२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

उपचारको पैसा बुझाउन नसक्दा अस्पतालमै बन्धक !

ADV
पिन्टु यादव
२०८१ असोज २१ गते १४:३७
उपचारको पैसा बुझाउन नसक्दा अस्पतालमै बन्धक !

सप्तरी : विराटनगरस्थित विराट नर्सिङहोम प्रा.लि.मा उपचाररत ४ वर्षीया बालिकाको अभिभावकले पैसा बुझाउन नसक्दा अस्पतालले बन्धक बनाएको पाइएको छ । बालिकाको उपचारबापत अस्पताललाई दुई लाख बढी रुपैयाँ बुझाउन बाँकी रहेको उनका आफन्तले जानकारी दिएका छन् ।

सप्तरीको अग्नि साइर कृष्णा संवरण गाउँपालिका-२ जन्डौल बस्ने रामचन्द्र सदाको छोरी पुस्तिका कुमारी सदा विगत २५ दिनदेखि उक्त अस्पतालमा बन्धक रहेको आफन्त कुन्ती सदाले जानकारी दिइन् । श्वासप्रश्वासको समस्या लिएर भर्ना भएकी पुस्तिका कुमारी सदाको अभिभावकले पैसा बुझाउन नसक्दा अस्पतालले बन्धक बनाएको अस्पताल नजिकै सञ्चालनमा रहेको मार्क मेडिकोका सञ्चालक सिरहाको लहान नगरपालिका-२२ बस्ने जियल चौधरीले बताए ।

विराटनगर महानगरपालिका-२ स्थित रहेको उक्त अस्पतालमा गत भदौ २२ गते भर्ना भएकी बालिका एक हप्तामै निको भएको महादेवा गाउँपालिका-४ बस्ने आफन्त सदाले बताइन् । उनका अनुसार निको भएता पनि पैसा बुझाउन नसक्दा अस्पतालले घर जान दिएनन् ।

मार्क मेडिकोका सञ्चालक चौधरीले औषधि बापतको ९५ हजार रुपैयाँसमेत गरी करिब ३ लाख बढी रुपैयाँ ती बालिकाको अभिभावकले तिर्न बाँकी रहेको बताए । उनले बालिकासँगै आमा रन्जु सदा र मावली हजुरआमाले अहिलेसम्म उक्त अस्पतालमा बालिका कुर्दै आएको बताए ।

यस सम्बन्धमा माध्यान्हकर्मीले बालिकाको आमासँग फार्मेसी सञ्चालकको फोनमार्फत बुझ्न खोज्दा उनका भाइले आफूहरुलाई बिरामी र कुरुवासँग अस्पतालले भेट्न नदिएको बताए । अस्पतालको रकम बुझाउन नसकेपछि उनीहरु बन्धकमा परेको उनले बताए ।

अस्पताल  प्रशासन शाखाका अधिकृत साजन पासवानले ती बालिकाको अभिभावकले उपचार बापतको रकम बुझाउन नसक्दा अस्पतालले घर जान नदिएको स्वीकार्छन् । उनका अनुसार बालिका अहिलेसम्म अस्पतालमै छिन् भने अभिभावकले पैसा बुझाउन सकेका छैनन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise