काठमाडौं : २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा उनले रजत पदक जितेकी थिइन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।
ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा, खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थलमा पुगेका थिए ।