काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले फेरि विवादमा तानिएका छन् । आफ्नै यूट्यूब च्यानलमा रास्वाकै सांसद एवं पूर्वमन्त्री सुमना श्रेष्ठसँग वाग्लेले राष्ट्रगानबारे गलत तथ्यका आधारमा बोलेका छन् ।
‘हाम्रो ब्याकुल हो कि के राष्ट्र कवि भनेपछि आईएम भेरी क्युरियस, जनजाति पृष्ठभूमिको कविले नेपालको राष्ट्रिय गीत गाएर, हाम्रो गोपाल हुनुहुन्थ्यो नि, योञ्जन । गोपाल योञ्जनले म्युजिक भर्नु भएको भनेर न्यूज पढेपछि’ उनले भनेका छन् ।
यसपछि उनले आफूले राजाका छोराहरुसँगै पढेको देखि क्याम्ब्रिजसम्मको गफ लगाएका छन्, राष्ट्रगानबारे गलत तथ्य प्रस्तुत गर्दै ।
वाग्लेले राष्ट्रगान जस्तो आममानिसलाई थाहा हुने तथ्यबारे गलत बोलिरहँदा शिक्षा मन्त्री भइसकेकी सुमनाले समेत सच्याएकी छैनन् । त्यसैले रास्वपाका नेताहरुको बौद्धिकता भनेर खुबी टिप्पणी भइरहेको छ । जबकी राष्ट्रगानका लेखक हुन्, ब्याकुल माइला ।
गोप्य प्रतिस्पर्धाबाट छानिएको गीतलाई स्वर्णिमले जनजाति पृष्ठभूमि जस्तो नचाहिदो तर्क गरेका छन् । किनकि ब्याकुल माइला जनजाति हुनुसँग यो राष्ट्रगानको कुनै साइनो छैन । यदि त्यो गीत लेख्ने अरु कोही भएपनि छनोट हुने त्यही थियो ।
संगीतकारबारे त स्वर्णिमले जग हँसाए । किनकि अम्बर गुरुङ जस्ता दिग्गज व्यक्तिले भरेको संगीतलाई उनले गोपाल योञ्जन भनिदिए । जबकी गोपाल योञ्जनको निधन २०५४ सालमै भएको हो भने राष्ट्रगान २०६३ सालको राजनीतिक परिवर्तन पछि फेरिएको हो ।
राष्ट्रगान गाउनेमा २० जना कलाकारहरु सहभागी छन् । यसरी आनका तान केही नमिल्ने तथ्य कुराकानीमा बोलेका थिए । यसपछि चर्को आलोचना खेपिरहेका स्वर्णिम वाग्लेले गलत बोलेकोमा माफी मागेनन् । बरु उक्त सम्वाद युट्यूबबाटै हटाउने काम गरे ।
स्वर्णिम भर्खरै यस्तै अभिव्यक्तिकै कारण विवादमा परेका थिए । उनले मनरो डक्ट्रिनको कुरा गर्दै मुलुकको सार्वभौमकता बिपरीत बोलेपछि चर्को आलोचना खेपेका थिए ।
प्रतिनिधि सभा बैठकमा अरु दलका सांसदहरुले वाग्लेको अभिव्यक्तिलाई लिएर चर्को आलोचना जनाएका थिए । विशेषगरी नेकपा एमालेका सांसदहरुले वाग्लेले माफी माग्नुपर्ने तर्क गरेका थिए । तर परराष्ट्र सम्बन्धमा भारत पक्षीय हुनुपर्ने वाग्लेको अभिव्यक्तिबारे रास्वपाकै नेताहरु बचाउमा उत्रेका थिए ।