२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कुवा सुकेपछि पानीको हाहाकार, डोको र गाग्री बोकेर स्थानीयद्वारा पालिकामा धर्ना

ADV
कुलेन्द्र शाही
२०८१ जेठ ३२ गते १२:०२
कुवा सुकेपछि पानीको हाहाकार, डोको र गाग्री बोकेर स्थानीयद्वारा पालिकामा धर्ना

सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिका घेराउ गरेका छन् । प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि ८० किलोमिटर टाढा पश्चिमको सुर्खेत चौकुने गाउँपालिका–५ रेक्चाबासीहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । बिहीबार दिनभर उनीहरुले चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरे ।

रेक्चाका सबैजसो घरधुरीबाट गाउँपालिकाको मुकाम गुटु आएका नागरिकहरूको पिठ्युँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट थिए । उनीहरूको एउटै प्रश्न थियो, ‘२१औं शताब्दीमा एक गाग्री पानीका लागि कति वर्ष कुर्ने सरकार ?’

रेक्चा पालिकाको मुकाम गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दुरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौंदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ । खानेपानी संघर्ष समितिको नेतृत्व वडाध्यक्ष तुलाराम हिस्की मगर र तपेन्द्र बुढाले गरिरहेका छन् । बुढा वडा सदस्य पनि हुन् । उनीहरुकै नेतृत्वमा यहाँका महिला, केटाकेटीदेखि बुढापाकाहरू बिहीबार बिहानै डोको र गाग्री बोकेर आन्दोलन गर्न पालिकाको मुकाम गुटु आएका हुन् । उनीहरु निरन्तर दिनभर पालिकामै धर्नामा बसेका थिए । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि आफूहरुले पालिका घेराउ गरेको अध्यक्ष मगरले बताए । 

चौकुने गाउँपालिका– ५ मा पर्ने रेक्चामा झण्डै ४५ घरधुरी छन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएको अध्यक्षको भनाइ छ । गाउँमा १० वटा कुवामध्ये ८ वटा पुरै अस्तव्यस्त भइसकेका छन् । बाँकी रहेका दुई वटा कुवामा खडेरीका कारण पानी सुक्यो । यहाँ खानेपानीको योजना बुनिएको छ । तर अहिलेसम्म अधुरो रहेको स्थानीय बताउँछन् । 

‘खानेपानीका लागि जनताले पैसा पनि उठाएका थिए, तर त्यो पैसा कहाँ गयो पत्तो छैन भने उपभोक्ता समितिले पनि खासै ध्यान दिएन,’ वडा सदस्य बुढा भन्छन्, ‘जति नेताहरू आए पनि खानेपानी पुर्‍याउँछौं भन्छन्, तर काम कहिल्यै गर्दैनन् । हामीलाई नेताहरूले ढाँट्ने काम गर्नुभयो । हाम्रो दु:ख उस्तै छन् ।’

कुवामा पानी आएपनि पालो कुरेर बल्लतल्ल एक गाग्री पानी पाउने गरेको स्थानीय बताउँछन् । उनीहरु आफूले मात्रै नभइ पशुले समेत चाहेअनुसार पानी पिउन नपाएको गुनासो गर्छन् । खडेरीको समयबाहेक अन्य दिनमा बढीमा २ गाग्री पानी वितरण हुन्थ्यो । उक्त पानीले खाना पकाउने, पिउने, हातमुख धुने, शौचालयका लागि समेत प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले त्यही पानी पनि सुकेर लेदो भइसकेकाले निकै समस्या भएको बुढाले बताए । पानीको चरम अभाव भएको रेक्चालाई सरकारले कहिल्यै प्राथमिकतामा लिएको छैन । स्थानीय सरकार बनेपछि पनि न पर्याप्त बजेटको व्यवस्था छ न कुनै आयोजनाका लागि प्रदेश र संघले पहल नै थालेको उनले बताए ।

यहाँ केही वर्षअघि प्रदेश सरकारले १ करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना शुरु गरेको थियो । एकातिर आयोजनाका लागि उक्त बजेट पर्याप्त भएन, अर्कोतिर विद्युतको पहुँच नहुँदा अहिले सो आयोजना नै अलपत्र छ । मानव अधिकारवादी संस्थाहरूले यहाँको खानेपानी अभावको विषयलाई लिएर राज्यविरुद्ध मुद्दासमेत दायर गरेका थिए । 

यता गाउँपालिकाका अध्यक्ष खड्ग विक (विवश) सरकारबाट भइरहेको खानेपानी आयोजना सक्सेस नभएकाले त्यो ठाउँका लागि ठूलो रणनीतिक योजना बनाउनुपर्ने बताए । यद्यपि यो ठाउँको दीर्घकालीन समस्या समाधानका लागि भने नयाँ तरिकाले सम्भाव्यता अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise