२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ADV
मध्यान्ह
२०८१ असोज २२ गते १३:४१
साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मंगलबार एन्फाले ललितपुरमा पत्रकार सम्मेलन गर्दै कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । 

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । बन्द प्रशिक्षणमा २७ खेलाडी छन् ।

च्याम्पियनसिपमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेल कात्तिक २ गते भुटानसँग खेल्नेछ । दोस्रो खेल ६ गते माल्दिभ्स र समूहको तेस्रो खेल कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता शाहले बताए । प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख ८०० रुपैयाँ रहेको एन्फाको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise