–बिदुरप्रसाद दाहाल
आ; को जान्छ यार क्याम्पस ? क्लास पनि हुँदैन पूरा । खास मान्छे गाउँ गए कि छे फेरि । बोरिङ हुन्छ यार । म जान्न । तर कर गर्यो सुभासले क्याम्पस जान । प्राक्टिकल कामको छलफल गर्नु छ; जाउँ भन्यो । गए उसको लागि क्याम्पस म ।
अत्यन्त मेहनत गरेर प्राक्टिकल काम गर्यो सुभासले । फिल्डमा तथ्याङ्क सङ्कलन गर्न गयौँ हामी । सुभाष, म, रुचि र बनिता । ४ जना । सुभासलाई बनिता र मेरो बारे थाहा थियो । पढ्ने बेला भौँतारिएर नहिँड भन्थ्यो । गाली थ्यार्रे । एक कानले सुनेर अर्को कानले उडाई दिन्थे म उसका कुरा । तथ्याङ्क संकलनभन्दा पनि रमाइलोको लागि उनीसँग घुम्नु मेरो उद्देश्य थ्यो । अरू बेला घुम्न जाँदा पनि हराई दिन्थ्यौ हामी । बनिता संसारकै सुन्दरी लाग्थ्यो मलाई । हुन पनि कम्तीकी राम्री थिइन । उ बिनाको दुनियाँ कल्पनै गर्दैनथे म । रुचि र सुभासलाई आपत् पर्थ्यो रे । दुवै रिसाउँथे हामीसँग ।
तथ्याङ्क संकलनपछि रिपोर्ट बन्यो हाम्रो । काम सबैजसो सुभासले गर्यो । जो पायो त्यहीसँग हेलमेल नगर्ने बानी थियो सुभासको । पढाई भने हाम्रो ग्रुपमा उसैको राम्रो । सरहरूले भने राम्रोसँग चिन्नु हुन्थेन उसलाई । सरकारी क्याम्पसमा त्यस्तै हो । इन्टोभर्ट टाइपको मान्छे थियो उ ।
प्राक्टिकलको भाईवा डेट फिक्स भो । भाईबाको अघिल्लो दिन अचानक सरलाई बाटोमा भेँटे मैले । “सर चिया खाऊँ ?” अनुरोध गरे मैले । “हतार छ” भन्नू भो । कर गरे मैले । मान्नु भो सरले । होटल पस्यौँ नजिकैको ।
कहानी रहेछ सरको पनि । पार्ट टाइममै बित्यो जिन्दगी । १५ वर्षसम्म पार्ट टाइम । सरले भन्नू भो त्यही दिन । नत्र यस्ता कुरा हामी विद्यार्थीलाई के थाहा ? थाहै हुन्न । जिन्दगी पार्ट टाईमै बित्यो भनेर गुनासो गर्नु भो मसँग । बिचरो म बबुरो के गर्न सक्थे र ? सेवा आयोगले नियमित काम गर्न नसक्दा धेरै सरहरूको हालत उस्तै छरे । सर निराश देखिनु भो ।
“सर के खाऊ ? चिया ? चिसो वा अरू केही ?” अन्कनाउनु भो । साँझको बेला थ्यो मैले हातको इसारामा “एक .....” भने । “खानेर ?” भन्नू भो । “आ । सर केहि हुन्न” कर गरे मैले । मेरो जिद्दीमा सर हार खानु भो ।
तान्दे मैले पनि । बेलुकाको सात बज्यो । ल्याङ भएको नाटक गरे तर, ल्याङ थिइन म । प्राइभेट कलेजबाट हो क्यारे फोन आयो । सर कता हो ? आज क्लास हुन्न कि क्या हो ? अनलाइनमा विद्यार्थी कुरी बसेका छन् ।
बोली लरबरियो । बल्ल तल्ल भन्नु भो । “अलि सन्चो भएन ।” फोन गर्नेले थाहा पायो पाएन याद भएन मलाई । बिल तिरेँ मैले । इन्ड्राईभ बोलाए । बल्ल बल्ल पुर्याएँ डेरा । डेरा भने चिन्नु भो । गेटैमा छोड्दे मैले । पसिन भित्र ।
रातै पर्यो । हतार हतार कोठा पुगे म । खानाको चक्कर छोडिदिए । सरलाई साथ दिँदा रमरम थिए म पनि । बेडमा पल्टेको भुसुक्कै ।
भाईवाको डेट थियो भोलिपल्ट । बनिता र मसँगै क्याम्पस पुग्यौँ । तर, बनितासँग तर्किन खोजे त्यो दिन । सास गनाएको थाहा पाई भने गाली गर्छे भन्ने लाग्यो । अलि मापाकी छे त्यो । आम्ने साम्ने नै पुग्न खोजिन । मेरो व्यवहार देखेर अनौठो मानी त्यो दिन । सुभाष र रुचि पनि आएँ । सुभाष बाहेक अरू डराए । के सोध्नु हुने हो ? भन है सुभाष । तिम्रै भर हो । अरू हामी सबै हाउडे तालमा ।
भाईवा हुने कोठामा पुग्यौँ हामी । सरले मतिर हेर्नू भो । रुघा लाग्न लाग्यो भनेर मास्क लाइदे मैले । हाँस्नु भो मुसुक्क सर । अघिल्लो दिनको रसिलो साँझ याद आयो क्या रे ! नमस्कार गरे सबैले । बस्न सङ्केत गर्नु भो सरले । बस्यौँ हामी । सोध्न सुरु गर्नु भो । अन्कनाएँ म । भन्न सकिन । रुचि र बनिताले भन्न खोजे; तर सकेनन् प्रस्ट भन्न । सुभासले भन्यो । उ नै थियो समूहको लिडर ।
बित्दै गयो समय । चार हामी घनिष्ठ साथी बन्यौ । रुचि सुभासलाई मन पराउँछे रे । एक दिन बनिताले भनेकी थिई मलाई । सुभासले भने बालै दिँदैन रे । गुनासो थियो उसको ।
रिजल्ट आयो १२ महिनापछि बल्ल । तीन जना हामी पास । बनितालाई ब्याक लाग्यो । सम्झाएँ मैले धेरै । परीक्षामा फेल भए पनि तिमीसँगै छु म पनि भने । सम्झाएँ उनलाई । झन् बढ्यो घनिष्ठता । प्राक्टिकल नम्बर सबैभन्दा बढी मेरो आयो । सुभाष रिसायो । “दुःख गर्ने र काम गर्ने म । नम्बर तेरो बढी ?” गुनासो गर्यो मसँग । विद्यार्थीले सरहरूलाई धम्क्याएर बढी नम्बर हाल्न लगाएको, कामै नगरी नम्बर हाल्न लगाएको सुनेको थिएँ । म दुवै परिन क्यारे । गमे मनमनै । गुनासो सरसँग पनि गर्यो सुभासले । बाह्य परीक्षकलाई देखाउनु भो दोष । उम्कनु भो । मैले भने होटेलको रसिलो साँझ सम्झे । सुभासलाई भने कहिल्यै भनिन यो कुरा । सबै आत्मा खोल्ने सुभासलाई आजसम्म पनि त्यो कुरा गोप्य राखेँ । गल्ती थियो वा सही ? अहिलेसम्म थाहा भएन ।