प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ गतेबाट दोस्रो चरणको जागरण अभियान शुरु गरेको छ । २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नराम्रो गरी पराजय बेहोरेको कांग्रेसले यसअघि वैशाख–जेठ महिनामा पहिलो चरणको जागरण अभियान चलाएको थियो । ७७ जिल्लामा केन्द्रीय कांग्रेसको अभियान जिल्ला स्तरीय जागरण अभियान चलाएको कांग्रेसले फेरि प्रदेशसभा निर्वाचन स्तरीय अभियान ३३० क्षेत्रमा सञ्चालन गर्दैछ ।
अभियानका लागि कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्य, महासमिति सदस्य र जिल्ला तहका नेतालाई समेत क्षेत्र निर्धारण गरेर जागरण अभियानमा खटाएको छ । भदौ २४ बाट शुरु हुने अभियान असोज ७ गते सकिदैछ । जागरण अभियानको समापनलाई भने कांग्रेसले उत्तेजक बनाउने प्रयास गरेको बुझ्न सकिन्छ । किनभने कांग्रेसले त्यस दिन सरकार विरोधी नारा, सभा र विभिन्न कार्यक्रम आयोजना गर्नेछ । त्यसको झल्को भने बाँकेबाट देखिन थालिसकेको छ । बिहीबार बाँके कांग्रेसका जिल्ला सभापति किरण कोइराला सहित १२ दर्जन कार्यकर्तामाथि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले जनाएको छ ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापालाई कांग्रेसका सांसद डिला संग्रौलाले यसबारे ध्यानाकर्षण गराएकी थिइन् । कम्युनिष्टले कांग्रेसलाई कुट्यो भने सामान्यीकरण गर्न खोजिएको भन्दै गृहमन्त्री थापाले त्यसरी प्रस्तुत नहुन र दोषी पक्राउ परिसकेको जानकारी दिएका थिए । एक कदम अगाडि बढेर गृहमन्त्री थापाले बाँकी कोही भएपनि खोजेर कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाएका थिए । तर, भोलिपल्ट शनिबार बिहानै कांग्रेस उपत्यकाका तीन जिल्ला सभापतिहरुले ज्ञापनपत्र बोकेर गृहमन्त्री कहाँ पुगे । कांग्रेसले जागरण अभियान शान्तिपूर्ण हुनुपर्ने माग राखेको छ भने गृहमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।
यसर्थ, बाँके घटनाजस्तो अन्यत्र हुन नदिन दुवै पक्ष सतर्क हुनुपर्छ । अहिलेको नेपालको संविधानको मर्म भनेको शान्तिपूर्ण राजनीति र बहुलदलीय लोकतन्त्र हो । सत्तामा बस्नेले निर्वाचनबाट बाहिरिनुपर्ने र अहिले सडकमा रहनेहरुले सत्ता चलाउनुपर्ने अवस्था आउने हुनसक्छ । शान्तिपूर्ण प्रदर्शन र राजनीतिले समाजलाई गति दिन्छ, संविधानलाई बलियो बनाउँदै समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्छ । तर, हिंसात्मक बाटो रोजेर अवसरको पर्खाई गरियो भने त्यो दीर्घकालीन नहुन सक्छ । जागरण अभियान शान्तिपूर्ण हुनुपर्छ, सरकारले त्यो प्रत्याभूति दिलाउन कुनै कसर बाँकी राख्न हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies