२०८१ पुष ६ गते शनिवार / Dec 21 , 2024 , Saturday
२०८१ पुष ६ गते शनिवार

जनताका मुद्दाबाट च्युत नेतृत्व

ADV
२०८१ असोज १४ गते ०६:३०
जनताका मुद्दाबाट च्युत नेतृत्व

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

देश प्रायः सबै सुरक्षित हुने गरेका छन्, कारण विश्वयुद्धको महाचपेटाबाट प्रायः सबै देशहरूले मुक्ति पाइसकेका छन् र संयुक्त राष्ट्र संघको आगमन भइसकेको छ । त्यसो त यसको पुरानो नाम लिग अफ नेशन हो र यो हुन्जेल धेरैले असुरक्षित महसुस गरे र दोस्रो महायुद्ध भयो, सकियो, सकिएपछि युएनको आगमनले सबैले सुरक्षित महसुस गरे । तर, पनि पछिल्ला दिनहरूमा शान्तिको झल्को त कमै आएको छ, पछिल्लो उदाहरण रसिया युक्रेन नै छ । यो त बाह्य कारण भयो, देश अझै सुरक्षित हो । श्रीलंका र बङ्गलादेश पनि तर, आन्तरिक रूपमा त्यहाँका नेताहरू असुरक्षित रहे र भागे पनि ।

संघीयता, गणतन्त्र र लोकतन्त्र बोक्ने विश्वकै सर्वाधिक सुरक्षित देश हो अमेरिका, तर यहाँ भन्नैपर्ने भयो, त्यहाँ युनएन बैठकमा भाग लिन पुगेको हाम्रो नेतृत्व असुरक्षित भयो र सिटदेखि ब्यानरसम्म मिलाइसकेको कार्यक्रम रद्द भयो । यसले विश्वमै के मेसेज गयो थाहा छैन तर, संसदका महासचिवदेखि छिमेकी उच्च नेतासँगको हात मिलाइ भने बडो सुन्दर थियो । ठुलासँग फोटो खिचाउने सौभाग्य हाम्रो नेतृत्वले अतीतदेखि नै पाएको हो तर, यहाँका सानातिनाहरूसँग हात मिलाउन हाम्रो नेतृत्वले जानेको छैन । अतः सानातिनाहरूको यहाँ व्यापक निर्यात छ, वस्तुको व्यापक आयात छ र भनौँ विप्रेषणको व्यापक नै आगमन छ । यसो भनौँ आन्तरिक ऋण र बाह्य ऋणले देश थला परेको छ । अझ भनौँ यहाँको नयाँ नेतृत्वसँग सिँगौरी खेल्न बलबुता थपका लागि पनि हाम्रो नेतृत्वले मित्रहरूसँग हात मिलाएर शक्ति प्रदर्शन गर्न जरुरी परेको छ । 

जतिबेला अमेरिकाको कार्यक्रम रद्द हुँदै थियो, यहाँ हाम्रो नेतृत्वमाथि च्यालेन्ज  गर्नेहरूलाई घरमै गएर धरपकड हुँदै थियो र जो प्रहरीको भर्‍याङ नियन्त्रणमा परे उनी भन्दै थिएः जीउमा एक थोपा रगत हुन्जेल म फलानोलाई छोड्दिन । अर्को पनि प्रसङ्ग, पूर्व त्यही सन्ध्यामा नयाँ उदाएको अर्को शक्तिलाई कार्यालयबाटै कर्‍याप–झ्याप पार्ने गरी कार्यालय घेराउ भइरहँदा नयाँ शक्तिको नेतृत्व भने ठुलै स्वरमा हुङ्कार गर्दै थियो र उसलाई लिन गएको प्रहरी रित्तो हात फर्किएको थियो । धेरैले भने, यिनै दुई कारणको साइड इफेक्ट थियो जसबाट हाम्रो नेतृत्व अमेरिकामा असुरक्षित भई तयारी कार्यक्रम रद्द गर्दै थियो ।

लोकतन्त्रको आगमनपछि देशमा सयौँ काण्डहरू उजागर हुँदै गरेका र यो पंक्ति तयार गर्दै गर्दा जीउमा रगत हुन्जेल लड्ने भनिएका अभियन्ता प्रहरी नियन्त्रणमै वीर अस्पताल भर्ना गरिएका छन् । र, अर्का व्यक्तिलाई भने उनलाई नपक्री मलाई किन पक्रेको भन्दै गरेको समाचार प्रसार भइरहेको थियो, भन्ने ती व्यक्ति थिए जीवी, रवि, छवि समूहका र पोखरा लगिएका सहकारीका एक पात्र । देशवासीले थरीथरीका गृहकार्य पाएको धेरै समय भइसकेको छ । अन्य रोजगारी नभएकाले सडक तताउने रोजगारी हाम्रो लोकतन्त्रले भरपुर दिएको छ । सँगै, पछिल्लो समय दुई तिहाइको नेतृत्वले अझ बढी, न्याय वेत्ताहरूले भन्दैछन्, यो दुई तिहाइको स्वरूप महाकाली सन्धिकै हो । नयाँ होइन, इट इज् विन अलरेडि टेष्टेड, एण्ड नो होप् अफ फर्दर प्रोग्रेस फ्रम् दिस भनिँदै छ । 

गृहकार्य पनि कति–कति, नदी किनाराको थप २० मिटरका लागि सबैलाई गृहकार्य छ । सडकमा, थापाथली, बानेश्वरमा त सधैँ गृहकार्य छ, अरू सडकमा पनि छ, सामाजिक सञ्जालमा त अझ बढी छ । अमुक व्यक्तिलाई साइबर अपराध भन्दै नियन्त्रणमा लिइरहँदा झापामा तीन वटा ट्रक जलेको, एक थुनामा परेर फूलमालासहित निस्केका त्यसमा पनि शुभकामनाका जुलुस निकाल्नु परेको, मानौँ गृहकार्य प्रशस्त छ । लोकतन्त्रले दिएको, यत्ति हो कि विद्युतीय कारोबार ऐन त त्यससम्बन्धी कारोबार, वस्तुको क्रय–विक्रय गर्नेलाई पो लगाउनु पर्ने त नेतृत्वलाई ठाडै गाली गर्नेलाई लगाइएको मिल्यो र भनिँदै छ, भनौँ वकिलकै भाषामा पनि हाम्रो यो ऐन गलत रूपमा प्रयोग गरियो, विदेशमा यस्तो गलत व्याख्या हुन्न । यो त अदालतले निर्णय गर्ने कुरा होला तर, अदालतका परमादेशहरूलाई भ्याकेट माग्ने हाम्रो नेतृत्व भने लोकतन्त्रको असुल नमुना बनेको छ । 

पंक्तिकार सात दशक लगभगमा छ र जानेबुझेदेखि उसलाई थाहा छ, कहाँ कुन जग्गा बगर थियो, कुन कहाँ दिउँसै स्याल कराउँथे र झाडीमा एक्लै दुक्लै हिँड्न नसक्ने अझ भनौँ एक कदम अघि बढेर, लास पोल्ने मसान घाटमाथि अहिले आलिसान महल छ । भूत, प्रेत भनिने स्थान, नाग बस्ने बा जलचर अडिन सक्ने अब कुनै स्थान बाँकी छैन, राज्य हाँक्ने अदूरदर्शी नेतृत्वको परिणाम त होला यो । नभए हामीभन्दा विशाल र भीमकाय नदी भएका देशहरूमा बसोबासको व्यवस्था कसरी मिलाइएको होला त, हाम्रा नदी त आकारले कति नै छन् र व्यवस्थापन गर्न चाहने हो भने ठुलो कुरै छैन, हेर्दाहेर्दै काठमाडौँ मरुभूमि भएको अवस्था छ अहिले भनौँ अब यो मृत्युको सहर भइसकेको छ । यसबाट बचाउन प्रयत्न गरिरहेका नयाँ र स्वतन्त्र अमुक पुस्तासँग पुरानो पुस्ताको पानी बाराबार छ र इन्द्रजात्रामा समेत आम्नेसाम्ने नहुने अवस्था रहेको छ । संस्कृति वा धर्मले जोड्ने काम गर्नुपर्ने हो तोड्ने होइन । लोकतन्त्रले जुटाउनेभन्दा काम फुटाउने गरेकाले पनि सुरक्षित देशमा हाम्रो नेतृत्व असुरक्षित भएको हुन सक्छ । 

देशमा सम्बोधन गर्नुपर्ने इस्यूहरू धेरै छन् तर, बाल मन्दिर प्रकरणलाई क्लोज गर्नका लागि र भुटानी शरणार्थी, एनसेल, यति, ओम्नी, वाइडबडी, ललिता निवास, गोकर्ण रिसोर्ट तमाम फाइलहरूलाई चीर निद्रामा राख्नका लागि एकाएक दुई तिहाइको नेतृत्व आएको भनिँदैछ । यो पंक्तिकारले भनेको होइन, सडकमा सबैजसोले यसो भनेको उसले सुनेको छ । देशभित्र उदाएको नयाँ शक्तिसँग हाम्रो पुरानो नेतृत्वको लिँडे ढिपी किन रहिरहेको, किन संवाद नगरेको र सधैँ सडकमा लागेको नारालाई सम्बोधन किन नगरेको, यो यक्ष प्रश्न हो । देशको पुरानो नेतृत्वले अरूलाई जिम्मा दिने बेला भएको अहिले होइन धेरै भइसक्यो र अर्ति उपदेश, वेदान्ती प्रवचनले अब जनता मान्नेवाला छैनन् र ती कर, ऋण, महँगीको मारमा परिसकेका छन् । घर, गोठ खालि भइसकेको छ, आशालाग्दो कतै छैन, सुशासनको नाममा जनताले पाएको असह्य पीडाले त्रस्त छन् ती, बाटोघाटा मात्रै नराम्रा भएका होइनन् अन्य पिडा धेरै छन् । सेवा प्रवाह नाम मात्रको छ, सेवा शुल्क ज्यादै महँगो छ, निजी व्यापारी भनौँ कम्पनीको रूपमा चलेको जस्तो छ देश, पालिकाहरूलाई प्रालि भनेको अवस्था छ आम जनमानसको जिब्रोले । 

दिसा पिसाब गरेको पैसा लाग्छ, फ्रि पार्किङको अभियान लिने महानगर प्रमुखसँग सिङ जुधाएको छ सिंहदरबारले, आफैँ, चलाउँछु धरहरा भनेको अवस्था छ । न्यूरोडमा सिँगौरी खेल्न गएको संघीयता कमलादी र जय नेपालको भ्वाङ्ग टाल्न तम्सँदैन, मेलम्चीका नाममा सधैँ उधारो सपना देखाउँछ हाम्रो नेतृत्व । नैतिकता कता हो कता छ । दिल्लीका मुख्य मन्त्री केजरीवालले दिल्लीलाई हराभरा बनाए, मुद्दा पनि पर्‍यो उनलाई, चुनावभरि अदालतले रिहा गर्न पनि भन्यो, भए पनि, मुद्दा टुङ्गिएर रिहापछि पुन मुख्य मन्त्रीमा गएनन्, अरूलाई पठाए, नैतिकताको आधारमा म बस्दिन भने उनले, जबसम्म चुनावबाट फेरि आउँदिन म पद लिन्न भने । त्यहाँ लोकतन्त्र फलेको छ, फुलेको छ, शासन सत्ता बदलिए पनि स्थायी सरकार निजामती संयन्त्रमा खासै फरक पर्दैन । त्यहीँको नेतृत्वसँग हात मिलाउन हाम्रो नेतृत्व अमेरिका पुगेको छ  । हाम्रो नेतृत्वमा नैतिकता कता छ र निजामती संयन्त्र पूरै नेताहरूको भरिया  बनेको छ, नयाँ नोटमा चुच्चे नक्सा आउला ? पाठ्यक्रममा त देखिएन ।

हाम्रो लोकतन्त्र कसैको पेवा बनेको छ, निजी स्वार्थमा फसेको छ, संविधानका धाराहरू प्रयोगमा आएका छैनन्, शिक्षा र स्वास्थ्यमा संविधानले परिकल्पना गरेको काम हुन सकेको छैन । बिचौलियाहरूको बिगबिगी र सिन्डिकेट हटेको छैन । प्रकृतिको दोहन पनि रोकिएको छैन । स्वच्छ खानेपानी, सर्वसुलभ खाद्यान्नको आपूर्ति भएको छैन । आयातमा निर्भर भएको खाद्यान्नमा नेतृत्वले भन्सार, अन्तःशुल्क भनौँ अप्रत्यक्ष कर धेरै लगाएको छ र प्रत्यक्ष करको मारमा परेका छन् जनता, बस्तुको उत्पादन छैन । धानको उत्पादन बढेको भनियो कृषि मन्त्रालयबाट, यस्तो रेकर्ड दिइरहँदा चामलको मूल्य पनि तीव्र बढ्दैछ । रोजगारी भनौँ आयस्रोतको अभाव भएकाले रोजी रोटीको समस्या छ र जसको आयस्रोत छ एक बच्चाको शिक्षा र स्वास्थ्यमै रकम धान्न नसकेको अवस्था छ र मानिसले बच्चा जन्माउनै छोडे, जनसंख्या वृद्धि दर माइनसतिर जाने लागेको छ र देशको जन शक्ति योजना फोस्रो भएको छ । भएको जनशक्ति विदेश पोखिएको छ । यहाँ बसेको जनशक्तिलाई थरी थरीको गृहकार्य दिएर नेतृत्वले सडकमा अलमल्याएको छ । जसले रोजगारी पाए ती धेरै राजनैतिक रोजगारीमा मात्रै छन् । देश उच्च ऋणमा छ, उच्च व्यापार घाटामा छ, बैंकहरूमा तरलताको वृद्धि भई निक्षेपको व्याज छैन र व्याज कर वृद्धि गरेको छ नेतृत्वले । 

उद्यमीहरू लगानी गरी उत्पादन गर्ने होइन, व्यापार गरी धनी हुने प्रयासमा छन्, विदेशी सहयोग ओइरो लागे पनि मरुभूमिको बालुवामा हालेको पानी समान भएको छ । गरिवी निवारण गर्न आएको लघुवित्त र सहकारीको केस सडक भरि छताछुल्ल भएको छ र सहकारीकै कारण भन्दै संसदले गृहकार्य पाएको छ र दिएको छानबिन प्रतिवेदनको समान व्यवहार भएन, कसैलाई नियन्त्रणमा लिइयो कसैलाई लिइएन, दसैँमा खसी बोका छाने जस्तो भयो भनेर सडक तातेको छ र यस्तै–यस्तै कारणको परकम्प बन्न पुगेको छ युएसएको कार्यक्रमको स्थगन । जुन अभियानले देशमा गरिबी न्यूनीकरण भनियो त्यही अभियानले गरिबी बढायो यो पछिल्लो पञ्च वर्षीय योजनाको आँकडाले बताएको हो, अरूले होइन । समग्रमा भन्नुपर्दा उदाउँदा नयाँ पुस्तालाई सत्ता सुम्पेर देश जोगाउनुमै सबैको कल्याण होला, सबै जुरुक्कै एकैपल्ट उठे भने समय ढिलो भइसक्ला ।

ADVADV

सम्बन्धित खबर

Advertise