–रसुवाली कवि
एकजना धार्मिक गुरूले सोधे, “नेपालमा कतिवटा कम्युनिष्ट पार्टी छन् ?” उनलाई मैले अलि कडै जवाफ दिन खोजेको थिए तर, सहज रूपमा उत्तर दिए सयभन्दा बढी । संघीयता विरोधी ती धार्मिक गुरूले “राष्ट्रिय जनमोर्चालाई पनि गन्नुभयो नि ?” भन्दै प्रतिप्रश्न गरे । उनको प्रतिप्रश्न प्रति उत्तर दिन मन लागेन ।
यस्तै एउटा रोचक प्रसङ्ग थियोे बागबजारको । बागबजार कसैले पाँच वटा मट्याङ्ग्रा फ्याँक्यो भने तीन वटा कम्युनिष्ट पार्टीको केन्द्रिय नेतालाई लाग्छ रे ! यो जोक्स हो । यो जोक्स कवि÷लेखकको सन्दर्भमा बनेको थियो । गजलकारको विषयमा बनिरहेको छ । मैले यहाँ जोड्न खोजेको कुरा अलि फरक छ । ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भन्दै गीत गाउँदै हिड्ने कम्युनिष्ट पार्टीहरूमा किन यति धेरै विचार समूह बने ? किन बामहरू एक ठाउँ हुन सकेनन् ? कसरी कम्युनिष्ट पार्टी नेताहरू चुनावको चास्नीमा जाकिन्छन् ? कसरी संगठन फस्छ आर्थिकवादीहरूको चुकुलमा ? प्रश्न गर्न सिकाउने माक्र्सका चेलाहरूलाई प्रश्न जरुर छ ।
यही सन्दर्भमा माक्र्सवादी कित्ताका प्रतिबद्ध लेखक÷समालोचक खेम थपलियाले कम्युनिष्ट पार्टीहरूका संगठनहरूमा बहु आयामलाई समेटेर एउटा पुस्तक लेखेका छन् । पुस्तकको शीर्षक हो– कम्युनिष्ट पार्टी संगठन अवधारणा, अभ्यास र आवश्यकता । कम्युनिष्ट पार्टीको संगठन पद्धतिलाई जोडेर नेपाली लेखकले लेखेको आकार पनि ठूलो यो एउटा महत्वपूर्ण पुस्तक हो । लेखक थपलियाले संगठन थुप्रै सैद्धान्तिक र दार्शनिक पक्षहरूलाई समेट्ने प्रयास गरेका छन् ।
एकताका नेपाली कम्युनिष्ट आन्दोलनमा चीनतिरको कि रूसतिरको भन्ने बहस थियो । यो बहसले यति अल्झायो कि कमरेडहरूमा पानी बाराबारको स्थिति सिर्जना भयो । तर, दुबै देशका अनुभवहरूबाट सिक्न सक्ने आधारहरू थिए र छन् । र, त थपलियाले भिआइ लेनिन र माओलाई बरोबर जोडेका छन् । जसरी लेनिनले व्यक्ति संगठनको अधिनस्थ हुन्छ भने माओले जनताको एउटा सियो र एक टुक्रा धागो समेत सित्तैमा नलेउ भने । यी दुबै सिद्धान्त र अनुभवहरूबाट सिक्नुपर्ने आवश्यकता छ ।
आफ्नो पुस्तकमा खेप थपलिया लेख्छन्, “स्कुलिङ विश्व दृष्टिकोणको समस्या समाधान गर्ने महत्वपूर्ण विधि हो । स्कुलिङले वैचारिक ट्याङ्क दिने हो, हिँड्ने स्वयम् व्यक्तिले हो । (पेज १००) नेपाली कम्युनिष्ट आन्दोलनमा स्कुलिङको निकै महत्वपूर्ण भूमिका छ । माओवादी आन्दोलनबाट आएका मान्छेहरूका बुझाई र मसाल पृष्ठभूमिबाट आएका व्यक्तिहरूको बुझाई केही फरक अवश्य हुन्छ । यसमा पार्टीको स्कुलको महत्वपूर्ण भूमिका रहेको छ ।
वास्तवमा कम्युनिष्टहरूको आधारभूत बुझाईमा भने समस्या रहनु हुँदैन । नत्र अन्धविश्वासले सामाजिक चेतनालाई अबरुद्ध बनाउँछ भनेर स्कुलिङ दिएर घर फर्केको कमरेड टाउको दुख्दा भूत लाग्यो भनेर झाँक्रीमा पुगे भने उनको विश्व दृष्टिकोणलाई के भन्ने ? प्रश्न गर्न सिकाउने माक्र्सका चेलाहरूलाई प्रश्न अवश्य हुन्छ ।
यसै सन्दर्भमा थपलिया हो चि मिन्हको उदाहरण दिँदै लेख्छन्, “होची मिन्हका अनुसार तीन किसिमका शत्रु हुन्छन् – पुँजीवाद र साम्राज्यवाद असाध्यै खतरानाक शत्रु हुन् । पिछडिएका बानी र परम्परा पनि ठूला शत्रु हुन् । तिनीहरूले क्रान्तिको प्रगतिमा कपटी ढंगले बाधा दिन्छन् । यद्यपि, हामीले तिनीहरूलाई दबाउन सक्दैनौं तर, होसियारी तथा लगनका साथ र लामो अवधिमा तिनीहरूलाई सच्याउन खोज्नुपर्छ ।” (पेज १०२)
होची मिन्हले व्यक्तिवादलाई पनि मुख्य शत्रुको रूपमा बुझेका छन् । भियतनामलाई मुक्त गर्ने सबै प्रिय कमरेड होची मिन्हको माथि भनाइले साँच्चै कम्युनिष्ट कार्यकर्ताको मन चसक्क पार्छ । हाम्रा उद्देश्यहरू के हुन् र ती उद्देश्यहरूलाई गति दिन कस्तो संगठन चाहिन्छ ? कस्तो पार्टी चाहिन्छ हामीले होची मिन्हबाट सिक्न सक्छौं । अरू थुप्रै आदर्श आन्दोलनहरूबाट सिक्न सक्छौं । लेखकले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको उदाहरण भरपूर दिएका छन् संगठनको सन्दर्भमा । जसको कारण पुस्तक पठनीय हुन पुगेको छ ।
माओले “जनता नमार, उनीहरूलाई गाली नगर”, भनेका थिए । यो भनाई भित्र कति ठूलो रहस्य लुकेको छ । तपाईं हामीले सहजै बुझ्न सक्छौ ।
मार्क्सवादको औचित्य सकियो भनेर जसरी हौवा पिटिया , उसैगरी कम्युनिष्ट पार्टीहरूले सचेततापूर्वक लाग्ने प्रसार गरे । नेपालको माओवादी आन्दोलनले त्यस्तै एउटा गम्भीर धक्कामय ऐतिहासिक आन्दोलन थियो । माओवादीभित्रको संगठन पद्धतिलाई पनि लेखकले थोरबहुत लेखेका छन् ।
लेखकले ठाउँ–ठाउँमा माक्र्सलाई पनि जोडेका छन् । माक्र्सको भनाइ छ, “मजदुर वर्गको मुक्ति स्वयम् मजदुरवर्गद्वारा गरिनु पर्छ ।” विश्वभरका मजदुरका लागि उज्यालो दिने कमरेड माक्र्सले आम उत्पीडित जनले अग्रदस्तामा रहेर विद्रोहको नेतृत्व गर्नुपर्छ भनेका हुन् । यसैले हामी सर्वहारा वर्गको अधिनायकवादको कुरा गर्छौ । मजदुर वर्गको हित हुने पार्टीको कुरा गर्छौं । हामी तमाम उत्पीडितहरूको पार्टी बनाउने कुरा गर्छौं । श्रमजीवी जनताको पार्टी कस्तो हुनुपर्छ, उसको संगठन पद्धति कस्तो हुनुपर्छ ? पुस्तकले विविध आयामलाई समेट्ने जमर्को गरेको छ ।
कम्युनिष्ट आन्दोलनमा रुचि हुनेहरूका लागि मात्र होइन संगठनको महत्व बुझ्ने जो कोहीलाई यो पुस्तक महत्वपूर्ण हुनसक्छ । जग्गा बजारको कमिसन खोजिरहेका र सेयर बजारमा भविष्य खोजिरहेका मानिसहरूले भने योभन्दा अलि फरक खाले किताब पढ्नुपर्ने हुन्छ । झन् चुनाव उपयोग गरिरहेका पार्टीहरूले यस पुस्तकबाट कुनै मसाला फेला पार्छन् जस्तो लाग्दैन । यो पुस्तक पप संगीतका पारखीहरूलाई काम नलाग्न सक्छ । जो मालेमावादी विश्दृष्टिकोण मान्छन्, जसले क्रान्तिलाई रुचाउँछन्, उनीहरूलाई यो पुस्तकका महत्वपूर्ण सामग्री बनेको छ ।
पुस्तक – कम्युनिष्ट पार्टी संगठन, अवधारणा, अभ्यास र आवश्यकता
लेखक – खेम थपलिया
बिधा – सैद्धान्तिक लेख
प्रकाशक – स्वाभिमान प्रकाशन गृह प्रालि