२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

प्रचण्डले लिनुपर्ने निर्णय

ADV
२०८१ असोज ९ गते ०६:२५
प्रचण्डले लिनुपर्ने निर्णय

९ वर्षपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई महिना यता देश दौडाहामा छन् । प्रतिनिधि सभाको अल्पमतमा परेर प्रधानमन्त्रीबाट हटे यता प्रचण्ड मूलतः संगठनात्मक काममा व्यस्त देखिन्छन् । सरकारबाट बाहिरिए लगत्तै पदाधिकारी र स्थायी समिति बैठक राखेका प्रचण्ड केन्द्रीय समिति बैठकको संभावित कार्यसूची बदल्दै देश दौडाहामा निस्किएका हुन् । प्रचण्डले केन्द्रीय समिति सदस्य सहित जिल्ला तहका नेताहरु समेत रहेनगरी प्रदेश स्तरीय बैठकहरु राखिरहेका छन् । आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचार विरोधी निर्णय गरेको, तर त्यही निर्णयका कारण पदमुक्त हुनुपरेको प्रष्टोक्ति दिइरहेका छन् । प्रधानमन्त्रीबाट हटेर प्रमुख प्रतिपक्षी दलका नेता बनेको व्यक्तिले यस्तो प्रष्टोक्ति दिनु अथवा संगठन निर्माणमा केन्द्रीत हुनु स्वभाविक हो । अझ आगामी चुनाव २०८४ मा जनमत पाएर सत्ताको नेतृत्वमा फर्कने उद्घोष गर्नु राजनीतिक निर्णय हो । 

तर अध्यक्ष प्रचण्डको दौडधुप संगठन निर्माणमा मात्र केन्द्रीत देखिन्न । बरु पार्टी सत्तामा रहिरहने अनि राज्य सत्ताको नेतृत्व लिनेगरी चलखेलमा सक्रिय हुने देखिन्छ । लगातार प्रचण्डले दिइरहेको अभिव्यक्तिबाट समेत उनी फेरि सरकार परिवर्तनको खेलमा रहेको प्रष्ट बुझ्न सकिन्छ । माओवादीले सरकारमा नजाने घोषणा गर्न नसक्ने बताउनु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने रणनीति लिनु, विपक्षीहरुको एकता अनि समाजवादी मोर्चालाई सक्रिय बनाउनुले प्रचण्डको ध्यान फेरि सत्तामा रहेको प्रष्ट हुन्छ । तर त्यसका निम्ति पार्टी संसदीय दलको नेता रहिरहनुपर्नेछ । जबकी उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई नेतृत्व छोड्न लिखित प्रस्ताव राखेका छन् । शर्माले चुनौती दिएपछि प्रचण्डले जिल्ला तहका नेताहरुसम्म आफै पुग्ने र पार्टीको अध्यक्ष रहिरहने नीति लिएका छन् । सँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको प्रयासमा छन् । कांग्रेसका संस्थापन इतर नेता डा.शेखर काइरालासँग सम्वाद गरिनु पनि सरकार परिवर्तनको प्रचण्ड चाहनाकै रुपमा बुझ्न सकिन्छ । अर्थात् सरकार बनेको दुई महिना नबित्दै प्रचण्ड अर्को सरकार बनाउने खेलमा छन् । 

जबकी यतिबेला मुलुकका निम्ति राजनीतिक स्थिरता प्रमुख कार्यभार हो । किनकि आमचुनाव–२०७९ को दुई वर्ष नपुग्दै जति सरकार सत्ता समीकरण फेरिए, त्यसबाट नागरिकमा राजनीतिप्रति चरम बितृष्णा छ । संसद्को निकै तलको तेस्रो शक्ति प्रचण्डले कांग्रेस र एमालेलाई पालैपालो उपयोग गर्दै डेढ वर्षभित्रै तीन पटक सत्ता समीकरण फेरेका थिए भने १९ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । संघको सत्ता फेरिए पिच्छे प्रदेशमा मुख्यमन्त्री फेरिने समस्या देखिएको थियो । त्यसैले अहिले राजनीतिक स्थिरता मुख्य दायित्व हो । कांग्रेस र एमालेले पनि स्थिरता नै एजेण्डा रहेको बताइरहेका छन् । यद्यपि उनीहरुको राजनीतिक प्रतिबद्धताप्रति विश्वास गर्ने आधार छैन । यस्तो बेला फेरि प्रचण्डको सत्ता फेर्ने संकेत वा गतिविधि मुलुक र स्वयं माओवादीका निम्ति पनि उचित छैन । प्रमुख प्रतिपक्षमा रहेर अर्को चुनावमार्फत् सत्ताको नेतृत्व लिनु राजनीतिको सहज प्रक्रिया समेत हो । 

ADVADV

सम्बन्धित खबर

Advertise