वाभाविक हो । यद्यपि, आजसम्म पनि सम्बन्धित पक्षको ध्यान यसतर्फ उपयुक्त किसिमबाट आकृष्ट हुन सकेको छैन ।

जलवायु परिवर्तनबाट यहाँको हिमाली क्षेत्रमा सबैभन्दा बढी नकारात्मक प्रभाव परेको छ । यद्यपि, उक्त परिवर्तनबाट सो क्षेत्रका मानिसहरूको जीवन यापनमा कस्तो प्रभाव परेको छ भन्ने कुराको मूल्याङ्कन आजसम्म पनि गरिएको छैन । त्यसैले, उक्त क्षेत्रका जनताको पीडा थोरै व्यक्तिहरूले मात्र बुझेका छन् । 

हिमाली क्षेत्र बाहेक यहाँका तराई, मध्य तराई, पहाड र मध्य पहाडमा पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव परेको छ । जसबाट जनधनको मात्र नाश नभई कृषि उत्पादनमा समेत ह्रास आएको छ । यही अवस्था विद्यमान रहेमा भविष्यमा भोकमरीको समस्या नबढ्ला भन्न सकिँदैन । 

केही वर्ष यता काठमाडौँ उपत्यकामा पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव परेको छ । विकासको नाममा भित्रिएका विकृतिले यहाँको प्राकृतिक सौन्दर्यमा नकारात्मक प्रभाव परेको छ । पौराणिक तथा ऐतिहासिक सभ्यताको केन्द्र मानिएको यस उपत्यकाको हरियाली नाश हुँदै छ । यसबारे समयमै ध्यान नदिएमा उक्त उपत्यकाको सौन्दर्यमा नकारात्मक प्रभाव नपर्ला भन्न सकिँदैन ।

वस्तुतः जलवायु परिवर्तनले यस धरतीमा रहेका विभिन्न तत्वहरूलाई असर पारिरहेको छ । जसले गर्दा यहाँका वनस्पति तथा सम्पूर्ण जीवित प्राणीहरूको अस्तित्वमा शंका उब्जेको छ । त्यसैले, जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता हो । जसका लागि सर्वप्रथम त स्थानीय निकायहरूको क्षमता अभिवृद्धि गर्नुपर्दछ । त्यसपछि जलवायु परिवर्तनसम्बन्धी कार्यहरू उक्त निकायहरूको रेखदेखमा सञ्चालन गर्नुपर्दछ । योबाहेक जलवायु परिवर्तनका कारण खाद्यान्न, पर्यावरणीय प्रणाली र स्वास्थ्यमा पर्ने सम्भावित खतराहरूबाट बच्न प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुपर्दछ । 

एकातर्फ जलवायु परिवर्तनको सम्बन्धमा लक्षित समूहहरूको लागि सही तथ्याङ्क तथा सूचना प्रवाह गर्न आवश्यक छ भने अर्कोतर्फ सञ्चार माध्यमहरूको क्षमता अभिवृद्धि गर्न उत्तिकै जरुरी छ । यसका निम्ति स्थानीय निकायहरूको विषय विज्ञताको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू र नागरिक समाजको सहभागितालाई प्रश्रय दिन उचित देखिन्छ ।

वास्तवमा जलवायु परिवर्तन न्यूनीकरण गर्ने काम सहज छैन । यसका लागि दक्ष जनशक्तिको उत्पादन एवम् परिचालन गर्न आवश्यक छ । जसका लागि आर्थिक स्रोत वृद्धि गर्न जरुरी छ । यसको साथै एकातर्फ जलवायु परिवर्तनलाई औपचारिक तथा अनौपचारिक शिक्षालगायत दूर शिक्षा एवम् खुला सिकाइ कार्यक्रममा समावेश गर्नुपरेको छ भने अर्कोतर्फ जलवायु अनुकूलन तथा न्यूनीकरणसम्बन्धी परम्परागत ज्ञान, सीप र प्रविधिसम्बन्धी सामग्रीहरू सङ्कलन, प्रचार–प्रसार र उपयोग गर्ने कार्य गर्ने र गराउनुपरेको छ । 

जलवायु परिवर्तन र यसबाट परेको प्रभावबारे अध्ययन अनुसन्धान गरी प्रतिकूल प्रभाव वा निर्मूल गर्ने उपायहरूको कार्यान्वयन गर्न क्षेत्रगत तथा विषयगत ज्ञान उपार्जन गर्न एवम् अनुसन्धानबाट प्राप्त तथ्याङ्क सञ्चित गर्दै जलवायुलगायत अन्य प्रारूपहरू तयार पारी अध्ययन अनुसन्धानमा प्रयोग गर्न नितान्तः आवश्यक छ । साथै, जलवायु न्यूनीकरणसम्बन्धी उल्लेखनीय काम गर्ने संस्था तथा व्यक्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाउन चुक्नु हुँदैन । 

केही वर्षयता जलवायु परिवर्तन न्यूनीकरण गर्ने काम सबै देशमा एक गम्भीर समस्या भएको छ । यस सम्बन्धमा नेपाल अछुतो रहन सकेको छैन । यहाँ जलवायु परिवर्तनले पारेको वा पार्ने भौगोलिक तथा विषयगत जोखिम क्षेत्रहरूको पहिचान एवम् प्रभावको अध्ययन गरी प्रभाव न्यूनीकरण गर्ने, उपयुक्त उपायहरूको खोजी गर्ने, जलवायु परिवर्तनका प्रक्रिया तथा प्रभावहरूको पहिचानपश्चात् यहाँको सम्पूर्ण भूभागको प्रतिनिधित्व हुने गरी जलवायु न्यूनीकरण केन्द्रको सञ्जाल विस्तार मात्र नगरी तथ्याङ्क प्राप्त गर्ने प्रणालीको विस्तार गरी प्राप्त तथ्याङ्कको विश्लेषण गरी व्यवहारमा उतार्नुपर्ने देखिन्छ । यो काम यथाशीघ्र गर्न नसकेमा आगामी दिनहरूमा यहाँ जलवायु परिवर्तनको समस्याले विकराल रूप लिनेछ ।

प्रविधिले जलवायु परिवर्तन न्यूनीकरणको लागि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न उपयुक्त प्रविधिको विकास गर्न जरुरी छ । जलवायु परिवर्तनमा हरित ग्यासले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले उक्त ग्यासको उत्सर्जन कम गर्न एकातिर स्वच्छ तथा हरित ऊर्जा दक्षता प्रविधिको विकास गरी प्रयोग गर्न आवश्यक छ भने अर्कोतिर मिथेन ग्यास कम उत्सर्जन गर्ने कृषि प्रविधिको विकास गरी कार्यान्वयन गर्न जरुरी देखिन्छ । 

वन जङ्गलले जलवायु परिवर्तन न्यूनीकरणका निम्ति, महत्वपूर्ण भूमिका खेल्ने हुनाले यसको प्रवर्द्धन तथा सम्वद्धनका लागि विशेष ध्यान दिनु आजको आवश्यकता हो । योबाहेक जलवायु परिवर्तन न्यूनीकरणका लागि समयानुकूल विकास पूर्वाधार एवम् संरचना निर्माणका लागि आवश्यक अनुसन्धानमार्फत उपयुक्त प्रविधिको विकास गरी सोको उपयोग गर्ने जलवायु मैत्री प्राकृतिक स्रोत व्यवस्थापन र वैज्ञानिक भू उपयोग प्रणालीको विकास गरी लागू गर्न उत्तिकै जरुरी छ । 

जलवायु परिवर्तन न्यूनीकरणका लागि एकातिर कृषि वन, चरन क्षेत्र र भूसंरक्षणसम्बन्धी कार्यक्रमहरू प्राथमिकताका साथ लागू गर्न आवश्यक छ भने अर्कोतिर ऊर्जा स्रोतको धुवाँरहित जलविद्युत् उत्पादनका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन गर्न जरुरी छ । यति मात्र होइन, माटो र पानी संरक्षणका लागि पानीका मुहान संरक्षण, वर्षाको पानी सङ्कलन र पर्यावरणीय सरसफाइ जस्ता काम गर्नुको अलावा कार्बन सञ्चितीकरण एवम् डढेलो न्यूनीकरणलाई पनि विशेष जोड दिन आवश्यक छ । यस्ता कामहरू नियमितरूपमा गर्न सकेमा भविष्यमा यहाँ जलवायु परिवर्तन न्यूनीकरणका लागि ठूलो सघाउ पुग्नेछ ।

आज जलवायु परिवर्तन एक गम्भीर विश्वव्यापी समस्याको रूपमा देखापरेको छ । जसको कारण विश्वभर बसाइसराइ तीव्र रूपले बढिरहेको छ । वस्तुतः जलवायु परिवर्तन मानिसले रोक्न सक्दैन । यद्यपि, प्रविधिको प्रयोगबाट यो अनुकूलन गर्न सकिन्छ । नेपाल जलवायु परिवर्तनमा धेरै कम योगदान प्रदान गर्ने देश हो । परन्तु, यो उक्त परिवर्तनबाट धेरै पीडित मुलुकहरूमध्ये एक हो । जलवायु परिवर्तनको कारण यहाँको हिमाली क्षेत्र गम्भीर रूपले प्रभावित छ । जसको कारण यहाँको जनजीवनमा नकारात्मक प्रभाव परेको छ । 

नेपालको हिमाली क्षेत्रमा विद्यमान जलवायु परिवर्तनको नकारात्मक प्रभावबारे केही महिनाअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस आफैँले अवलोकन गरेका थिए । यद्यपि, यस सम्बन्धमा हालसालै सम्पन्न कोपका शृङ्खलाहरूले खासै महत्व दिएको देखिँदैन । यहाँको जलवायु परिवर्तनको रोकथामको सम्बन्धमा भविष्यमा संयुक्त राष्ट्र संघबाट सहयोगको रूपमा केही रकम प्राप्त हुन सक्छ । उक्त रकमको सदुपयोगको लागि उपयुक्त योजना बनाई कार्यान्वयन गर्न आवश्यक छ । छिमेकी राष्ट्रहरू भारत र चीनमा गरिएका विकाससम्बन्धी क्रियाकलापहरूले नेपालको जलवायु परिवर्तनमा नकारात्मक प्रभाव परेको छ । यस सम्बन्धमा यथाशीघ्र बहस गरी सुधारतर्फ उन्मुख हुन जरुरी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise