२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

संकटका बीच उत्सव

ADV
२०८१ असोज २४ गते ०६:२५
संकटका बीच उत्सव

संभव हुने जति दशैं मनाउन घर फर्कने क्रम चलिहरेको छ । टीका दुई दिन मात्र बाँकी रहेकाले धेरैजसो घर पुगिसकेका छन् । दुरी नजिकै भएकाहरु फर्कदैछन् । कतिपय त टीकाकै दिन बिहान समेत कतिपय घर फर्कन्छन् । तर धेरैजसो घर पुगिसकेका छन् । स्वदेशकै शहरहरुमा विभिन्न कामको प्रयोजनमा रहेकाहरु गाउँ फर्किएका छन् । विदेशमै रहेकाहरु पनि दशैं मनाउनेगरी कतिपय फर्किएका छन् । घर फर्कन नसक्नेहरुले भर्चुअल सम्वादमार्फत् शुभकामना आदानप्रदान गर्नेछन् । बदलिएको परिस्थिति अनुसार कतिपय चाहिँ दशैं मनाउन विदेश गएका छन् । परिवारका धेरै सदस्य विदेशमा छन् भने नेपालमा रहेकाहरु पनि उतै गएर दशैं मनाउँछन्, यो क्रम अलिक पुरानो भइसकेको छ । तर धेरैजसो भने विदेशमा रहेकाहरु स्वदेश फर्कन्छन् । विदेशबाट दशैं मनाउन फर्कने प्रवृत्ति पछिल्लो परिचायक नै बनेको छ । किनकि विदेश जाने अहिले लहर नै चलेको छ । 

राजनीतिक दलका नेता–कार्यकर्ता पनि दशैं मनाउन गाउँ फर्किएका छन् । सामान्यतयाः मान्छे जहाँ हुन्छन्, नेताहरु त्यहाँ पुग्नु राजनीतिक नियम नै हो । त्यसैले नेताहरु अनेक कार्यक्रम लिएर दशैंमा गाउँ पुग्नेछन् । अघिल्ला वर्षहरुको प्रवृत्ति हेर्ने हो भने नेताहरुले शुभकामना आदानप्रदान कार्यक्रम राख्नेछन् । चियापान गर्नेछन्, र एकअर्काबीच शुभकामना आदानप्रदान गर्नेछन् । दशै तिहार जस्ता चाडबाँड मनाउन युवाहरु गाउँ फर्कने भएकाले अनेक प्रतियोगिता यही बेला चल्नेछ । एकप्रकारले गाउँ गुल्जार हुनेछ भने शहर तुलनात्मक शान्त हुनेछ । हुन त यी चाडहरु हिन्दू धर्मालम्बीहरुले मनाउने हुन् । तर नेपालमा दशैं, तिहार, छठ सहित सबैजसो चाडहरु राष्ट्रिय बनिसक्यो । त्यसैले देशको सीमानाले कुनैपनि चाडलाई छेक्न सक्दैन । अमेरिका, अष्ट्रेलिया, जापान, खाडी मुलुक, यूरोप जतासुकै पुगेका नेपालीहरुले दशैं, तिहार सहितका चाडहरु मनाउने गर्छन् । 

चाडहरुको ऐतिहासिकता जेसुकै भएपनि अहिले सद्भावको प्रतीकका रुपमा विकास भएको छ । दशैं, तिहार, नेपाल सम्वत, छठ, इद, क्रिसमस लगायत सबै चाडले राष्ट्रियताको काम गरिरहेको छ । एक धर्मले अर्का धर्मलाई शुभकामना दिने र सँगै उत्सव मनाउने गरिदै आएको छ । अरु कतिपय सन्दर्भमा विभाजनको दृष्टिकोण निर्माण हुने गरेपनि चाडहरुमा एकताबद्ध हुने संस्कृति कायम छ । त्यस्तो संस्कृतिकै कारण सामाजिक सद्भाव कायम रहँदै आएको पाइन्छ । अझ कतिपय प्रकोप र संकटका बेला पनि एकताबद्ध बन्न यस्ता साझा संस्कृतिले काम गरेको छ । अहिलेकै सन्दर्भलाई हेर्दा पनि बाढी पहिरोका कारण मुलुक संकटमा छ । यद्यपि संकटकै बीच एकताबद्ध भएर अगाडि बढ्ने प्रयत्न भइरहेको छ । यो दशैंले अप्ठ्यारोमा परेकाहरुलाई उद्धार गर्न एकताबद्ध पहलकदमी गर्ने प्रेरणा मिलोस् । दशैंको शुभकामना ! 

ADVADV

सम्बन्धित खबर

Advertise