दोलखा : तामाकोशी पहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटिएको छ । शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाका लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनासहित ४ जना बेपत्ता भएका थिए । जसमध्ये खोजी गर्ने क्रममा आइतबार दिउँसो दुई जनाको शव फेला परेको हो भने अन्य दुई जनाको खोजी कार्य भइरहेको छ ।
हेडवक्र्स क्षेत्रमा लेदोसहितको पहिरो खस्दा संरचनामा पनि ठूलो क्षति पुगेको छ । त्यस्तै शनिबार दिउँसोनै सदरमुकाम चरिकोटमा भुजेल परिवारका तीन जनालाई पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको थियो भने १ जना जीवितै उद्धार गरेको थियो ।
भिमेश्वर नगरपालिका–६ मैदानेमा दिउँसो अविरल वर्षासँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेलसहित उनकी श्रीमती ३६ वर्षीया राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका निरीक्षक शत्रुधन महतोले जानकारी दिए । उनका अनुसार मृतक भुजेलका ३ वर्षीय छोरा युवराज भुजेललाई जीवितै उद्धार गरिएको थियो ।